कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

महाकाली तटबन्ध निर्माण ठप्प

गुरुयोजनाले पक्की तटबन्ध निर्माण गरी नदी नियन्त्रणको कार्य गर्न २ अर्ब ६७ करोडको बजेट अनुमान गरेको थियो, अहिलेसम्म २ अर्ब बढी खर्च भइसक्यो
मनोज बडू

दार्चुला — महाकाली तटीय क्षेत्रमा निर्माणाधिन पक्की तटबन्धको काम वर्षातका कारण साउनयता ठप्प छ । महाकाली नदी नियन्त्रण आयोजनाले नदीको तटीय क्षेत्रमा पक्की र अस्थायी तटबन्ध निर्माण गर्दै आएको छ । 

महाकाली तटबन्ध निर्माण ठप्प

हालसम्म आयोजनाले ८० प्रतिशतको हाराहारीमा तटबन्धको निर्माण कार्य सकिएको जनाएको छ । बाँकी क्षेत्रमा निर्माणाधिन अवस्थामा रहेको आयोजनाका निमित्त प्रमुख कमलसिंह महतले बताए । हालसम्म पक्की र अस्थायी गरी १५ प्याकेजमा काम सकिएको छ । गत आवबाट १६ र १७ प्याकेजमा निर्माण भइरहेको छ ।


चालु आवमा १८, १९ र २० प्याकेजमा निर्माण अगाडि बढाउने तयारी भइरहेको महतले जानकारी दिए । साउनयता नदीमा पानीको सतह बढेको र वर्षाले पनि काम गर्न अप्ठ्यारो हुने गर्छ । बर्खामा थोरै मात्र काम हुने र केहि ठाउँमा तटबन्धको जगसमेत खन्न बाँकी रहेकोले साउन भदौमा निर्माण प्रभावित हुने गरेको हो । भदौबाट चाडपर्व सुरु हुने र बर्खामा काम गर्न नसकिने हुनाले ठेकेदारहरूले कामदारलाई घर पठाएकाले साउनबाट काम रोकिएको आयोजनाले जनाएको छ ।


तटबन्धमा धेरैजसो जिल्लाबाहिरका कामदार छन् । काम रोकिएपछि घर गएका कामदारहरू दसैंपछि मात्र आउने हुनाले त्यसपछि मात्र काम सुरु हुने आयोजनाका कर्मचारीहरू बताउँछन् । ‘वर्षातमा काम गरे ठेकेदारले नोक्सानी व्यवहोर्नुपर्ने हुनाले अप्ठ्यारो बाहेकको समयमा खासै काम गर्न मान्दैनन्,’ उनले भने, ‘बर्खामा टाढाबाट निर्माण सामग्री ल्याउन नसकिने र अन्य जोखिम पनि हुने भएकाले कामदारहरू काममा रुचि राख्दैनन् ।’


सदरमुकाम खलंगा आसपास क्षेत्रको जोखिमयुक्त ठाउँहरूमा भने तटबन्ध निर्माण पूरा भएको छ । चालु आवको अन्तिम महिनामा ठेक्का सम्झौता भएका प्याकेजहरूमा ठेकेदारले परिचालन रकम दिएर चाँडै काम सुरु गर्ने मौखिक सहमति भएको आयोजनाले जनाएको छ । आयोजनाका अनुसार २० नम्बर प्याकेजको ठेक्का रद्द भई नयाँ ठेक्काको प्रक्रियामा छ ।


०७० मा महाकालीमा आएको बाढीले तहसनहस बनाएको नदी तटीय क्षेत्रमा बाढी आएकै वर्षबाट गुरुयोजना बनाएर निर्माण भइरहेको छ । ५ वर्षमा तटबन्ध निर्माण सम्पन्न गर्ने जनाए पनि सुरुमा विविध कारणले प्रगति नभएपछि तटबन्ध निर्माणको काम लम्बिएको आयोजनाले जनाएको छ ।


‘सुरुका २ वर्ष लक्ष्यअनुसार काम हुन नसके पनि त्यसपछिका वर्षमा आयोजनाले राम्रै प्रगति भएको छ,’ महतले भने, ‘सुरुमा निर्माण सामग्री अभाव र बन्द हड्तालका कारण अपेक्षाअनुसार काम हुन सकेन ।’ महाकाली नगरपालिकाको सदरमुकाम खलंगा, श्रीबगड, कलोनसहित ५ किमिमा पक्की तटबन्ध र १० किमि क्षेत्रमा पर्ने व्यास गाउँपालिकादेखि लेकम गाउँपालिकाको लालीसम्मको तटीय क्षेत्रमा अस्थायी तारजालीको तटबन्ध निर्माण कार्य भइरहेको छ ।


आयोजनाले सुरुदेखि कोर र अरु क्षेत्र गरी दुई प्रकारको तटबन्ध निर्माण भइरहेको छ । साढे ४ किमि लामो पक्की तटबन्ध ०७५ भित्र सक्ने सम्झौता भए पनि अझै ८० मिटर दूरीमा तटबन्धको जगसमेत बनाउन बाँकी रहेको महाकाली नदी नियन्त्रण कार्यालयले जनाएको छ । गुरुयोजनाअनुसार ०७५ भित्र निर्माण नसकिएपछि आयोजनाको समय बढाएर ०७८ सम्म थपेको छ ।


गुरुयोजनाले महाकाली तटीय क्षेत्रमा तटबन्ध निर्माण गरी नदी नियन्त्रणको कार्य गर्न २ अर्ब ६७ करोडको बजेट अनुमान गरेको थियो । आयोजनाले हालसम्म २ अर्ब २ करोड खर्च गरेको छ । आयोजनाले गुणस्तरीय तटबन्ध बनेकाले वर्षातको समयमा सदरमुकाम क्षेत्र सुरक्षित रहने बताएका छन् ।

प्रकाशित : भाद्र २४, २०७६ ०९:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?