कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मूल्यवृद्धि अचाक्ली, डडेलधुरा आक्रान्त 

खाद्यवस्तुदेखि लुगाकपडासम्ममा पोहोरभन्दा दोब्बर मूल्यवृद्धिले उपभोक्ता मर्कामा परेका छन्

(धनगढी) — बजेट आउन दुइ महिना बाँकी छँदै दैनिक उपभोग्य वस्तुलगायतमा सुरु भएको मूल्यवृद्धि चाडबाड नजिकिँदै जाँदा झन् आकाशिएको छ । तराईका कैलाली, कञ्चनपुर र पहाडी जिल्लामा महँगी अचाक्ली बढेको हो । 

मूल्यवृद्धि अचाक्ली, डडेलधुरा आक्रान्त 

धनगढीमा खाद्यान्न, तरकारीलगायत दैनिक उपभोग्य वस्तुको मूल्य निकै बढ्दा उपभोक्ता मर्कामा छन् । ‘बजार मूल्य सोध्नै नसक्ने अवस्था छ,’ धनगढी–५ मा पसलमा चामल किन्न आएकी स्थानीय सब्या शाहीले भनिन्, ‘जहिल्यै मसिनो चामल लिएर जान्थे । आज मँहगो बढी भएर मोटो चामल किनेर लैजाँदै छु ।’ बजार भाउ अनुगमन गर्ने निकाय सक्रिय नहुँदा खाद्य सामग्रीमा व्यापारीको मनपरी बढेको गुनासो उनको छ ।


धनगढी–५ का किराना पसले मोहन कापडी खुद्रा विक्रेताले बजारभाउ नबढाएको दाबी गर्छन् । ‘पोहोरभन्दा सबैथोकको भाउ बढेर आएको छ । थोकमै बढेपछि खुद्रामा स्वत: बढ्ने नै भयो ।’ गत वर्ष प्रतिकिलो ६० रुपैयाँ पर्ने चामल अहिले ७५ सम्म पर्ने गरेको उनले बताए । यस्तै १२० रुपैयाँ पर्ने रहरको दाल अहिले प्रतिकिलो १६० पुगेको छ । ‘सामान किन्न आउँदा उपभोक्ता मूल्य सुन्दा महँंगो भयो भनेर गुनासो गर्छन् । हामीले घाटा खाएर दिन सक्ने कुरो भएन्,’ उनले भने, ‘महँगीको मार व्यापारीलाई पनि परेकै हो ।’


चामल र दालमा मात्रै होइन, धेरैजसो दैनिक उपभोग्यवस्तुलाई महँगीले छोएको छ । पोहोर यही बेला ५ किलोको १७५ रूपैयाँ पर्ने पिठो अहिले २४० पुगेको छ । सय रुपैयाँ प्रतिकिलो पर्ने चना १३० र ६० पर्ने सुजी अहिले ८० रुपैयाँ पुगेको छ । मकै सयबाट ११० र चियापत्ती ३४५ बाट ३६० रुपैयाँ प्रतिकिलो पुगेको छ । ‘हरेक वर्ष मूल्य घटेको छैन,’ कापडी भन्छन्, ‘कुनै कुनैमा बढ्दैनथ्यो । अहिले सबैमा बढेको अवस्था छ ।’ चर्को मूल्यवृद्धिलाई रोक्न सरकारकै सक्रियता चाहिने उनले बताए । तरकारीको मूल्य पनि दोब्बरले बढेको छ । ‘धेरै महँगो छ तरकारी । हाटबजारतिर जाँदा रित्तो हात फर्किन मन लाग्छ,’ धनगढीको तारानगरकी देवकी भट्टले भनिन्, ‘किनेर खाइसक्नु छैन । पैसा नभएकाहरूले त हाट बजार नगएपनि हुन्छ ।’ स्थानीय सरकार र प्रदेश सरकारले मनपरी भइरहेको मूल्यवृद्धिलाई रोक्नुपर्ने उनले बताइन् ।


‘एक त विषादी होलान् भनेर डराई डराई किन्यो । त्यसमाथि किनेर । खाइनसक्नु महँगो भयो,’ तारानगरकै गीता पन्तले भन्छिन्, ‘दिनदिनै त कसरी बढेको हो । यो त कसै न कसैले अनुगमन गरे पनि व्यापारीलाई मनपरी गर्ने छुट रोकिन्थ्यामे होला ।’ सरकारी संयन्त्रले अनुगमनमा चासो नदेखाउनुको असर बजारमा मनपरी गर्नेलाई छुट भएको उनले गुनासो गरिन् । ‘भोकै बस्न भएन, किनेर खानैपर्छ तर, महँगी हेर्दा भोकै बस्नुजस्तो भइसक्यो,’ उनले भनिन् । तरकारी व्यापारीहरू भने उपभोक्ताले गरेको गुनासो जायज भए पनि मूल्यवृद्धिमा आफूहरूको हात नभएको दाबी गर्छन् । धनगढी–२ का तरकारी पसले उमेश चौधरी बिचौलियाका कारण चर्को मूल्यवृद्धि भएको बताउँछन् । ‘बिचौलियाको खरिद र ढुवानी खर्चका बारे अनुगमन गर्ने निकाय हुनुपर्छ । तब मात्रै मूल्यवृद्धिको कारण खुल्छ,’ उनले भने, ‘हामीले त सामान्य नाफा राखेर बिक्री गर्ने हो । किसान र व्यापारीभन्दा बिचौलियाले फाइदा लिइरहेका छन् ।’ त्रिनगर कृषिउपज हाटबजार समितका अध्यक्ष भवानी चैसिर सरकारले भारतबाट आयात हुने तरकारीमा रोक लगाएका कारण तरकारीमा मूल्यवृद्धि भएको बताए । गत महिना ६० रुपैयाँ प्रतिकिलो पर्ने प्याज बढेर अहिले १२० पुगेको उनले बताए । ५० रुपैयाँ किलो पर्ने धनियाँ अहिले २ सय रुपैयाँ किलो भएको छ । ६० पर्ने बोडी सय, फूलकोपी ४० रुपैयाँबाट वृद्धि भएर सय, पहाडी आलु ५० बाट ७०, भिन्डी २० बाट ६० र खुर्सानी ६० बाट ८० रुपैयाँ प्रतिकिलो पुगेको छ । ‘स्थानीय उत्पादन न्यून छ । त्यसैले भएको उत्पादनको मूल्य वृद्धि भएको हो,’ अध्यक्ष चैसिर भन्छन्, ‘अझै तिहारयता महँगी कम नहुने निश्चितजस्तै छ । लोकलमा केही फल्दैन, सबै बाहिरबाट आउँदा बढेरै आउँछ ।’


डडेलधुरा आक्रान्त

डडेलधुरामा खानेतेल, चामल, पिठो, मसालाजन्य वस्तु, घिउ, मासु र दाल सबैको मूल्य पोहोरका तुलनामा निकै बढेको छ । गत वर्षको तुलनामा ४० प्रतिशतभन्दा बढीले मूल्य बढ्दा ज्यालादारी पेसा गरिखानेलाई ठूलो मर्का परेको उपभोक्ताले बताएका छन् । कृषकबाट २५ रुपैयाँ प्रतिकिलो खरिद गरिने टमाटर सदरमुकाम पुग्दा नपुग्दै ६० देखि ९० रुपैयाँ प्रतिकिलो बिक्री भइरहेको छ ।


टमाटर, प्याज, आलु, लसुन, लौका, भिन्डी, फर्सी र मुलालगायतका तरकारीमा पनि भाउ गत वर्षको तुलनामा दोब्बर छ । ‘मूल्यवृद्धि नियोजितभन्दा पनि बिचौलियाका कारण आकाशिएको छ,’ उद्योग वाणिज्य संघ डडेलधुराका अध्यक्ष लोकराज भट्टले भने, ‘कैलाली कञ्चनपुरबाट पहाडी जिल्लामा भित्रिने खाद्यपदार्थमा तराईका अधिकृत विक्रेताहरूले नै चर्को मूल्यवृद्धि गरेको पाइएको छ । पहाडी जिल्लामा उत्पादन हुने वस्तुमा बिचौलियाका कारण मूल्यवृद्धि भएको छ ।’ सुदूरका पहाडी जिल्लामा आउने प्राय: सबैजसो खाद्य वस्तु कैलाली र कञ्चनपुरका खाद्य विक्रेतामार्फत आउने गरेको छ । तराईमा नै मूल्य नियन्त्रण हुन नसकेका कारण पहाडी जिल्लाका व्यवसायीले पनि बाध्य भएर मूल्यवृद्धि गर्नुपरेको व्यवसायीहरूको गुनासो छ ।


खाद्य वस्तु मात्र होइन । दसैंका समयमा ठूलो मात्रामा व्यवसाय हुने तयारी पोसाकमा पहाडी जिल्लामा २ सय प्रतिशत मूल्यवृद्धि गरिएको छ । राजधानी काठमाडौंमा खुद्रा मूल्य एक हजारसम्म रहेको तयारी पोसाक डडेलधुरामा चार हजारसम्ममा बिक्री गरिरहेका छन् । महिलाहरूले खरिद गर्ने तयारी पोसाकमा जथाभावी मूल्य छ । साडी, सुट, सेन्डिल, जुत्ता र स्वेटरजस्ता वस्तुको अत्यधिक मूल्य छ । अन्य तयारी पोसाक पनि सस्तो छैनन् भन्ने उपभोक्ताको गुनासो छ । ‘गत वर्षको तुलनामा मूल्यवृद्धिको कुरै नगरौं,’ उपभोक्ता मञ्चका सदस्य तथा नागरिक समाज डडेलधुराका अध्यक्ष रमेश जोशीले भने, ‘न उपभोग्य वस्तुको मूल्यसूची छ, न अन्य वस्तुको ।’ बजारमा जसले जतिमा बिक्री गरे पनि हुने स्थिति भएकाले भाउमा मनपरी भएको उनले बताए । ‘अत्यधिक बिक्री हुने मोटो चामल, रिफाइन्ड तेल, कैलाली कञ्चनपुरमा बनेको वनस्पति तेल, मसलामा पहाडी जिल्लामा तेब्बर मूल्य छ,’ उनले भने, ‘स्वदेशमै उत्पादन हुने खाद्यवस्तुको भाउ मनपरी हुँदा पनि सरकारले ध्यान दिएन ।’ विभिन्न खाद्य कम्पनीमा उत्पादन हुने यस्ता वस्तुमा कम्पनीबाटै मूल्यवृद्धि भएको व्यवसायीहरूले बताउने गरे पनि लेखिएको भन्दा दोब्बर बढी असुल्ने प्रवृत्तिले उपभोक्तालाई मार परेको उनले बताए ।


तरकारीमा दोब्बर

डेढ महिनाको अवधिमा खाद्यान्न र तरकारीको भाउ साविकभन्दा ५० देखि सय प्रतिशतसम्म बढेको छ । व्यवसायीहरूका अनुसार चामलमा प्रतिकिलोमा १० देखि १५ रुपैयाँ, दालमा २० देखि ३०, तेलमा प्रतिलिटर १० नुनमा ३ रुपैयाँ वृद्धि भएको छ । ‘खाद्यान्नको मूल्य एक डेढ महिनायता बढेको हो,’ महेन्द्रनगर बजारका व्यवसायी चन्द्रसिंह सामन्तले भने, ‘इन्डियाबाट आयात हुने खाद्यान्नको भाउ अझ बढी छ । बढेर आएपछि व्यापारीले घटाउन सक्दैनन् ।’


महेन्द्रनगरमा नेपालमा उत्पादित दाल र चामल बढी मात्रामा बिक्री भइरहेको छ । केही मात्रामा भारतबाट आयातित दाल, चामल पनि बिक्री भइरहेको व्यवसायीहरू बताउँछन् । चाडपर्वमा बढी खपत हुने मर मसाला, चिनी चियापत्तीको मूल्य पनि बढेको छ । ‘अहिले सबैथोकमा मूल्यवृद्धि भएको छ,’ महेन्द्रनगरकै अर्का व्यवसायी राम बोहराले भने, ‘चामल प्रतिकिलो २ भन्दा बढी पुग्यो । दालमा पनि किलोमा पाँच/दस रुपैयाँ बढेकै छ ।’ नुन, चिनी, जिरा र धनियाँलगायतको भाउ पनि बढेर आएको उनले बताए । खाद्यान्नमा मात्रै होइन, तरकारीको पनि भाउ बढेको छ । व्यवसायीहरूका अनुसार सोह्र श्राद्ध सुरु भएपछि तरकारीमा दोब्बर बढी मूल्यवृद्धि भएको छ । उनीहरूका अनुसार टमाटर प्रतिकिलो ४० बाट ८० रुपैयाँ पुगेको छ । लौका २० देखि ४०, फर्सी ३० बाट प्रतिकिलो ७० रुपैयाँ पुगेको छ । मुला प्रतिकिलो ३० बाट ६० पुगेको छ । प्याज पनि ६० रुपैयाँबाट सयमा पुगेको छ ।


‘बजारमा खपत बढी हुने र उत्पादन कम हुने समय भएकाले मूल्यवृद्धि भएको हो,’ महेन्द्रनगर सब्जीमण्डी व्यवसायी समितिका अध्यक्ष विशाल सोनारले भने, ‘पछिल्लो समय वर्षाका कारण लहराहरू कुहिएर उत्पादन घटेको छ । श्राद्धमा तरकारी खपत पनि बढी हुने गर्छ ।’ उनले भारतबाट आयात हुने प्याज, टमाटर र आलुको मूल्य उतैबाट बढेर आएको बताए ।


डीआर पन्त (डडेलधुरा), भवानी भट्ट (कञ्चनपुर) र निर्मला खडायत (धनगढी)


प्रकाशित : आश्विन ५, २०७६ १०:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?