४ जिल्ला पूर्ण साक्षर घोषणाको तयारीमा

धनगढी — सुदुरपश्चिम प्रदेशका ४ जिल्ला यसै वर्ष साक्षर घोषणा हुने भएका छन् । सामाजिक विकास मन्त्रालयकाअनुसार कैलालीसहित कञ्चनपुर, डोटी र अछाम पनि साक्षर घोषणा हुने अन्तिम चरणमा छन् ।

मन्त्रालयका उपसचिव झंकरबहादुर विष्टले कैलालीले पूर्ण साक्षर घोषणा हुन आवश्यक पर्ने मापदण्ड पूरा गरिसकेकोले छिटै घोषणा हुने बताए ।


‘पूर्ण साक्षर घोषणा गर्न ९५ प्रतिशत साक्षर हुनु पर्छ,’ उपसचिव विष्टले भने ‘यसै वर्ष कञ्चनपुर, डोटी र अछाम पनि साक्षर घोषणा हुने तयारीमा छन् ।’ अक्षरको महत्व मानव जीवनमा निकै महत्त्वपूर्ण रहेकोले प्रदेशका सबै जनता साक्षर हुन जरुरी रहेको उनको भनाइ छ । पहाडी जिल्लामा वडा स्तरबाटै साक्षर घोषणा हुने काम भइरहेको उनले बताए । ‘अछाममा विभिन्न वडास्तरबाट साक्षर घोषणा भइरहेका छन् । ९५ प्रतिशतको मापदण्ड पुग्ने वित्तिकै जिल्ला पनि साक्षर घोषणा हुनेछ’ विष्टले भने ।


मन्त्रालयले कैलालीलाई यसै वर्ष साक्षर घोषणा गर्ने तयारी रहेको बताएपनि शिक्षा विकास तथा समन्वय इकाई कैलालीका नासु प्रयागराज जोशी भने जिल्लामा कतिजना निरक्षर र साक्षर छन् भन्ने तथ्यांक नभएको बताए ।


उनले केही वर्ष अघिसम्म साक्षर नेपाल अभियान सञ्चालन गरेको बताए । सरकारले अशिक्षिहरूका लागि प्रौढ शिक्षालगायतका कार्यक्रमहरू सञ्चालन गरेका बेला कार्यालयसँग तथ्यांक रहने गरेको भए पनि हाल कुनै तथ्यांक नरहेको उनले बताए ।

प्रकाशित : भाद्र २४, २०७६ ०९:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनबारे संसदीय छानबिन समिति गठन गर्ने/नगर्ने विवादले प्रतिनिधि सभा फेरि अवरुद्ध भएको छ । संसद् चलाउन के गर्नुपर्ला ?