कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रगत अभावले जोखिममा बिरामी

वसन्तप्रताप सिंह

बझाङ — सुत्केरी व्यथा लागेकी खप्तडछान्नाकी गीता रोकायाको बिहीबार बिहान अत्याधिक रक्तस्राव हुन थाल्यो । खप्तडछान्नाका पनि दुर्गम गडरायमा बस्ने उनको अवस्थामा सुधार नआएपछि आफन्तले जिल्ला अस्पताल चैनपुर पुर्‍याए । साँझ ५ बजे मात्र चैनपुर पुगेकी उनको अवस्था जटिल भइसकेको थियो ।

रगत अभावले जोखिममा बिरामी

अस्पताल ल्याएको केही बेरमा चिकित्सकले उनको शरीरमा रगतको मात्रा ज्यादै कम भएकाले तुरुन्त बी पोजेटिभ समूहको रगत ल्याउन आफन्तलाई अह्राए । आत्तिएका आफन्तले रगतका लागि सबै तिर हारगुहार गरे । रक्तदाता कोही भेटिएनन् । जिल्लामा रगत नपाईएपछि उनलाई हेलिकप्टरबाट धनगढी लैजान चिकित्सक र आफन्तले प्रयास गरे त्यो पनि सफल भएन । अन्ततः निराश आफन्तले गाडीबाटै उनलाई धनगढी लैजानुपर्‍यो । यती गर्दा राती ८ बजिसकेको थियो ।


११ घण्टा गाडीको यात्रा गरेर धनगढी पुग्दासम्म धन्न केही भएन । धनगढीको माया मेट्रो अस्पतालमा शल्यक्रियापछि उनी जोखिम मुक्त छिन् । ‘हामीले ९५ प्रतिशत आशा मारिसकेका थियौं,’ उनको उपचारमा संलग्न जिल्ला अस्पताल बझाङका डाक्टर मिलन रावलले भने, ‘रगतको मात्रा निकै कम भएकाले आशा गर्ने ठाउँ थोरै मात्र थियो । धन्न केही भएन छ ।’


यस्तै गत साउन ५ गते मात्रै जयपृथ्वी नगरपालिका ११, डाँडागाउँकी २१ बर्षिया गीता जोशीको जिल्ला अस्पतालमै सुत्केरी भए पछि साल अडकियो । रक्तस्राव रोकिएन । आवश्यक रगत खोज्दा–खोज्दा निरास भएका उनका पति गजेन्द्र जोशी प्रहरीको शरणमा परे । अस्पतालको सुरक्षामा खटिएका प्रहरी हवल्दार महेन्द्रबहादुर बमले रगत दिएपछि उनको ज्यान बच्यो । ‘रगत पाउन केही घण्टा मात्र ढिला भइदिएको भए उनको ज्यान जाने थियो,’ जोशीले भने ।


गत वैशाखमा पनि यस्तै अर्को घटना भयो । तल्कोट गाउँपालिका ७ की १८ बर्षिया पुजा विष्ट स्थानीय स्वास्थ्य चौकीमा सुत्केरी भइन । तर साल अडीयो । रक्तस्राव रोकिएन । उनलाई जिल्ला अस्पतालसम्म पुर्‍याउदा रगत धेरै बगिसकेको थियो । सामान्य मानिसको रगतमा १२ देखी १८ ग्राम प्रतिशत हेमोग्लोबिन हुन्छ । विष्टको रगतमा यसको मात्रा घटेर ४ ग्राम प्रतिशत पुगिसकेको थियो । बिरामीका ससुरा गोर्या विष्टलाई रगत खोज्न लगाइयो ।


गाउँबाट आएका उनले आफन्त, सबै चिनजानका मानिससँग बुहारीको ज्यान बचाई दिन आग्रह गरे । तर रगत दिने मान्छे नै भेटिएन । जिल्ला अस्पतालका प्रमुख सन्दीप ओखेडाले नेपाली सेनाको संग्राम सार्दुल गुल्म तत्कालिन सेनानी केदार लामिछानेलाई समस्याबारे जानकारी गराए । लामिछानेको पहलमा आवश्यक ओ पोजेटिभ रक्त समुहका ज्ञानबहादुर तामाङ, भुवनसिंह घर्तिमगर र सागर जप्रेलले रगत दिएपछि उनको ज्यान बच्यो ।


रगत नपाएर बिरामीको ज्यान जोखिममा परेको र आफन्तले तनाव र त्रास भोग्नुपरेको यि प्रतिनिधि घटना हुन् । जिल्लाको एक मात्र सुविधा सम्पन्न सिमखेत अस्पतालमा ब्लड बैंक नहुँदा यस्ता घटना नियमित जस्तै हुन्छन् । ‘ब्लड गुप्र मिलेसम्म सेना, प्रहरी र अस्पतालकै कर्मचारीहरूले पनि रगत दिएर बचाउने गरेका छौं,’ जिल्ला अस्पतालका कर्मचारी नारायणप्रसाद जोशीले भने, ‘रगत नभेटिएपछि जिल्लाबाहिर रिफर गर्ने हो । कोही समयमै सुविधा भएको अस्पताल पुग्छन् र बाँच्छन् । नपुग्नेहरू बाटैमा मर्छन् ।’ उनले आफूले मात्रै रगत अभाव भएका ८ जनालाई रगत दिएर बचाएको सुनाए ।


सेनाले मात्रै २०७३ देखि ०७६ को साउन सम्ममा यस्ता खालका ३२ बिरामीलाई रगत दिएर बचाइसकेको संग्राम सार्दुल गुल्मको तथ्यांकमा छ । यस्तै जिल्ला अस्पतालका कर्मचारीले मात्र १ वर्षको अवधीमा ३० जनालाई रगत दिएर बचाएका छन । यसरी बिरामी अन्तिम अवस्थामा पुगे पछि रगतको खोजी गर्नु पर्ने अवस्था आउनु जोखिमपुर्ण रहेको अस्पताल प्रमुख ओखेडा बताउँछन । एक पोका रगत खोज्न दिनभर लाग्ने र कहिले काँही भेटिदै नभेटिने गरेको उनले सुनाए ।


अन्य अस्पतालमा अप्रेसन गर्नुपूर्व नै रगत तयारी अवस्थामा राख्ने गरिए पनि जिल्ला अस्पतालमा हुने अप्रेसनपछि जोखिम उत्पन्न भए मात्र रगतको खोजी हुने गरेको बताए ।


‘सबैजसो अप्रेशन जोखिमपूर्ण तरिकाले नै गर्नुपर्ने बाध्यता छ,’ उनले भने, ‘अलि ठूलो महामारी भयो । दुर्घटना भयो भने बिरामीहरू रगतकै अभावले मर्ने अवस्था छ ।’ केही समयअघि एकैजना बिरामीलाई ११ पोका रगत दिएको स्मरण गर्दै उनले भने, ‘बाँच्ने सम्भावना भएका बिरामीहरू पनि रगत अभावकै कारण ज्यान गुमाउने अवस्था छ ।’


उनले जिल्ला अस्पतालमा दिन प्रतिदिन यस्ता खालका बिरामीको चाप बढ्न थालेकाले तल्काल ब्लड बैंक सञ्चालन आवश्यक रहेको बताए । उनले ब्लड बैंक स्थापनाका लागि आफूले प्रस्ताव तयार गरिरहेको बताउदै यस विषयमा निकट भविष्यमै पहल थालिने जानकारी दिए ।

प्रकाशित : भाद्र ९, २०७६ ०९:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?