वन फँडानीमा कमिसनको खेल

डीआर पन्त

डडेलधुरा — आइतबार डडेलधुराको भात्काँडाबाट सल्लाको काठ मिलाइदिन लिएको घूसको ३ लाख २६ हजार रकमसहित गत साता बीपीनगर वन सबडिभिजनका प्रमुख सुरेशचन्द्र डीसीलाई अख्तियार टोलीले पक्राउ गर्‍यो । आफू प्रमुख रहेको सबडिभिजनअन्तर्गत ५६ हजार क्युफिट काठ काट्न कटानी उनले आदेश लिएका थिए ।

काठ काट्न सुरु नहुँदै उनी सरुवा भए । कटानी आदेश भएको काठमा आउने कमिसनका विषयमा विवाद हुँदा वन भित्रैबाट सूचना पाएपछि अख्तियारले डीसीलाई घूसबापत लिएको रकमसहित पक्राउ गरेको थियो ।

कुनै समय जिल्लाको कुल क्षेत्रफलको ७५ प्रतिशत जंगल क्षेत्र रहेको डडेलधुरामा पछिल्लो दशकमा सामुदायिक, राष्ट्रिय र आवादीका वनमा ५० लाख क्युफिट काठ काटिएको तथ्यांक वन विभागसंँग छ । बहुचर्चित चुरे फँडानी प्रकरणमा एकै वर्षमा ८ लाख ९० हजार क्युफिट काठ काटिएको थियो । ७५ प्रतिशत जंगल क्षेत्र रहेको डडेलधुरामा २०६७ यता मात्र यति धेरै वन फँडानी भएको हो ।

डोटी र डडेलधुरामा मात्र होइन, पछिल्ला दुई दशकमा ढलापडा, सुक्खा र हैसियत बिग्रेका रुख काट्न पाउने कानुनी प्रावाधानलाई टेकेर कमिसनका लागि सुदूरपश्चिमका अधिकांश जंगल फँडानी भएका छन् । ‘वन विभागको तल्लो इकाइदेखि मन्त्रालयसम्म पुग्ने कमिसनका कारण सुदूरका वनजंगल काटिएका हुन्,’ वन विभागका पूर्वअधिकृत धर्म चन्दले भने, ‘२०५२ सालदेखि तराईका कैलाली र कञ्चनपुरमा वन फँडानी सुरु भयो भने सुदूरका पहाडी जिल्लामा ०५७ पछि मात्र फँडानी सुरु भएको हो ।’ कैलाली कञ्चनपुरमा सालका घना जंगल काटिएपछि पहाडी जिल्लामा फँडानी सुरु भएको उनले बताए ।

काठ काट्ने निर्णय गर्ने उपभोक्ता समिति, वनमा नापजांँच गर्ने वन सबडिभिजन, कटानी आदेश र छुटपुर्जी दिने वन डिभिजन तीनवटै निकायका अधिकारीको प्रतिक्युफिटमा तोकिएको निश्चित कमिसन रकम तय भएपछि मात्र वनबाट काठ निकाल्ने प्रक्रिया सुरु हुन्छ । डडेलधुरा वन डिभिजन कार्यालयका एक कर्मचारी भन्छन् ‘प्रतिक्युफिट काठमा ४० देखि ८० रुपैयाँसम्म कमिसन तोकिन्छ ।

तोकिएको कमिसनमध्ये आधा एकमुष्ठ जिल्ला वन प्रमुखलाई जान्छ भने बाँकी अरू कर्मचारीको हिस्सामा पर्ने गरेको छ ।’ जिल्ला वन प्रमुखलाई जाने रकममा आधा क्षेत्र र केन्द्रका अधिकारीलाई पुग्ने उनले बताए । ‘वनको काम गर्ने ठेकेदारहरूले खरिद गर्ने काठको परिमाणअनुसार तोकिएको कमिसन हरेक वन कार्यालयमा रहेका विकास फाँंटमा एकमुष्ठ बुझाउने गर्छन्,’ उनी भन्छन्, ‘उपभोक्ता समितिका पदाधिकारीलाई ठेकेदारले बेग्लै कमिसन दिने गरेका छन् । वनकर्मी र उपभोक्ता समितिबाहेक अन्यलाई जाने रकम पनि ठेकेदारले नै तिर्नुपर्छ ।’

गत आइतबार अख्तियारले पक्राउ गरेका सहायक वन अधिकृत डीसीले आफ्नो प्रयासले कटानी आदेश लिएको काठको आफ्नो भागमा पर्ने कमिसन पाउनुपर्ने भन्दै सरुवा भएको एक महिनासम्म उनी डोटीमै थिए । वन डिभिजन डोटीका एक कर्मचारीका अनुसार प्रतिक्युफिट ८० रुपैयाँ तय भएको ५६ हजार क्युफिट काठको रकम लिनेदिने विषयमा कुरा नमिल्दा अख्तियारलाई सूचना पुगेको थियो ।

यसरी कमिसनका लागि हरेक वर्ष २ लाख क्युफिट काठ नकाट्ने सुदूरको कुनै जिल्ला बाँंकी छैन । डडेलधुरा, डोटी र बैतडीजस्ता सल्लाका घना जंगल भएका जिल्लामा पछिल्ला वर्षमा दिइएका कटानी आदेश हेर्ने हो भने कुन गतिमा वन फँडानी भइरहेको छ भन्ने सहज अनुमान लगाउन सकिन्छ ।

‘यही गतिले फँडानी जारी रहने हो भने अबको ५ वर्षमा महाभारत क्षेत्रका सल्लाका जंगल समाप्त हुन्छन्,’ १० वर्षदेखि संरक्षणका क्षेत्रमा कार्यरत महाभारत संरक्षण अभियानका संयोजक जयराज पनेरुले भने, ‘चुरेमा जारी निरन्तर फँडानीले तराई संकटमा छ भने महाभारतमा भइरहेको फँडानीले मध्यपहाड संकट पर्न थालेको छ ।’ सामुदायिक वन हस्तान्तरण सुरु भएपछि उपभोक्ताका नाममा यति ठूलो मात्रामा फँडानी भयो कि दुई दशकभित्रै देशमा सबैभन्दा ठूलो जंगल भएको सुदूरका अधिकांश क्षेत्र मैदानमा परिणत भइसकेको उनले बताए ।

तराईका कैलाली र कञ्चनपुरमा २०५२ देखि २०५८ सम्म जुन गतिमा वन फँडानी भयो, त्योभन्दा दोब्बर बढी पछिल्लो दशकमा पहाडी जिल्लामा वन फँडानी भएको तथ्यांकले देखाउँछ । ७ हेक्टर क्षेत्रफल भएको सामुदायिक वनमा ३/३ वर्षमा डेढ हजारदेखि ८ हजार क्युफिटसम्म कटानी आदेश भएका सयौं उदाहरण पहाडी जिल्लाका वन कार्यालयमा पाउन सकिन्छ । एकपटक काठ निकासी गरेपछि तीन वर्षसम्म काठ निकाल्न नपाउने कानुनी प्रावधानलाइ छल्न सामुदायिक वन विभाजन गरेर समेत फँडानी गरिएको दर्जनौं उदाहरण डडेलधुरामै पाउन सकिन्छ ।

यसबाहेक पछिल्लो समय आवादीका नाममा राष्ट्रिय र सामुदायिक वनमा समेत फँडानी सुरु भएको छ । आवादीसँग जोडिएका र सामुदायिक वनसँग जोडिएका राष्ट्रिय वनमा हुने फँडानी पनि सुनियोजित रूपमा भइरहेको पाइन्छ ।

प्रकाशित : भाद्र १, २०७६ १०:०५
प्रतिक्रिया
पठाउनुहोस्

बूढीगंगामा भासियो सडक

जिपलगायत साना सवारी जोखिम मोल्दै चले पनि ठूला गाडीको आवागमन ठप्प
अर्जुन शाह, संगीता तिमिल्सेना 

बाजुरा — साँफे–मार्तडी सडकखण्डअन्तर्गत बाजुराको अम्कोट क्षेत्रमा सडक भासिएपछि एक सातादेखि यातायात आवागमन अवरुद्ध छ । बुढिगंगा नदीबाट सुरु भएको पहिरोमा करिब ५ सय मिटर माथि पुगेपछि सडक भासिएको हो ।

साँफे–मार्तडी सडकखण्डअन्तर्गत बाजुराको अम्कोट क्षेत्रमा बूढीगंगा नदीमा भासिएको सडक ।तस्बिर : अर्जुन/कान्तिपुर

अम्कोटबाट सदरमुकाम मार्तडी पुग्न झण्डै १४ किमी दुरी छ । पारि कैलाशमाडौंको पैमा क्षेत्रमा गएको पहिरोले बुढिगंगा नदीलाई वारि सडक खण्डतर्फ धकेलेपछि सडक भासिएको हो । बढीमा २ मिटर मात्र बाँकी रहेको सडक पनि चिराचिरा परेको छ । शनिबारसम्म जीप र मोटरसाइकल जोखिम मोलेर वारपार गरिरहेका भएपनि अलि बढी वर्षा हुनेबित्तिकै पुरै सडक बग्ने अवस्था रहेको जीप ब्यवसायी सुभास चौधरीले बताए ।

बस र अन्य ठुला सवारीसाधनहरू वारपार हुन नसक्ने अवस्था भएपछि बल्देमै रोकिएका छन् । त्यहाँदेखि सदरमुकाम पुग्न यात्रीहरूलाई जिपहरूले सघाइरहेका छन् । ‘सदरमुकामसम्मको बस यातायात अवरुद्ध भएकाले सारै सास्ती भएको छ,’ मार्तडीका लालबहादुर बिकले भने, ‘केही दिनमै पुरै सडक भासिएर बुढीगंगामा मिसिने निश्चित जस्तै छ ।’

त्यस ठाउँमा अल्पकालिन भएपनि अन्य वैकल्पिक मार्ग खोल्न पनि सहज छैन । सडकको भित्तापट्टि जति बिस्तार गरेपनि पहिरोले भेटाउने सम्भावना रहेकाले अप्ठेरो परिरहेको बडिमालिकाका नगरप्रमुख पदम बडुवाल बताउँछन् । ‘अलि माथितिर एउटा घर र खेतीयोग्य भिरालो जग्गा छ,’ उनले भने ‘आपतकालिन रुपमा त्यही ठाउँबाट अल्पकालिन ट्रयाक खोल्ने विषयमा छलफल सुरु गरेका छौं ।’

वर्षायाममा जहिल्यै साँफे–मार्तडी सडक पहिरोको चपेटामा परेर बिग्रने भत्कने गरेको छ । सदरमुकामसम्म सञ्चालन हुने ठुला सवारी तथा ढुवानीका साधनहरू जहिल्यै ठप्प हुने गरेका ब्यवसायी प्रकाश थापा बताउँछन् । ‘बर्खामा सधै दुख पाइन्छ,’ उनले भने ‘अहिलेकै रुटमा साँफे–मार्तडी सडक स्थायी हुने देखिएन ।’

वर्षायाममा साँफे–मार्तडी सडक खण्डमा यातायातका साधन मात्रै ठप्प हुदैनन् । पैदल यात्रापनि उत्तिकै जोखिम हुने गरेको छ । जताततै माथिबाट पहिरो खसेको खस्यै हुन्छ । बल्देदेखि मार्तडीसम्मको खण्डमा अत्यधिक जोखिम छ । ‘माथिबाट पहिरो खसेको खस्यै हुन्छ,’ कोल्टीका हर्क रोकायाले भने, ‘पैदल हिड्न पनि उस्तै जोखिम हुन्छ ।’ द्वारीमा सडक भासिएकाले मार्तडीतर्फ रहेका ठुला सवारी तथा ढुवानीका साधनहरू उतै थन्किएका छन् ।

तत्काल अर्को ट्रयाक खोल्ने तयारीसमेत पुरा नभएकाले आफूहरू मर्कामा परेको सवारी तथा ढुवानी व्यवसायीहरूले बताएका छन् । दुई वर्षअघि पीच भएको यो सडक खण्ड हाल तहसनहसको अवस्थामा छ । बार्जुगाढदेखि मार्तडीदेखिको २७ किमी खण्डमा दर्जनौ ठाउँमा पहिरो खसेको तलबाट बुढीगंगा नदीले च्यापेको छ । माथिबाट सुख्खा पहिरो खसेको खस्यै छ ।

अम्कोट क्षेत्रमा अत्यधिक जोखिम छ । पैमाको पहिरोले बुढिगंगा नदीको बहाव नै साँघुरो भएको छ । चिराचिरा परिसकेको पैमाको डाँडामा जुनसुकै बेला ठूलो पहिरो खस्न सक्ने सम्भावना छ । त्यस अवस्थामा बुढिगंगा नदी थुनिएर ठूलो विपत्ति आउन सक्ने जोखिम रहेको नगरप्रमुख बडुवाल बताउँछन् । अहिल्यै पनि बाह्रैमास खसिरहेको पहिरोले नदी थुनिएर ताल झण्डै एक किमी माथिसम्म ताल परेको छ । झोलुंगे पुल बगाइसकेको छ ।

साँफे–मार्तडी सडक निर्माणमा संलग्न इन्जिनियर पुष्प भट्टका अनुसार अम्कोट क्षेत्रमा सडक स्थायी हुने अवस्था देखिएको छैन । ‘माथि रोक्यो तल खस्छ, तलबाट उठायो माथिबाट पहिरोले ढाक्छ,’ उनले भने, ‘रुट बदल्नुको विकल्प छैन ।’ अर्को ठाउँबाट सडक लैजानुपर्ने बाध्यात्मक अवस्थामा बेतालमाडौंदेखि–बानेगाउँ–डेल्टा हुँदै जुगाडबाट मार्तडी पुर्‍याउनु उत्तम विकल्प हुने उनले बताए ।
साँफेदेखि मार्तडीसम्म ५७ किमी छ ।

यो दुरीको बाजुरा मुल सडक बार्जुगाडसम्मको ३१ किमी राम्रै भएपनि त्यस अगाडि स्थायी रुपमा सडक सञ्चालन हुन सक्ने अवस्था नरहेको प्राविधिकहरूले बताउदै आएका छन् । ०५१ सालमा साँफेमा शिलान्यास भएको यो सडकमा ०७३ मा बाजुरा सदरमुकाम मार्तडीमा बस पुगेको थियो ।

प्रकाशित : भाद्र १, २०७६ १०:०४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्