डेढ महिनामा ६८२ चालक कारवाहीमा

रासस

डडेल्धुरा — जिल्ला ट्राफिक प्रहरी कार्यालय डडेल्धुराले चालू आर्थिक वर्षको डेढ महीनाको अवधिमा ६८२ सवारीसाधनका चालकलाई कारवाही गरेको छ । आव २०७६/०७७ को साउन र भदौको १५ गतेसम्मको अवधिमा बस, ट्रक, जीप/कार, ट्र्याक्टर र मोटरसाइकल गरी ६८२ कारवाहीमा परेका हुन् । 

ट्राफिक नियम विपरीत सवारीसाधन चालाउने चालकलाई कारवाही गरी रु चार लाख ११ हजार राजश्व सङ्कलन गरिएको जिल्ला ट्राफिक कार्यालयले जनाएको छ । साउनमा ४०० सवारीसाधनबाट रु दुई लाख ३५ हजार ५००, भदौको १५ गतेसम्म २८२ सवारीबाट रु एक लाख ७५ हजार ५०० राजश्व सङ्कलन गरिएको ट्राफिक कार्यालय प्रमुख तथा प्रहरी नायब निरीक्षक देवबहादुर खत्रीले बताए।
गत आवभन्दा राजश्व सङ्कलनमा वृद्धि भएको उनले बताए । गत वर्षको तुलनामा यो आवमा डेढ महीनाको अवधिमा४ लाखसम्म बढी राजश्व संकलन भएको खत्रीले बताए । पछिल्लो समय सुदूरपश्चिममा सवारी दुर्घटना हुने क्रम बढिरहेका छन् । चालकको लापरवाहीले दुर्घटना बढेका उनको भनाइ छ ।

सिट क्षमताभन्दा बढी यात्रु राख्ने सवारी बढी कारवाहीमा परेका जनाइएको छ । नियम विपरीत चलाइएका सवारीलाई घटनाको प्रकृति हेरेर ५०० देखि एक हजारसम्म जरिवाना गर्ने गरिएको ट्राफिक प्रहरीले जनाएको छ । साउन र भदौमा दुर्घटनामा परी दुई जनाको मृत्यु भएको खत्रीले जानकारी दिए।

प्रकाशित : भाद्र २४, २०७६ ०९:२७
प्रतिक्रिया
पठाउनुहोस्

सहकर्मी कुटेको आरोपमा वडा अध्यक्ष पक्राउ

रासस

ओखलढु‌ंगा — आफ्नै सहकर्मी कुटेको आरोपमा वडा अध्यक्ष पक्राउ परेका छन् । छिमेकी वडाका वडा अध्यक्षलाई कुटपिट गरेको आरोपमा प्रहरीले चम्पादेवी गाउँपालिका–८ का वडाध्यक्ष अजय लुइँटेललाई पक्राउ गरेको हो । 

प्रतिकात्मक तस्बिर ।

लुइँटेलले असार ३० गते चम्पादेवी गाउँपालिकाको कार्यालय ताप्केडाँडामा सोही गाउँपालिका–७ का वडाध्यक्ष सुरेश थापालाई कुटपिट गरेका थिए।

मादक पदार्थ सेवन गरी लुइँटेलले आफूलाई कुटपिट गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए। लुइँटेललाई आइबार साँझ सदरमुकामबाट पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक पुष्पराज मल्लले जानकारी दिए।

आफूलाई पटक–पटक धम्की आएको र पछिल्लो पटक ०७६ असार ३० गते आफूमाथि कार्यालयमै आक्रमण भएपछि बाध्य भएर सहकर्मीविरुद्ध उजुरी गरेको पीडित थापाले बताए। गाउँपालिकामा कर्मचारी र अन्य जनप्रतिनिधिले असुरक्षा महसुस गरेकाले सुरक्षाका लागि कानूनी उपचार खोजेको उनको भनाइ छ।

प्रकाशित : भाद्र २३, २०७६ १२:१०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्