कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विमानस्थल पुनः सञ्चालन गर्न अध्ययन टोली

कान्तिपुर संवाददाता

(कञ्चनपुर) — दुई दशकदेखि बन्द रहेको मझगाउँ विमानस्थल पुनः सञ्चालनका लागि सम्भाव्यता अध्ययन गर्न प्राविधिक टोली महेन्द्रनगर पुगेको छ  । टोलीले बिहिबारदेखि सम्भाव्यता अध्ययनको काम सुरु गरेको हो  ।

विमानस्थल पुनः सञ्चालन गर्न अध्ययन टोली

पाँच सदस्यीय प्राविधिक टोलीले विमानस्थलको अहिले उपलब्ध भएको जमिनको सर्भे देखि भविश्यमा क्षेत्रफल बढाउनुपर्दा उपलब्ध हुन सक्ने जमिनको पनि नक्सांकन र तथ्यांक संकलनको काम गर्नेछ । ‘हामी सुरुमा ट्रोपोग्राफी सर्भे गर्नेछौं, यसले विमानस्थलको वर्तमान अवस्था थाहा हुनेछ’ सम्भाव्यता अध्ययनका लागि आएको रियल पाथ इन्जिनियरिंग कन्सल्टेन्सीका टीम लिडर ईन्जिनियर गुरु दत्त अधिकारीले भने, ‘त्यसपछि बाहिरको जग्गाको पनि सर्भे तथा नक्सांकन गरिनेछ ।’ टोलीको अन्य सदस्यमा इन्जियनियर स्मरण भट्ट, सन्देश पौडेल, अभिशेक बर्मा र सब इन्जिनियर सविन पोखरले रहेका छन् ।

विमानस्थल विस्तारका लागि आवश्यक पर्ने जग्गाको पहिचान गर्ने उद्देश्यले बाहिरी क्षेत्रको पनि सर्भे गरिन लागेको हो । अहिले मझगाउँ विमान स्थलको जमिन करिब ६५ विघा छ । जसको लम्बाई १५ सय र चौडाई ३ सय मिटरका हाराहारीमा छ । ७०/७२ सिटे विमान सञ्चालनका लागि १८ सय मिटर धावन मार्ग आवश्यक पर्ने अधिकारीले बताए । दुवै तर्फ सुरक्षाका लागि थप ३/३ सय मिटर जमिन जोडदा २४ सय मिटर आवश्यक पर्ने उनले जानकारी थिए । १५ सयम मिटर धावनमार्ग निर्माणका लागि पनि २१ सय मिटर लम्बाई आवश्यक पर्ने उनल बताए । चौडाई भने अहिले भएको जमिनले पुग्ने उनले जानकारी दिए ।

‘१८ सय मिटरको धावन मार्ग निर्माणका लागि ८० देखि १ सय विघा सम्म थप जमिन आवश्यक पर्छ’ बुधबार टोलीलाई स्वागतका लागि आयोजित कार्यक्रममा ईन्जिनियर अधिकारीले यस क्षेत्रका जनप्रतिनिधिसमक्ष जानकारी गराए, ‘उत्तरतर्फ वस्ती छ, दक्षिण तर्फ निकुञ्ज कतातिरबाट सहज र सरल रुपमा जग्गा प्राप्त हुन सक्छ यसका लागि सोच्नुपर्छ ।’ उनका अनुसार उत्तरतिर रहेको वस्तीको जमिन अधिग्रहण गरेर मात्रै नपुग्ने र त्यसपछि पनि दक्षिणतिर रहेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको ४०/४५ विघा अधिग्रहण गर्नै पर्ने बताए । उनले जग्गा प्राप्तीका लागि जनप्रतिनिधि र स्थानीयसँंग आवश्यक पहल गर्न समेत आग्रह गरे ।

अहिले भएको जमिनमा १५ सय मिटरका धावनमार्ग समेत निर्माण गर्न नसकिने उनले बताए । १५ सय मिटरको धावनमार्गमा ठुला जहाजहरू सञ्चालन हुन सक्दैनन् । ठुला जहाज नचलेपछि भाडा बढी हुन्छ । महंगो भाडा भएपछि यात्रु कम भएर विमानस्थल सञ्चालनमा समेत समस्या आउने भएकाले क्षेत्रिय स्तरको विमान स्थल निर्माणका लागि पनि १८ सय मिटरको धावनमार्ग आवश्यक भएको टीम लिडर अधिकारी बताउछन् ।

भारत नजिकै भएकाले मझगाउँ विमानस्थल राम्रो क्षेत्रिय स्तरको बनाएर सञ्चालन गर्न सकिने अधिकारीले बताए । सुदूरपश्चिमका पहाडी जिल्लातर्फ मात्रै जहाज चलाउने गरि विमानस्थल बनाउनुको कुनै औचित्य नभएको उनले बताए ।

प्राविधिक टोलीले अहिले उपलब्ध भएको जमिनमा भौतिक पूर्वाधार तथा घेरबार लगाउनका लागि डिपिआर समेत निर्माण गर्नेछ । ‘फिल्ड सर्भेको काम चार/पाँच दिनमा सकिन्छ, त्यसपछि डिपिआर निर्माण गरिनेछ’ अधिकारीले भने, ‘त्यसपछि भौतिक पूर्वाधार धावनमार्ग लगायतको निर्माणका लागि डिपिआर बनाइनेछ ।’ नागरिक उड्यन प्राधिकरणलाई तीन महिनाभित्र अध्ययन र डिपिआरको रिपोर्ट बुझाइने उनले बताए ।

बुधबार साँझ महेन्द्रनगर पुगेको टोलीलाई प्रतिनिधिसभाका सदस्य डा. दीपक प्रकाश भट्ट, सुदूरपश्चिम प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण राज्य मन्त्री प्रकाश रावल, प्रदेश सभा सदस्य मान बहादुर सुनार र भीमदत्त नगरपालिकाका प्रमुख सुरेन्द्र विष्टले स्वागत गरेका थिए । उनीहरूले विमानस्थल पुनः सञ्चालनका लागि प्रक्रिया सुरु भएकोमा खुशी व्यक्त गरे । स्थानीय तह, प्रदेश र संघबाट वजेट विनियोजनका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता समेत जनाए ।

भीमदत्त नगरपालिका र महाकाली नगरपालिकाले विमानस्थल पुनः सञ्चालनका लागि केही वजेट पनि छुट्याएका छन् । भीमदत्तले २० लाख र महाकालीले १० लाख छुट्याएका छन् । प्रदेश सरकारबाट पनि अवाश्यक वजेट विनियोजनका लागि पहल भईरहेको राज्यमन्त्री रावलले बताए । प्रदेश र प्रतिनिधिसभाको संसदकोषबाट पनि आवश्यक वजेट विनियोजन गरिने उनीहरूले प्रतिबद्धता जनाए । जनप्रतिनिधिहरूले पनि क्षेत्रिय स्तरकै विमानस्थल निर्माणका जोड दिए ।

प्रकाशित : कार्तिक १, २०७६ ११:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?