कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

परशुराम क्षेत्रको विकासमा २० करोड

डीआर पन्त

डडेलधुरा — परशुराम धामको विकासका लागि संघीय सरकारले २० करोड बढीको लगानी गरी निर्माण सुरु गरेको छ  । परशुराम नगरपालिकास्थित महाकाली नदी किनारमा यो धाम अवस्थित छ  ।

परशुराम क्षेत्रको विकासमा २० करोड

धामको विकास तथा प्रचारका लागि यसै आवदेखि काम सुरु भएको छ । ‘सहरी विकास डिभिजन कार्यालय राजपुर दिपायलले हेर्ने गरी २० करोड बढीको लगानीमा विभिन्न संरचना निर्माण सुरु गरिएको छ,’ परशुराम धाम विकास समितिका पूर्वअध्यक्ष कैलाश पाण्डेयले भने, ‘यस वर्ष २ मन्दिर, २२ कोठाको धर्मशाला, ५ ठूला स्नानघाट, धामको चारैतिर सडकलगायत संरचना निर्माण सुरु भएको छ ।’


डडेलधुरा सदरमुकामदेखि ९० किमि टाढा महाकाली तटमा रहेको धाम विकासका लागि सरकारले लगानी गरेको यो पहिलोपटक हो । महाकालीपारि डेढ घण्टाको दूरीमा रहेको पूर्णागिरि मन्दिरमा बर्सेनि लाखौ दर्शनार्थी पुग्ने गरे पनि प्रचार अभाव र महाकालीवारि आउने सडक नहुँदा अहिलेसम्म ओझेलमा परेको धामको विकाससँगै प्रचार गर्न परशुराम नगरपालिकाले पनि लगानी गरिरहेको छ । ‘नगरपालिकाको ठूलो लगानी परशुराम धाममा हुने गरेको छ,’ पाण्डेयले भने, ‘धाम क्षेत्रमा रहेको संस्कृत महाविद्यालय सञ्चालनका लागि नेपाल संस्कृत विश्व विद्यालयले समेत अध्ययन टोली पठाइसकेको छ ।’विभिन्नपटक नेपाल र भारत सरकारबीच परशुराम धामनजिक महकालीमा पक्की पुल निर्माण हुने सहमति भए पनि अहिलेसम्म बनेको छैन । पछिल्लोपटक देउवा प्रधानमन्त्री हुँदा भएको भारत भ्रमणका क्रममा संयुक्त वक्तव्यमासमेत परेको विषय अहिलेसम्म कार्यान्वयन हुन नसक्दा हरेक वर्ष महाकाली पारि पूर्णागिरि तीर्थमा आउने भक्तजन परशुराम धाम पुग्न सकेका छैनन् ।


धनगढी–डडेलधुरा भीमदत्त राजमार्गको बुडरदेखि धामसम्म कालोपत्रे सडक निर्माण, कञ्चनपुरको दैजीदेखि धाम जोड्ने अर्को कालोपत्रे सडक र सीमापारिबाट महाकाली तरेर धामसम्म पुग्ने व्यवस्था गर्ने काम भइरहेको परशुराम नगरपालिकाले जनाएको छ । परशुराम नगरपालिका प्रमुख भीमबहादुर साउँंदले भने, ‘धामको प्रचारसँगै परशुराम भगवानको ५४ फिट अग्लो मूर्ति स्थापना गर्ने काम नगरपालिकाले गरिरहेको छ ।’ धामको प्रचारका लागि नगरपालिकाले हरेक वर्ष परशुराम महोत्सवसमेत गर्दै आएको साउँदले बताए । उनले भने, ‘यस वर्ष भएको परशुराम महोत्सवमा ४ लाख वढी दर्शनार्थी धाम पुगेका थिए ।’


यहाँको विकासका विषयमा बुझ्न खोज्दा व्यवस्थापन समिति अध्यक्ष प्रेमबहादुर चन्दसँग सम्पर्क हुन सकेन । स्थानीय समाजसेवी रमेश पनेरू धामको विकासका लागि आएको बजेट सदुपयोग गराउन स्थानीयले निगरानी गरिरहेको बताउँछन् । ‘धामको विकाससँगै महाकालीले बर्सेनि गर्दै आएको कटान रोक्न नदी नियन्त्रणको योजना आवश्यक छ,’ उनले भने, ‘महाकालीले धामभन्दा माथि र तलको भूभाग कटान गर्दै आएको छ । यस्तै महाकालीको कटान रोक्न नसके धामको विकासमा लगानी हुने बजेट दुरुपयोग हुने स्थानीय राम नाथ बताउँछन् । उनी भन्छन्, ‘धामको विकास सुरु भएपछि स्थानीय पनि उत्साही बनेका छन् । परशुराम तीर्थ यात्रासँगै चुरे क्षेत्रमा रहेका आलीताल, बेतकोट ताल, झिलमिला तालजस्ता पर्ययटीय स्थलको विकासमा पनि महत्त्वपूर्ण उपलब्धि हुन सक्ने नगर प्रमुख साउँदको भनाइ छ ।

प्रकाशित : भाद्र २५, २०७६ १३:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?