कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

लिंगामा पर्यटकको घुइँचो

भवानी भट्ट

कञ्चनपुर — महाकाली नदीमा निर्मित झोलुंगे पुल हेर्न आएका झापाका नारायण प्रसाईं कञ्चनपुरको वेदकोट नगरपालिकाको चुरे फेदीमा रहेको लिंगा क्षेत्रमा पुगेपछि निकै खुसी भए  । लिंगा क्षेत्रका बारेमा त्यति धेरै नसुनेका उनले यहाँ पुगेपछि मात्रै यसको सौन्दर्य र आकर्षण थाहा पाए  ।

स–सानादेखि ठुला माटोका थुम्का । जंगलमा धमिराले बनाउने माटोको घर जस्तै एकनाशका थुम्का देख्दा कलाकारले निकै मिहिनेत गरी बनाएको जस्तै लाग्छ । चुरे फेदमै पहाड खिइएर बनेका यि थुम्का हेर्न यतिबेला पर्यटकको घुईचो लागेको छ । ‘यति राम्रो ठाउँ रहेछ, हामीले यहाँ पुगेपछि मात्रै थाहा पायौं,’ आईतबार लिंगा क्षेत्रको अवलोकनका क्रममा प्रसाईंले भने, ‘यसको प्रचार हुन सके आन्तरिक पर्यटक अझै बढ्छन् ।’ उनी परिवारसहित ७ जना घुम्न आएका हुन् । झोलुंगे पुल घुमेपछि फर्किने बेला उनको टोली लिंगा पुगेको हो ।

हालका वर्षमा दसैं बिदापछि घुमघामको चलन बढेको छ । विद्यालय तथा सरकारी कार्यालयमा बिदा हुनुका साथै उपयुक्त मौसमका कारण यहीबेला घुमफिर गर्नेको संख्या बढी हुन्छ । यो अवधिमा युवा युवतीदेखि वृद्ध–वृद्धा पनि घुमघामका लागि आउने गर्छन् । लिंगेश्वर क्षेत्र भनी नामकरण गरिएकाले पूजाका लागि पनि थुप्रै पर्यटक यहांँ पुग्छन् ।

‘घुमफिरसँगै पूजा गर्न यहांँ आएका हौं,’ कैलाली धनगढीका कमलकुमार बस्नेतले भने, ‘यो ठाउँ धार्मिक र पर्यटनका लागि निकै आकर्षक छ ।’ पूर्व–पश्चिम राजमार्गअन्तर्गत वेदकोट नगरपालिकाको दैजी बजारदेखि ६ किमि उत्तर चुरे फेदीमा लिंगा क्षेत्र पर्छ । जसमध्ये आधाबाटो कालोपत्रे गरिएको छ । चुरे र भावरको वन क्षेत्रमा रहेकाले यो ठाउँ एकान्तसँगै रमणीय पनि छ । उपराष्ट्रपति नन्दबहादुर पुनले पनि गत वर्ष लिंगा क्षेत्रको भ्रमण गरेका थिए । दसैंलगत्तै सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित पनि यहाँ पुगेका थिए । त्यसयता उक्त ठाउँ घुम्ने पर्यटकको संख्या बढेको हो ।

बिदाका दिन वनभोजका लागि कैलाली र कञ्चनपुरको विभिन्न ठाउँबाट ठुलो संख्यामा विद्यार्थी पनि पुग्ने गर्छन् । अहिले लिंगामा दैनिक ५ सयको हाराहारीमा पर्यटक पुग्ने गरेका छन् । दसैंपछि सिजन सुरु हुने भएकाले हिउँदमा एकै दिन दुई/अढाइ हजार पर्यटक आउने गरेको स्थानीय बताउँछन् । चुरे फेदीमै रहेको वेदकोट ताल जाने बाटोमै लिंगा क्षेत्र पर्छ ।

वेदकोट नगरपालिकाले २०१९ लाई भ्रमण वर्षका रुपमा मनाउदै पूर्वाधार निर्माणमा विशेष जोड दिएको छ । लिंगा क्षेत्रमा पनि प्रवेशद्वार निर्माण देखि मन्दिर तथा विश्राम स्थल निर्माण गरिएको छ । लिंगा क्षेत्रको छेउमै रहेको खोलामा झोलुंगे पुल निर्माणको प्रक्रियासमेत अघि बढिसकेको वेदकोट नगरपालिकाका प्रवक्ता नरेश सिंहले जानकारी दिए । ‘लिंगासम्मै कालोपत्रे सडक निर्माणको काम यसै वर्ष सकिनेछ, विद्युत् लाइनका लागि पनि पहल भइरहेको छ,’ उनले भने ।

प्रकाशित : आश्विन २८, २०७६ ११:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?