कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भैंसीपालनमा सुधारको खोजी

भवानी भट्ट

कञ्चनपुर — भैंसी ब्याउने उपयुक्त समय कुन हो ? ठ्याक्कै भन्न सजिलो छैन । उपयुक्त समय जुनसुकै भए पनि नेपालमा ७० देखि ८० प्रतिशत भैंसी जेठ, असारदेखि असोजसम्म ब्याउने गरेको पाइन्छ ।

विज्ञहरूका अनुसार घाँसको उपलब्धता र वातावरणीय अनुकूलताका कारण यही समयमा बढी भैंसी ब्याउने गरेका हुन् ।


भैंसी बाली लाग्न प्रजनन अंगको सक्रियता अनिवार्य हुन्छ । उक्त सक्रियताका लागि पौष्टिक आहाराको पर्यााप्तता, उपयुक्त मौसम, पशु तनावमुक्त र वातावरणीय अनुकूलता हुनुपर्छ । सामान्यतया यो अनुकूलता साउनदेखि मंसिरसम्म पाइने विज्ञहरू बताउँछन् । सुदूरपश्चिममा पनि प्रायजसो भैंसीहरू एकै समयमा ब्याउने गरेका कारण सुख्खा याममा दूधको अभाव हुने गरेको छ ।


जुनसुकै मौसममा पनि भैंसी ब्याउने बनाउन सके दूधको सिजनल अभाव कम गर्न सकिने पशु सेवाका प्राविधिकहरू बताउँछन् । ‘हामीकहाँं धेरैजसो भैंसी साउन र भदौमा ब्याउने गर्छन्,’ पशुपक्षी तथा मत्स्य विकास निर्देशनालय सुदूरपश्चिमका निर्देशका डा. मदनसिंह धामीले भने ।


यो समस्या सुदूरपश्चिममा मात्र होइन देशभरि नै देखिन्छ । ‘विभिन्न किसिमका तनाव र पौष्टिक आहाराको कमीले पशुहरूमा प्रजनन अंगको सक्रियता कम हुन्छ,’ कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर चितवनका प्राध्यापक डा. भूमिनन्दन देवकोटाले भने, ‘साउनदेखि मंसिरसम्म मौसम परिवर्तनसंँगै हरियो घांँसपातको पर्याप्तता हुने हुँंदा खानेकुरा र मौसमका कारण हुने तनाव कम हुन्छ, तनाव कम भएपछि प्रजनन अंगहरू सक्रिय भई बाली लाग्ने प्रक्रिया हुन्छ ।’ बाली लागेको १० महिनामा भैंसी ब्याउँछ ।


धेरैजसो भैंसी असोज/कात्तिकमा बाली लाग्ने गर्छन् । राम्रो मौसम र खानेकुरा पर्याप्त हुने भएकाले भैंसीलाई कुनै पनि किसिमको तनाव हुँदैन । तनावरहित अवस्थामा प्रजनन अंगको सक्रियता बढेर बाली लाग्ने गरेको डा. देवकोटा बताउँछन् ।


‘पशुहरूमा तनाव कम गर्नुका साथै पौष्टिक आहारा बढाउने र निष्क्रिय रहेका प्रजनन अंगलाई सक्रिय बनाउन सके साउनदेखि मंसिरबाहेकको समयमा पनि बाली लाग्ने बनाउन सकिन्छ,’ देवकोटाले भने, ‘प्रजनन अंग अन्य समयमा पनि सक्रिय बनाउन विशेष किसिमको हर्मोन प्रविधि पनि प्रयोग गर्न सकिन्छ ।’


उनले १० वर्षअघि अनुसन्धान गरेको उक्त प्रविधि अहिले केही भैंसी फार्ममा प्रयोग भइरहेको छ । पोखराको पशु विकास फार्म र कृषि अनुसन्धान परिषद् सुनसरीको तरहरामा रहेमा राष्ट्रिय भैंसी अनुसन्धान फार्ममा समेत उक्त प्रविधि प्रयोग भएको उनले बताए । विशेष किसिमको हर्मोन प्रविधिबाट अहिले ५० प्रतिशत थारा भैंसीहरूसमेत बाली लागेको उनले बताए ।


हर्मोन प्रविधि प्रयोग गरेर गाई र भैंसीलाई बाह्रै महिना बाली लाग्ने बनाउन सकिने र यसबाट पशुपालनमा व्यवसायिकतासंँगै सुख्खा याममा भइरहेको दूधको अभावलाई समेत कम गर्न सकिने देवकोटा बताउँछन् । अहिले सुदूरपश्चिममा पनि सुख्खा याममा दूधको अभाव हुने र हिउंँदतिर किसानले बजार नै नपाउने समस्या छ । दुग्ध विकास संस्थानले हिउँदको तुलनामा अहिले आधा पनि दूध संकलन गर्न पाएको छैन ।


सुदूरपश्चिममा उक्त प्रविधि तत्काल लागु गर्न सकिने अवस्था नरहेको निर्देशक डा. धामीले बताए । त्यसका लागि भैंसी फार्महरू आवश्यक पर्ने भए पनि सुदूरपश्चिममा फार्महरूको विकास भइनसकेको उनले बताए । ‘विशेष हर्मोन प्रविधिबाट जुनसुकै बेला पनि भैंसी बाली लाग्ने बनाउन सकिन्छ, तर यो फार्महरूमा मात्रै प्रभावकारी देखिएको छ’ उनले भने, ‘किसानको घरघरै पुगेर यो प्रविधि प्रयोग गर्न सहज छैन ।’


सुदूरपश्चिममा अहिले सीमित भैंसी फार्महरू मात्रै छन् । यस वर्ष भैंसी फार्मको विकासमा विशेष रुपमा जोड दिने लक्ष्य राखिएको डा. धामीले बताए । उनले प्रदेश सरकारले पनि भैंसी फार्मका लागि ठूलो वजेट छुट्याएको बताए । उनले अहिले प्रदेशमा भएको फार्महरूको अभिलेख राख्ने काम भईरहेको जानकारी दिए ।

प्रकाशित : भाद्र ८, २०७६ ०८:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?