कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आत्महत्याका घटना बढे

बैतडी — पछिल्लो समय बैतडीमा पनि आत्महत्याका घटनाहरू बढेका छन् । ३ वर्षको अवधिमा ९४ जनाले आत्महत्या गरेका छन् । तीमध्ये महिलाको संख्या बढी छ ।

जिल्ला प्रहरी कार्यालयको तथ्यांकअनुसार आव ०७३/७४ मा ३६ घटना भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जसमा ३० जना झुन्डिएर, ५ जनाले विष सेवन गरेर र १ जनाले हामफालेर आत्महत्या गरेका छन् । जिल्लाभर ०७४/७५ मा ३१ जनाले आत्महत्या गरेको प्रहरीले जनाएको छ । तीमध्ये २४ जनाले झुन्डिएर, ७ जनाले विष सेवन गरेका हुन् । गत आव ०७५/७६ मा २२ जनाले आत्महत्या गरेको प्रहरीको तथ्यांक छ । १६ जनाले झुन्डिएर र ६ जनाले विष सेवन गरी ज्यान गुमाएका छन् ।


चालु आवको ४ महिनामा ४ जनाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक किसनबहादुर चन्दले बताए । ‘पछिल्लो समय जिल्लामा आत्महत्याका घट्ना बढिरहेका छन्,’ उनले भने । आत्महत्या गर्नेमा महिलाहरूको संख्या बढी छ । आव ०७३/७४ मा आत्महत्या गर्नेमा २२ महिला, १३ पुरुष र १ बालक छन् । ०७४/७५ मा १३ महिला, १२ पुरुष, ३ बालक र ३ बालिका छन् । यस्तै ०७५/७६ मा १० महिला, ८ पुरुष र ४ बालिका रहेका प्रहरीले जनाएको छ । चालु आवमा आत्महत्या गरेका ३ महिला र १ बालिका हुन् ।


हाल दिन प्रतिदिन भइरहेका आत्महत्याका घटनालाई न्यूनीकरण गर्न जनचेतनामूलक कार्यक्रमहरू गरिरहेको प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेयले बताए । ‘जिल्ला कार्यालयसहित सबै प्रहरी चौकीद्वारा जनचेतनाका कार्यक्रमहरू सञ्चालन गरिरहेका छौं,’ उनले भने, ‘विद्यालयहरूमा विद्यार्थी लक्षित गरी कार्यक्रम गर्ने गरेका छौं ।’ विद्यार्थीसँगै परिवारलाई पनि यसबारे जानकारी दिने गरेको उनले बताए । आत्महत्याका घटनाहरू धेरै भएको भन्दै महिला अधिकारकर्मी सरस्वती नेपालीले जनचेतना जगाउन आवश्यक रहेको बताइन् ।


प्रकाशित : आश्विन २, २०७६ १०:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?