कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मालपोतमा सधैं सास्ती

सेवाग्राही भन्छन्, ‘कुनै बेला कर्मचारी छैन, कुनै बेला तपाईंको कागजात मिलेन भन्दै फर्काउँछन्’
मोहन शाही

(डोटी) — बीपीनगर पातालका ६८ वर्षीय जंगबहादुर बोगटी रुन मात्र सकेका थिएनन् । मालपोत कार्यालयमा उनी फागुनदेखि जग्गादानका लागि धाइरहेका थिए । ६ महिनादेखि कार्यालयको चक्कर लगाउँदैमा उनी फत्रक्कै गलेका थिए । कर्मचारीको अनेकौं बहाना र आलटाल गर्दै आएको उनको गुनासो छ ।

मालपोतमा सधैं सास्ती

जिल्ला सदरमुकाम सिलगढीदेखि १ सय ५० किमिको यात्रा गरी उनी पटक–पटक मालपोत कार्यालय आए । ‘कुनै बेला कर्मचारी नै छैन भन्छन्, कुनै बेला तपाईंको यो कागजात मिलेन भनी फर्काउँछन्,’ सुस्केरा हाल्दै उनले गुनासो पोखे, ‘बुढेसकालमा पुण्य काम गरौंभन्दा पनि सरकारले दिनुसम्म दुःख दियो ।’ ओहोरदोहोरमा मात्रै ४० हजार रुपैयाँ खर्च भइसकेको उनले बताए ।


उनले आफ्नो कुलदेवता गुणाको नाममा मन्दिर निर्माणका लागि जग्गा दिन चाहेका थिए । सुरुमा उनलाई जग्गाको हकबन्दी लाग्ने भन्दै विभिन्न प्रभाव, आश्वासन देखाएर महिनादिन सम्म कर्मचारीहरूले झुलाए । उनीसँग रहेको ९२ रोपनीमध्ये हकबन्दीका नाममा १७ रोपनी सरकारका नाममा खोसियो । दोस्रोपटक जमिनको कित्ताकाट गर्नुपर्ने, जग्गा फुकुवा गर्नुपर्ने भन्दै पटक–पटक कार्यालय आउजाउ गरेरै दिन बिते ।


भदौसम्म अड्किएको उनको काम गत शुक्रबारसम्म कार्यालयको तल्लो तला र माथिल्लो तला धाउँदैमा कट्यो । ‘पछि–पछि त मेरो फाइल हेर्दै नहेर्ने भए,’ उनले भने, ‘मभन्दा पछि आउने सेवाग्राहीको काम गर्ने, मलाई पर्खनुस् अहिले गर्छु भनेर दिन काट्ने मात्र काम भयो ।’ आफूसँग घूस दिनसक्ने पैसा नभएको जानकारी कर्मचारीहरूलाई दिएपछि आलटाल गरेको हुनसक्ने उनको बुझाइ छ । उता दुर्गामाण्डौ वायलका शंकरले दिवंगत बुबा बहादुर विकका नाममा रहेको जमिन आमा नरुको नाममा नामसारी गराउन ७ दिन कार्यालय धाउनुपर्‍यो । ‘कुनै बेला यो भएन भन्छन्, कुनै बेला त्यो पुगेन भन्छन्,’ उनले कार्यालयमा पाएको सास्ती पोख्दै भने, ‘कोही ११ नम्बर कोठा जा भन्छन्, कोही ९ नम्बर । अन्तिम दिन त राजस्व तिर्न पनि पैसा नपुग्दा सापटी मागेर तिरें ।’


मालपोत कार्यालय डोटीमा यस्ता व्यथा व्यहोरेका तमाम सेवाग्राही फेला पर्छन् । सामान्य कामका लागि पनि कम्तीमा तीन दिन लाग्ने गरेको गुनासो सेवाग्राहीको छ । फाँटमा कर्मचारी नै फेला नपर्ने गुनासो सेवाग्राहीहरूको बेग्लै छ । ‘पालोमा काम कसैको हुँदैन,’ सायल गाउँपालिकाबाट अंशबण्डाको काम लिएर आएकी सुन्तली विकले गुनासो गरिन्,’ अपांग श्रीमान कागजातको फाइल लिएर उभिँदा–उभिँदा लखतरान परेपछि म आफैं आएकी हुँ । पढ्न नजान्ने भएकीले कर्मचारीले भनेको कुरै नबुझ्दा झन् समस्या भयो ।’


मालपोत कार्यालयको नागरिक बडापत्रमा कुनै पनि सेवा एक दिनभित्र गर्ने भनेर उल्लेख छ । तर त्यसै दिन काम सकेर फर्किने सेवाग्राही विरलै रहेको स्थानीय मनोज केसी बताउँछन् । ‘आर्थिक रूपमा लेनदेन गर्नसक्ने व्यक्तिहरूको मात्रै सोही दिन काम हुने सम्भव छ,’ स्रोतले बतायो, ‘नत्र विभिन्न बहानाबाजी हुन्छ ।’


मालपोत कार्यालयको सेवा प्रवाहबारे जिल्ला प्रशासनसम्म पनि पटक–पटक गुनासो पुग्ने गरेको छ । लिखित रूपमा गुनासो नआए पनि मौखिक रूपमा भने निरन्तर आइरहेको प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले बताए । ‘गुनासो आउनेबित्तिकै समन्वय गरी समाधान गर्ने गरेका छौं,’ उनले भने, ‘त्यसरी गुनासो आउनुका विभिन्न कारण छन् , काममा ढिलासुस्ती भयो भनेर नै बढी गुनासो छ ।’


अनलाइनले झन् सास्ती

मालपोत कार्यालयले गत शुक्रबारबाट अनलाइन सेवा सुरु गरेको छ । अनलाइनबाट सेवा छिटो छरितो हुनुको साटो उल्टै ढिलासुस्ती भइरहेको गुनासो सेवाग्राहीको छ । मालपोत कार्यालयले शुक्रबार केआईसिंह गाउँपालिका १, डुम्राकोटकी कृष्णा शाहीको नामसारीको कागजात कम्प्युटरकृत गरेको थियो । अनलाइनबाट सेवा लिने पहिलो सेवाग्राहीका रुपमा सम्मान गरिएकी सेवाग्राहीको काम सकिन भने ६ दिन लाग्यो । केआईसिंह गाउँपालिका १ वडा कार्यालयलाई जग्गा दान गर्न धनगढीबाट आएर एक साताभन्दा बढी मालपोत कार्यालय धाउनुपरेको गुनासो उनको छ ।


‘हामी मंगलबार मालपोत कार्यालय आएका थियौं,’ कृष्णाले भनिन्, ‘दुई दिन कागजात मिलाउन र हेर्नमै लेखापढी व्यवसायी र कर्मचारीहरूले बिताए, शुक्रबारबाट अनलाइन सेवा सुरु भयो भनेर नयाँ प्रक्रिया सुरु गरे, त्यो पनि बुधबार मुस्किलले भ्याइयो ।’ मालपोत कार्यालयका कर्मचारीहरू अनलाइनमा काम गर्न पूर्ण अभ्यस्त नहुँदा कठिनाई भएको मालपोत कार्यालय प्रमुख प्रेमसिंह माझी बताउँछन् । उनले केही दिनमात्र यस्तो समस्या हुने र विस्तारै व्यवस्थित हुँदै जाने आश्वासन दिए । तर सेवाग्राहीहरूले भने कर्मचारीहरूले अनलाइन सेवा सुरु गर्नुपूर्व नै तालिम लिएर अभ्यस्त भएपछि मात्र गर्नुपर्ने सुझउँछन् ।


अनलाइनमा अभिलेख राखे पनि पुनः विगत झै लिखत कागजात राख्नुपर्ने भएकाले पहिलेभन्दा समय केही बढ्ने गरेको मुद्दाफाँटका नासु सिद्धराज श्रेष्ठले बताए । अनलाइन सेवाबाट काम सुरु भए पनि नयाँ विधिले काम गर्नुपर्ने भएकाले लेखापढी व्यवसायीहरू पनि अलमलमा छन् ।


कर्मचारी अभाव


कर्मचारी अभावले काममा ढिलासुस्ती भइरहेको मालपोत कार्यालय प्रमुख माझी बताउँछन् । फाँटमा कर्मचारी नहुँदा कार्यालय सहयोगीले नासु, खरिदारको जिम्मेवारी सम्हाल्ने गरेका छन् ।


मालपोत कार्यालयका अनुसार १ अधिकृत, १ लेखापाल, ३ नासु, ६ खरिदारको दरबन्दी छ । तर त्यहाँ भने एक अधिकृत र एक नासुले मात्र कार्यालय चलाइरहेका छन् । एक खरिदार रहे पनि उनको अन्यत्र सरुवा भइसकेको छ । ‘दुई/तीन जनाले कुन–कुन फाँट सम्हाल्ने, ढड्डा पल्टाउने कि राजस्व काट्ने,’ नासु सिद्धराज भन्छन्, ‘दर्ता चलानी गर्ने कि मुद्दा हेर्ने । हाम्रो समस्या कसले बुझ्ने ।’ उनले करारमा कर्मचारीहरूको माग गरे पनि अहिलेसम्म सुनुवाइ नभएको बताए ।


कार्यालयले दुई सहयोगीलाई दर्ता चलानी तथा कागजात जाँचमा खटाएको छ । केही साता अघिमात्र एक जना करारमा नियुक्त गरे पनि पर्याप्त नभएको कर्मचारीहरू बताउँछन् । स्रोतका अनुसार अधिकांश कर्मचारी यहाँ आउन चाहँदैनन् । सेवाग्राहीको चाप कम रहने भएकाले आर्थिक रूपमा तराईका जिल्लाभन्दा व्यक्तिगत लाभ नहुने भएकाले कर्मचारीहरूको रोजाई डोटी पर्दैन । दुई खरिदारको सरुवा वैशाखमै भइसके पनि उनीहरू अझै आउन मानेका छैनन् । थोरै सेवाग्राही भए पनि कर्मचारी अभावले काममा ढिलासुस्ती हुने प्रमुख कारण रहेको प्रजिअ पौडेल स्वीकार्छन् ।


प्रकाशित : आश्विन ७, २०७६ ११:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?