महाकाली तटबन्ध निर्माण ठप्प

गुरुयोजनाले पक्की तटबन्ध निर्माण गरी नदी नियन्त्रणको कार्य गर्न २ अर्ब ६७ करोडको बजेट अनुमान गरेको थियो, अहिलेसम्म २ अर्ब बढी खर्च भइसक्यो
मनोज बडू

दार्चुला — महाकाली तटीय क्षेत्रमा निर्माणाधिन पक्की तटबन्धको काम वर्षातका कारण साउनयता ठप्प छ । महाकाली नदी नियन्त्रण आयोजनाले नदीको तटीय क्षेत्रमा पक्की र अस्थायी तटबन्ध निर्माण गर्दै आएको छ । 

हालसम्म आयोजनाले ८० प्रतिशतको हाराहारीमा तटबन्धको निर्माण कार्य सकिएको जनाएको छ । बाँकी क्षेत्रमा निर्माणाधिन अवस्थामा रहेको आयोजनाका निमित्त प्रमुख कमलसिंह महतले बताए । हालसम्म पक्की र अस्थायी गरी १५ प्याकेजमा काम सकिएको छ । गत आवबाट १६ र १७ प्याकेजमा निर्माण भइरहेको छ ।

चालु आवमा १८, १९ र २० प्याकेजमा निर्माण अगाडि बढाउने तयारी भइरहेको महतले जानकारी दिए । साउनयता नदीमा पानीको सतह बढेको र वर्षाले पनि काम गर्न अप्ठ्यारो हुने गर्छ । बर्खामा थोरै मात्र काम हुने र केहि ठाउँमा तटबन्धको जगसमेत खन्न बाँकी रहेकोले साउन भदौमा निर्माण प्रभावित हुने गरेको हो । भदौबाट चाडपर्व सुरु हुने र बर्खामा काम गर्न नसकिने हुनाले ठेकेदारहरूले कामदारलाई घर पठाएकाले साउनबाट काम रोकिएको आयोजनाले जनाएको छ ।

तटबन्धमा धेरैजसो जिल्लाबाहिरका कामदार छन् । काम रोकिएपछि घर गएका कामदारहरू दसैंपछि मात्र आउने हुनाले त्यसपछि मात्र काम सुरु हुने आयोजनाका कर्मचारीहरू बताउँछन् । ‘वर्षातमा काम गरे ठेकेदारले नोक्सानी व्यवहोर्नुपर्ने हुनाले अप्ठ्यारो बाहेकको समयमा खासै काम गर्न मान्दैनन्,’ उनले भने, ‘बर्खामा टाढाबाट निर्माण सामग्री ल्याउन नसकिने र अन्य जोखिम पनि हुने भएकाले कामदारहरू काममा रुचि राख्दैनन् ।’

सदरमुकाम खलंगा आसपास क्षेत्रको जोखिमयुक्त ठाउँहरूमा भने तटबन्ध निर्माण पूरा भएको छ । चालु आवको अन्तिम महिनामा ठेक्का सम्झौता भएका प्याकेजहरूमा ठेकेदारले परिचालन रकम दिएर चाँडै काम सुरु गर्ने मौखिक सहमति भएको आयोजनाले जनाएको छ । आयोजनाका अनुसार २० नम्बर प्याकेजको ठेक्का रद्द भई नयाँ ठेक्काको प्रक्रियामा छ ।

०७० मा महाकालीमा आएको बाढीले तहसनहस बनाएको नदी तटीय क्षेत्रमा बाढी आएकै वर्षबाट गुरुयोजना बनाएर निर्माण भइरहेको छ । ५ वर्षमा तटबन्ध निर्माण सम्पन्न गर्ने जनाए पनि सुरुमा विविध कारणले प्रगति नभएपछि तटबन्ध निर्माणको काम लम्बिएको आयोजनाले जनाएको छ ।

‘सुरुका २ वर्ष लक्ष्यअनुसार काम हुन नसके पनि त्यसपछिका वर्षमा आयोजनाले राम्रै प्रगति भएको छ,’ महतले भने, ‘सुरुमा निर्माण सामग्री अभाव र बन्द हड्तालका कारण अपेक्षाअनुसार काम हुन सकेन ।’ महाकाली नगरपालिकाको सदरमुकाम खलंगा, श्रीबगड, कलोनसहित ५ किमिमा पक्की तटबन्ध र १० किमि क्षेत्रमा पर्ने व्यास गाउँपालिकादेखि लेकम गाउँपालिकाको लालीसम्मको तटीय क्षेत्रमा अस्थायी तारजालीको तटबन्ध निर्माण कार्य भइरहेको छ ।

आयोजनाले सुरुदेखि कोर र अरु क्षेत्र गरी दुई प्रकारको तटबन्ध निर्माण भइरहेको छ । साढे ४ किमि लामो पक्की तटबन्ध ०७५ भित्र सक्ने सम्झौता भए पनि अझै ८० मिटर दूरीमा तटबन्धको जगसमेत बनाउन बाँकी रहेको महाकाली नदी नियन्त्रण कार्यालयले जनाएको छ । गुरुयोजनाअनुसार ०७५ भित्र निर्माण नसकिएपछि आयोजनाको समय बढाएर ०७८ सम्म थपेको छ ।

गुरुयोजनाले महाकाली तटीय क्षेत्रमा तटबन्ध निर्माण गरी नदी नियन्त्रणको कार्य गर्न २ अर्ब ६७ करोडको बजेट अनुमान गरेको थियो । आयोजनाले हालसम्म २ अर्ब २ करोड खर्च गरेको छ । आयोजनाले गुणस्तरीय तटबन्ध बनेकाले वर्षातको समयमा सदरमुकाम क्षेत्र सुरक्षित रहने बताएका छन् ।

प्रकाशित : भाद्र २४, २०७६ ०९:५५
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

सहरमा पनि बालविवाह 

मोहन बुढाऐर

धनगढी — बालबिवाह गरेकी रेखा अहिले घर न बारकी भएकी छिन् । उनी काकाको घरमा आ श्रय लिएर धनगढीमा बस्दै आएकी छिन् । उनी भन्छिन्, ‘प्रेम सम्बन्धले जीवनमा ठूलो धोका दियो । जबरजस्ती मलाई १५ वर्षकै उमेरमा माइतीबाट उठाइयो ।’ कुरो ५ वर्षअघिको हो ।

उनी कैलालीको भजनी क्षेत्रको एक स्थानीय विद्यालयमा कक्षा १० पढ्थिन् । त्यसबेला उनको उमेर १५ वर्ष मात्र थियो । गाउँकै उनको उमेरका विजयसँग हिमचिम बढ्दै गएको थियो । केटातर्फबाट प्रेम प्रस्ताव पनि आयो र घनीभूत ढंगले जोडिएको सम्बन्धमा उनले नकार्न सकिनन् । ‘प्रेम प्रस्ताव गरेको केही दिनमै केटाबाट विवाहको प्रस्ताव आयो,’ उनले भनिन्, ‘तर मैले स्वीकारेन, उसले विवाह नगरेअर्को केटी रोज्नेजस्ता धम्कीपूर्ण दबाब दिन लाग्यो ।’

केही दिनपछि दसैं आयो । दसैंका दिन उनलाई विजयले आफ्नो घरमा लिएर गए । ‘विजयकी आमाले पनि फकाउन खोजिन्,’ रेखाले भनिन्, ‘तर मेरो विजयसँग प्रेम सम्बन्ध भए पनि अहिल्यै विवाह गर्दिनँ भनें । म पढ्छु भनें ।’ तर कुरो त्यतिकैमा अन्त्य भएन् ।

विजयकी आमाले आफ्नो छोरा प्रेममा पागल बन्दै गएकाले जबरजस्ती थुनेर राख्ने धम्की दिएकाले १ महिनाजति बाध्य भएर बस्नुपरेको बताइन् । ‘आमा र दाजु मलाई लिन पनि आएका थिए,’ उनले भनिन्, ‘त्यसबेला आमाबुबाको साथमा पनि घर फर्कन दिइएन ।’ रेखाको आमा र २ दाजुभाइ थिए । उनका बुबा सानैमा बितेका हुन् । उनकी आमाले किराना पसल थापेर घर खर्च चलाइरहेकी थिइन् ।

उनका अनुसार महिनादिन नपुग्दै विजय कामका लागि भारत गए । ‘घरको काम सबै आफैंले गर्नुपर्थ्यो,’ उनले भनिन्, ‘लाग्यो घरमा काम गर्न राखेको रहेछ ।’ यसैबीच उनको जबरजस्ती गरी बुहारी बनाएर राखेको पत्ता लागेको बालविवाहविरुद्ध कार्यरत संस्था वर्ल्ड भिजनका चेतराजभट्टराई बताउँछन् ।
उक्त घटना वडाध्यक्ष र वडा स्तरीय बाल संरक्षण समितिका प्रतिनिधिहरूको रोहबरमा जबरजस्ती बिवाह गर्न नसक्ने सम्झौता भएपछि रेखा र विजयलाई हस्ताक्षर गराइएको भट्टराई बताउँछन् । अहिले आमा र दाजुहरूले पढाइमा सघाएको उनले बताइन् । उनी कक्षा १२ मा व्यवस्थापन विषय लिएर अध्ययन गरिरहेकी छन् ।

बालविवाहमा फसेर दुःख पाउने रेखा त एक प्रतिनिधि हुन् । समाजमा जबरजस्ती बालविवाहमा परेका अन्य थुप्रै घटना रहेको भट्टराईको अनुभव छ । उमेर नपुग्दै विवाह गर्ने चलन ग्रामीण क्षेत्रमा मात्र नभई तराईका सुगम तथा सहरी क्षेत्रमा पनि व्याप्त देख्न सकिन्छ ।

स्वेच्छिक बालविवाहमा परेकी धनगढीकी निर्याता (नाम परिवर्तन) पनि अहिले पछुतोमा छिन् । उनी कक्षा ८ मा पढ्दापढ्दै आफैंले रोजेर १५ वर्षको उमेरमा प्रेम बिवाह गरिन् । ‘सानैमा बुबाले छाडेर गएपछि आफ्नो इच्छा र चाहना सहरमा बसेर पुरा गर्न सकेनँ,’ उनले भनिन्, ‘राम्रै घरको केटासँग प्रेम विवाह गर्दा भावी जिन्दगीका सपना पूरा होलान् भन्ने लागरे भागेरै विवाह गरेँ ।’

प्रकाशित : भाद्र २४, २०७६ ०९:५४
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
×