कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भाडाकै घरमा स्थानीय तह

मेनुका ढुंगाना

अछाम — स्थानीय तह चुनाव भएको २ वर्ष नाघिसक्यो । तर जिल्लामा एक नगरपालिकाबाहेक सबै स्थानीय तहका कार्यालयहरू भाडाकै घरबाट सञ्चालन भइरहेका छन् । न्यायिक समितिलागायत अन्य कार्यालयहरू छुट्टाछुट्टै हुनुपर्ने प्रावधान भए पनि भवन अभावमा गुजारा चलाउने अवस्थामा कार्यालय सञ्चालन भएको जनप्रतिनिधिहरू बताउँछन् ।

आफ्नो भौतिक संरचना नभएपछि जिल्लाका ३ नगरपालिका र ६ गाउँपालिका भाडाको घरमा कार्यालय सञ्चालन गर्न बाध्य भएका हुन् ।

साँफेबगर नगरपालिका मात्रै आफ्नो भवनमा सञ्चालन भइरहेको छ । जनप्रतिनिधिको पहिलो प्राथामिकता सवारीसाधन, सडक निर्माण अन्य योजना परेकाले गाउँपालिका, नगरपालिका र वडा कार्यालयका भवन निर्माणमा ध्यान जान नसकेको स्थानीयको भनाइ छ । स्थानीय तहको कुनै संरचना नभएपछि महँगो भाडा तिरेर कार्यालय सञ्चालन गरिरहेको चौरपाटी गाउँपालिकाका अध्यक्ष हर्कबहादुर साउँदले बताए ।

अहिले भाडामा लिएका संरचनावाट पनि प्रयाप्त मात्रामा कार्यालय सञ्चालन गर्न असजिलो भएको भए पनि जेनतेन सञ्चालन गरिरहेको उनले बताए । ‘गाउँपालिकाको भवन छैन, कार्य सम्पादन गर्न निकै असहज भइराखेको छ । अहिले घर भाडामा लिएर काम चलाइएको छ,’ उनले भने, ‘७ मध्ये ४ वटा वडा कार्यालयको भवन पनि भाडामा लिएका छौं ।’

सदरमुकाममै रहेको मंगलसैन नगरपालिकाको पनि आफ्नो छुट्टै भवन छैन । तत्कालीन समयमा मंगलसैन गाउँ पञ्चायत हुँदै मंगलसैन गाउँ विकास समितिको कार्यालय सञ्चालन भएको भवनमा अहिले नगरपालिकाको कार्यालय सञ्चालनमा छ । वडा ३, ४ र ५ का कार्यालयहरू अहिले पनि नगरपालिका भएकै भवनबाट सञ्चालन भइरहेका छन् ।

सेवाग्राहीको भीडले काममा असहज भएको वडा ५ का अध्यक्ष हरिप्रसाद ढुंगानाले बताए । भवनलगायत पूर्वाधार अभावले ३ वटै वडाबाट सेवाग्राही आउँदा भीड हुने, चुस्त सेवा दिन गाह्रो हुने गरेको वडाध्यक्षहरू बताउँछन् । कार्यालय सञ्चालन गर्ने पूर्वाधार नहुँदा जनताले अपेक्षा गरेअनुसार जोस, जाँगरले काम गर्न कठिनाइ भएको ढुंगानाले बताए । ‘कार्यालयमा उभिने ठाउँ नै हुँदैन,’ उनले भने, ‘मैले वडा–सचिव त पाएको छैन, कार्यालय अझ परको कुरा ।’


सबै वडाध्यक्ष एउटै कोठामा बसेर काम गर्दा एकले अर्कालाई अल्झाउने, अलमलिने गरेको वडाध्यक्ष ढुंगानाको अनुभव छ । १४ वडाको काम गर्ने मंगलसैन नगरपालिकामा ५ सचिव छन् । सबै ठाउँमा पालो मिलाएर सचिव वडामा जाँदा व्यवस्थापन गर्न असहज हुने गरेको वडाध्यक्षहरूको भनाइ छ ।भाडामा सञ्चालन भएका वडा कार्यालय निकै पुराना र साँघुरा छन् । ‘बाहिरबाट कोहि नयाँ मान्छे आए कार्यालय हो भन्ने पत्याउँदैनन्,’ मंगलसैन नगरपालिका १३ का अध्यक्ष तेजबहादुर भण्डारीले भने, ‘मेच राखेर ३ जना समेत बस्न मिल्दैन ।’

प्रकाशित : आश्विन ६, २०७६ ११:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?