कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सैनडाँडामा धामी नाच

देउडाको घमासान प्रतियोगितामा हारजितले वैवाहिक सम्बन्ध कायम गराउने मेला पछिल्ला केही वर्षयता संस्कृति संरक्षणमा केन्द्रित
वसन्तप्रताप सिंह

बझाङ — साउनको अन्तिम सातादेखि बझाङ मेलामय छ । सुर्माको विरिजात, लेकगाउँको विर्सतीलगत्तै खप्तड छान्ना गाउँपालिकामा लाग्ने सैनडाँडाको जात (जात्रा) सुरु भएको छ । असोज शुक्ल पूर्णिमाका दिनदेखि सुरु हुने यो मेला तीन दिनसम्म चल्छ । मेलाको मुख्य आकर्षण धामी नाच हो ।

सैनडाँडामा धामी नाच

खप्तड दहमा रहेको मन्दिरबाट डोली ल्याएर पाटादेवलमा रहेको खापरमाडौं मन्दिरमा चढाएपछि यो मेलाको विधिवत् सुरुवात हुन्छ । मेला भर्नका लागि बझाङलगायत अछाम, बाजुरा र डोटीबाट दर्शनार्थीहरू आउने गर्छन् । छान्ना क्षेत्रमा रहेका विभिन्न मठमन्दिरका धामीहरूको सामूहिक धामी नाच यो मेलाको मुख्य आकर्षण हो ।


सैनडाँडा मेला देउडाका लागि पनि सुदूरपश्चिम प्रदेशमै चर्चित छ । छिमेकी जिल्लाहरूबाट आएका महिला र पुरुषबीच घमासान देउडा खेलहरू चल्छन् । केही वर्ष अघिसम्म यही मेलामा देउडा दोहोरी खेलेर जितहार भएपछि उसैसँग विवाह गर्ने चलन पनि थियो । मेलामा विभिन्न खेलकुद तथा सांस्कृतिक कार्याक्रमको समेत आयोजना गरिएको मेलास्थल रहेको वडा ६ का अध्यक्ष तिलक खड्काले बताए ।


महाभारत कालमा पाण्डवका पुरोहित धौम्य ऋषिले कुरु क्षेत्रमा भएको गोत्र हत्याको पापमोचन गर्नका लागि खप्तडमा गएर शिव दर्शन गर्न सुझाएको किंवदन्ती छ । पापमोचनका लागि खप्तड आएका बेला पाण्डवले खप्तडछान्ना गाउँपालिकाको पाटादेवलमा रहेको खापरमाडौं आई खापर देवताको पूजा गरेको किंवदन्ती छ । पाण्डवहरूले यहाँ यज्ञमा प्रयोग भएका सामानहरू खप्तडमा रहेको त्रिवेणीमा सेलाएको र पाण्डवहरूले नै यो मेलाको सुरुवात गरेको स्थानीयको विश्वास छ ।


अर्को किंवदन्तीअनुसार पाटादेवलमा रहेको खापरदेवको स्थापना भएपछि १२८० मा जुम्ली महाराज नागराजको छोरा महाराज क्रश्चल र तिनका छोरा अशोक चल्लले राज्य विस्तार गर्न कुमाउ गढवालतिर आक्रमण गर्ने सिलसिलामा खापर देवताको ढुकुटीसमेत लुटेर लगेका रहेछन् ।


पछि खापर देवताले आफ्नो ढुकुटी लुटेको भन्दै जुम्ली राजाका परिवारलाई दुःख दिन थालेपछि सिजापति राजाले पछुतो गर्दै माफी मागेर लुटेको धनको दोब्बर सम्पत्ति बुझाएको भन्ने कथा पनि यो मेलासँग जोडिएको छ । त्यसपछि सिजापति राजा कालीगढसहितको फौजमा खापरमाडौं आएर स्थानीय बासिन्दा भेला गराई लुटेको दोब्बर सम्पत्ति फिर्ता गराएपछि उत्सवमय माहोलमा पूजा गरेका थिए ।


त्यही बेलादेखि मेलाको सुरुवात भएको भन्ने भनाइ रहेको पाटादेवलका सूर्य थापाले बताए । त्यसबेला सिजापति महाराज जितारी मल्लका भाइले खापरमाडौंमा राखेका शिलालेख, ढुंगामा कुँदिएका मूर्तिहरू हालसम्म पनि यथावत् छन् ।


सैनडाँडा मेला बान्नी चैलती, लेकगाउँको विर्सती र चैनपुरको सिलदेवीपछिको चौथो ठूलो मेलाका रूपमा लिइन्छ । पछिल्लो समय यो मेलाले देउडा संस्कृतिको जगेर्ना गर्नका लागि भूमिका खेलेको बझाङको इतिहास तथा संस्कृतिका अध्येता विष्णुभक्त शास्त्री बताउँछन् ।

प्रकाशित : भाद्र २९, २०७६ १०:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?