कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बेर्नाबाटै लाखौं आम्दानी

गणेश चौधरी

(टीकापुर) — टीकापुर नगरपालिका १, बनगाउँको ज्ञानी टोलकी कृष्णा चौधरीको दैनिक घरखर्च पतिको जागिरकै भरमा थियो । तर उनले तरकारीको बेर्ना उत्पादन गर्न थालेसँगै आम्दानी पनि राम्रै हुन थालेको छ ।

बेर्नाबाटै लाखौं आम्दानी

बेर्ना उत्पादनमा लागत महँगो भए पनि नाफा भने राम्रो रहेको उनी बताउँछिन् । एक सिजनमा ५ देखि ७ लाख रुपैयाँको बेर्ना बेच्ने गरेको उनले सुनाइन् । ‘घरमा खास काम थिएन, केहि गरौ भने लगानी गर्ने रकम पनि थिएन, जग्गा पनि थोरै थियो,’ कृष्णाले भनिन्, ‘काम नहुँदा भएको सानो जग्गामा केही तरकारीको बेर्ना लगाएँ ।’ उनले बेर्ना सजिलै सहज बिक्री हुँदा हौसला बढ्यो र त्यसपछि बेर्ना उत्पादन थालेको बताएन ।


२०६१ सालबाट १५ धुरमा बेर्ना उत्पादन थालेकी उनले अहिले ४ कट्ठामा व्यावसायिक रुपमा तरकारीका बेर्ना उत्पादन गरिरहेकी छिन् । आजभोलि उनको नर्सरीमा सिजनल बन्दा, काउली, टमाटर, भान्टा, खुर्सानीको बेर्ना पाउन सकिन्छ । ‘बालीबाट आम्दानी लिन महिनौं कुर्नुपर्ने हुन्छ,’ उनले भनिन्, ‘बेर्ना उत्पादन गर्दा एक महिनाभित्र आम्दानी लिन सकिने भएकाले छोटो समयमा सुरक्षित पेसाका रुपमा राम्रो आम्दानी भइरहेको छ ।’


यही टोलका तरकारीको बेर्ना उत्पादन गरी बिक्री वितरण गर्दै आएका जयराम चौधरीले बेर्ना बेच्न समस्या नभएको सुनाए । उनले भने, ‘बेर्ना उत्पादनस्थलमै आएर ग्राहकले किनेर लैजाने गरेका छन् । बेच्नलाई समस्या छैन ।’ टीकापुर नगरपालिका १, वनगाउँको ज्ञानी टोलका अन्यले पनि तरकारीका बेर्ना उत्पादन गरिरहेका छन् । यो टोलमा लहरै तरकारीका बेर्ना उत्पादन गरिएका छन् । सिजनल तरकारीका बेर्ना उत्पादन गरी यो टोलले टीकापुर नगरपालिका तथा जानकी र जोशीपुर गाउँपालिकासम्मका किसानलाई बिक्री गर्दै आएको छ । तरकारीको बेर्ना उत्पादन त्यति सहज भने नभएको उनीहरूको अनुभव छ । तरकारीको बेर्ना हरेक दिनको मौसम प्रतिकूलतासँग जोडिएकोले धेरै ख्याल गर्नुपर्ने र यसका लागि नियमित रेखदेख गर्नुपर्ने उनीहरू बताउँछन् । बेर्ना व्यवसायमा भविष्य देखेकी कृष्णाले भनिन्, ‘आगामी दिनमा सिजनल मात्र नभई बेमौसमी बेर्ना पनि तयार गर्ने सोच छ । यसका लागि पर्याप्त तालिमसँगै नयाँ प्रविधि पनि आवश्यक होला ।


‘आफूहरूलाई स्थानीय तहबाट खासै सहयोग नभएको जयराम सुनाउँछन् । उनले भने, हामी थोरै किसानले व्यावसायिक पेसाका रूपमा गर्ने बेर्ना उत्पादनले तरकारी उत्पादन बढाउनमा सहयोग पुगेको छ ।’


प्रकाशित : आश्विन ३, २०७६ १०:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?