प्रयोगात्मक कक्षाले आम्दानी

विद्यालयमै मैनबत्ती उत्पादनबाट भएको मुनाफाले निजी स्रोतका शिक्षकलाई पारिश्रमिक दिन सहज
तृप्ति शाही

(बैतडी) — पाटन नगरपालिकामा रहेको सिद्धेश्वर माध्यमिक विद्यालयका विद्यार्थीहरू मैनबत्ती उत्पादन गर्न थालेका छन् । ६ देखि ८ सम्म पढाइ हुने पेसा व्यवसाय र प्रविधि शिक्षा पाठ्यक्रमअन्तर्गत प्रयोगात्मक कक्षामा उनीहरूले मैनबत्ती उत्पादन गरेका हुन् ।

प्रयोगात्मक कक्षा भएको बेलामा शिक्षकहरूले विद्यार्थीहरूलाई मैनबत्ती बनाउन सिकाउँछन् । हालसम्म १८ हजार प्याकेट मैनबत्ती उत्पादन गरिएको विद्यालय व्यवस्थापन समिति अध्यक्ष प्रेम भाटले बताए । ‘विद्यालयमै उत्पादित मैनबत्ती बिक्री गरेर हालसम्म ७० हजार आम्दानी भएको छ,’ भाटले भने, ‘त्योमध्ये २० हजार नाफा भएको छ ।’

६५ हजारमा मैनबत्ती बनाउने उपकरण खरिद गरिएको भाट बताउँछन् । गत वर्ष पनि विद्यालयले ५२ हजार बराबरका मैनबत्ती उत्पादन गरि विक्री गरेको थियो । विद्यार्थीहरूलाई उत्पादन तथा सिर्जनशील बनाउन प्रेरित गर्ने उद्देश्यले प्रयोगात्मक कक्षामा शिक्षकहरूले मैनबत्ती बनाउन सिकाउने गरेको उनले बताए । ‘विद्यालयले आवश्यक कच्चा पदार्थ जुटाएर प्रयोगात्मक कक्षामा विद्यार्थीहरू मैनबत्ती बनाउँछन्’ उनले भने । हालसम्म १ हजार बढी प्याकेट बिक्री गरिसकेको विद्यालयले जनाएको छ । एउटा प्याकेट १५ देखि ७० रुपैंयासम्ममा बिक्री गर्ने गरिएको विद्यालयले जनाएको छ । खोड्पे, पाटन, गाजरीलगायतका स्थानीय बजारमा मैनबत्तीहरू खपत हुने गरेको छ । यसबाट विद्यालयको आम्दानीको स्रोत पनि बढेको ब्यवस्थापन समितिले जनाएको छ ।

आम्दानी रकमबाट अतिरिक्त क्रियाकलापमा खर्च गर्ने गरिएको समितिले जनाएको छ । ‘बचेको रकमबाट निजी स्रोतमा रहेका शिक्षकहरूलाई पारिश्रमिक दिन पनि प्रयोग गर्ने गरेका छौं’ प्रधानाध्यापक गणेशदत्त अवस्थीले भने, ‘विद्यार्थीहरूमा सीप पनि विकास हुने र विद्यालयलाई आम्दानी पनि हुने भएकाले दोहोरो फाइदा भएको छ ।’ विद्यार्थीहरू पनि खुसी छन् । उनीहरू प्रयोगात्मक कक्षामा कुरा सुन्नेभन्दा पनि सीप विकास गर्न पाएकोमा खुसी लागेको बताउँछन् । ‘अहिले प्रयोगात्मक कक्षामा सिकेको सीपले पछि उद्योग नै खोलेर काम गर्न पनि सकिन्छ’ कक्षा ६ मा अध्ययनरत वर्षा भाटले भनिन्, ‘हामीले विद्यालयमा मैनबत्ती बनाउन सिक्यौ । भोलिको दिनमा विद्यालय छोडेर गए पनि सीपसँगै रहने भएकाले फाइदा हुनेछ ।’ आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरूले अहिले नै उप्पादन गर्न थालेर किताब, कापीहरूको जोहो गर्ने योजना रहेको सुनाए । विद्यालयले राम्रो क्रियाकलाप सञ्चालन गरेको शिक्षा विकास तथा समन्यव एकाइ प्रमुख नरेन्द्र प्रसाद अवस्थी बताउँछन् । अन्य विद्यालयले पनि यस्ता कार्यको सिको गर्न जरुरी रहेको उनको भनाई छ ।

सिद्धेश्वर जिल्लाकै नमूना विद्यालय हो । अभिभावककै लगानीमा शैक्षीक सामाग्री, बाल उद्यानसमेत विद्यालयमा स्थापना गरिएको छ । २०१८ सालमा स्थापना भएको विद्यालयमा ३ सय ५ जना विद्यार्थीहरू अध्ययनरत रहेका छन् ।



प्रकाशित : कार्तिक १९, २०७६ १०:१९
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

तराईका रोग पहाड उक्लिए

कान्तिपुर संवाददाता

डडेलधुरा — औलोको डरले कुनै समय तराईमा भएको घर जग्गा पनि अरुको जिम्मा लगाएर पहाड उक्लिएका भागेश्वर ५ का कण्ठराज भट्ट औलो ज्वरोकै कारण दुई साता थलिए । 

३५ वर्ष अघि कञ्चनपुरको देखतभूलीमा औलोले एक छोराको ज्यान लिएपछि उनी घर–जग्गा अरुको जिम्मा लगाएर पहाड उक्लिएका हुन् । ‘तराइमा छोराको ज्यान लिने रोगले झन्डै मलाई पनि लगेको हो,’ उनले भने, ‘लेकाली भेकमा पनि औलो लाग्यो भन्दा पत्याउन पनि गाह्रो हुने भयो ।’ भट्टका अनुसार उनलाई मात्र औलो संक्रमण भएको होइन । ‘अस्पताल पुगेपछि आफूजस्तै औलोले थला परेका धेरै देखेपछि मात्र पहाडमा पनि औलो आएछ भन्ने बिश्वास भयो,’ उनले भने ।

बैतडी सीमाको बेलापुरवाट स्क्रब टाइफसको उपचार गर्न डडेलधुरा अस्पताल आइपुगेका जयबहादुर ऐरले रोगको नाम पनि भन्न जानेनन् । ‘स्थानीय स्वास्थ्यकर्मीले कहिले नामै नसुनिएको रोग लागेकोले डडेलधुरा अस्पताल जानू भनेपछि उपचारका लागि आएको हुँ,’ उनले भने, ‘पहिलोपटक हाम्रो गाउँमा यस्तो रोग देखा परेको हो ।’ दुई जनालाई गत वर्ष औलो लागेको उनले सुनाए । औलोको नाम सुने पनि यस पटक देखिएको रोगका विषयमा कसैलाई जानकारी नभएको ऐरको भनाइ छ ।

सामान्य ज्वरो आएको ठानेर धेरै दिनसम्म पनि स्वास्थ्य संस्था नपुग्दा भागेश्वर ४ कि एक महिलाले गत महिना ज्यान गुमाइन् । अचेत भएछि अस्पताल लैजादै गर्दा वाटैमा उनको ज्यान गएको हो । पछि चिकित्सकहरूले स्क्रब टाइफसका कारण उनको मृत्यु भएको बताए । महिलाले ज्वरो आएपछि गाउँघरमा गरिने घरेलु उपचार गरिरहिन् । तर आफु बिरामी भएको कसैलाइ वताइनन् । उनका आफन्तले पनि उनी एक्कासी अचेत भएपछि मात्र बिरामी भएको जानकारी पाए । डडेलधुरा अस्पतालवाट धनगढी रिफर गरेपछि मात्र उनलाइ स्क्रव टाइफस भएको जानकारी भयो ।

औलो र स्क्रब टाइफस मात्र होइन सुदूरका पहाडी क्षेत्रका सरकारी तथा निजी स्वास्थ्य संस्थाको तथ्यांक हेर्ने हो भने तराइमा लाग्ने रैथाने रोगले ग्रसित भएका भट्ट र ऐर जस्ता धेरै बिरामी भेटिने गरेका छन् । धेरैले त सामान्य ज्वरो सम्झेर ज्यान गुमाएका घटना पनि धेरै छन । १५ वर्ष यता बिभिन्न कारणले गर्दा तराइमा हुने रैथाने रोग लागेर मृत्यु हुने र रोग लाग्नेको निकै ठूलो संख्या देखिएको छ । सुदूरपश्चिमका पहाडी जिल्लामा लामखुट्टे र भुसुनाबाट सर्ने रोगहरू दैनिकजसो देखिन थालेका छन् । कालाज्वर, डेंगु स्क्रब टाइफस र औलो लगायतका रोगका बिरामीको संख्या हरेक दिन बढिरहेका छन् । गत २ महिनामा डडेलधुरामा मात्र २ सय बढी स्क्रब टाइफसका बिरामीले स्वास्थ्य संस्थामा उपचार गराएका छन । छिमेकी जिल्ला बैतडी, डोटी र दार्चुलामा पनि यस रोगका बिरामीको निकै ठूलो संख्या देखिएको छ ।

‘तराईका रैथाने रोग भनेर चिनेने कालाज्वर पछिल्ला वर्ष डडेल्धुरा, डोटी र बझाङमा पनि देखिन थालेको छ,’ स्वास्थ्यकर्मी संघका प्रदेश संयोजक प्रेमबहादुर महरले भने, ‘औलो पनि पहाडी जिल्लामा पटक–पटक समस्याका रुपमा देखापरेको छ । लामखुट्टेबाट सर्ने प्रायः सबैजसो रोग पहाडी जिल्लामा देखिन थालेपनि रोकथामको तयारी भने केही पनि हुन नसकेको संयोजक महरले वताए । जलवायु परिवर्तनका कारण लामखुट्टे बाँच्न सक्ने तापक्रम पहाडी जिल्लामा बृद्धि हुन थालेपछि त्यसबाट उत्पन्न हुने रोगहरू वृद्धि हुन थालेको स्वास्थ्यकर्मीहरू बताउँछन ।

लामखुट्टेका कारण सर्ने डेंगु रोगका कारण उपचार गराउनेको पछिल्लो तथ्यांक हेर्ने हो भने पनि पहाडी जिल्लामा तराइका रैथाने रोगको संक्रमण हरेक वर्ष वढ्दै जान थालेको छ । डुेंगुको पछिल्लो तथ्यांकअनुसार, दार्चुलामा ११, डडेल्धुरा १३, डोटी, अछाम, बैतडी र बझाङमा १/१ जना गरी २६ जनामा डेंगु संक्रमण देखिएको छ । यो सरकारी तथ्यांक मात्र हो । निजी स्वास्थ्य संस्था र तराईका अस्पतालमा उपचार गराउन जानेको संख्या योभन्दा तेब्बर बढी छ ।

पहाडी क्षेत्रमा देखापर्न थालेका यस्ता खाले रोग नियन्त्रण गर्न र जनचेतना वृद्धि गर्ने सरकारी प्रयास भने भएको देखिदैन । ‘सभा समारोह र गोष्ठीमा खर्च गर्नुभन्दा प्रभावकारी नियन्त्रणका प्रयासमा बजेट खर्च हुनु आवश्यक देखिएको छ,’ डडेलधुरा अस्पतालका प्रमुख डा. जितेन्द्र कँडेलले भने, ‘जलवायु परिवर्तनका कारण पहाडी जिल्लाको तामक्रममा निकै वृद्धि भइरहेकाले गम्भीर रोग लाग्न नदिने प्रयास सुरु गरिनु आवश्यक छ ।’ उनका अनुसार भइरहेका सरकारी प्रयास मात्र पर्याप्त हुन सकेनन् । ‘हरेक वर्ष यस्ता खाले रोगका बिरामीको संख्या वढ्दै जानुले समस्या गम्भीर बन्दै गएको देखिएको छ,’ उनले भने ।

प्रकाशित : कार्तिक १९, २०७६ १०:१८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT