कोसेली बाँड्दै ओल्के पर्व

कान्तिपुर संवाददाता

डोटी — सुदूरपश्चिमका पहाडी जिल्लामा ओल्के पर्वको चहलपहल सुरु भएको छ । साउनको अन्तिम र भदौको पहिलो दिन विशेष महत्त्वसाथ यो पर्व मनाइने परम्परा छ । 

ओल्के मनाउन दिपायल आएका बादी दम्पती ।फाइल तस्बिर : कान्तिपुर

पिँडालुका पात, काँक्रा, भन्टा, मुला, दही र हरियो सागपात आफन्तजनलाई बाँडेर यो पर्व मनाइन्छ । साउन मसान्तसँगै पर्वको रमझम सुरु हुने गरेको छ । साउने झरी थामिएलगत्तै दैवी प्रकोपबाट बाँचिएको खुसियाली भन्दै ओल्के अर्थात कोसेली दिने चलन छ ।

आफूभन्दा ठूला मान्यजन वा अग्रजलाई सम्मानस्वरूप कर्कलाको भित्री पात, फलफूल आदि दिनु, मीठो–मसिनो खानु, हातमा मेहेन्दी लगाउनु यो पर्वको विशेषता रहेको स्थानीय बताउँछन् । ‘वर्षामा काम गर्दा काँडा गडेको र ठेस लागेको ठाउँमा ढुंगामाटो निकाल्न सजिलो होस् भनेर कसैले उपहारमा चिम्टा पनि दिने चलन छ,’ दिपायल सिलगढी–१ का विजय खडकाले भने, ‘कतिपयले अब चाडपर्व सुरु भएकाले आवश्यक दुना–टपरी लगाउन चाहिने सिन्का पनि दिन्छन् ।’

कृषि पेसामा आश्रित जनजीवन भएकाले पर्वले किसानलाई आआफ्नो दैनिकीमा सघाउने उनले बताए । वर्षायाममा दादुरा, झाडापखाला, हैजा, लुतो र कुष्ठरोग आदि फैलिने समस्या हुन्छ । उपचार सहज भएपछि रोगको संक्रमण दर घटेको छ तर समाजमा त्यस्ता रोगव्याधिबाट जोगिएको उपलक्ष्यमा ओल्केपर्व धुमधामसँग मनाउने चलन रहेको केआईसिंह गाउँपालिका–४ चन्केसैनका खगेन्द्रप्रसाद भट्ट बताउँछन् ।

कतिपय स्थानमा भने अहिले पनि गाउँ नजिकको चौबाटामा गई सल्लाको लिंगोसमेत गाड्ने चलन छ भने कतै कतै डाँडामा धेरैजना भेला भएर रूखका हाँगाबिंगा, झ्याङ तथा अन्य बोटबिरुवा काटेर थुप्रो लगाउने गरिन्छ । आफन्त र घरपरिवारसँग ओल्के पर्व मनाउन टाढा टाढाबाट घर आउने चलन पनि छ । यतिबेला ओल्के पर्व मनाउन कामको खोजीमा भारत गएकाहरू धमाधम घर आइरहेका छन् । सुदूरपश्चिमका पहाडी जिल्लामा ओल्के पर्वका बेला पिङ खेल्ने र डेउडा खेलेर रमाइलो गर्ने चलन पनि छ ।

यद्यपि पछिल्लो समय ओल्केको रौनक खस्कँदै गएको दिपायल सिलगढी–४ राजपुरकी कल्पना शाह बताउँछिन् । ‘बुढापाकाले श्रद्धासाथ ओल्के दिने चलन थियो,’ उनले भनिन्, ‘अहिले युवा पुस्तामा त्यस्तो आकर्षण छैन । बुढापाका नभएको घरबाट प्रायः ओल्के दिने चलन हराएको छ ।’

प्रकाशित : भाद्र १, २०७६ १०:०३
प्रतिक्रिया
पठाउनुहोस्

छुद्दरी टोल उच्च जोखिममा

कान्तिपुर संवाददाता

बाजुरा — स्वामीकार्तिक गाउँपालिका–२ को छुद्दरी टोल जिल्लाकै सबैभन्दा जोखिममा रहेको ठहर जिल्ला विपद व्यवस्थापन समितिले गरेको छ । उक्त बस्तीमा बाढी पस्दा २७ गाई र १२ गोरु बगाएर मरेका थिए । 

स्वामीकार्तिक–१ को रुडी, मुक्तिकोट, भामखोला, वडा २ को पुडेनी, छुद्दरी, वडा ३ को गोब्रेपाटा, बाबिया र छान्ना टोल पनि बाढीपहिरो र खडेरीको उच्च जोखिममा निष्कर्ष समितिको छ ।

गत बुधबार साँझको मुसलधारे वर्षाले आएको बाढीमा परी छुद्दरी टोलको मेलामा चराउन लगिएका ३९ गाईगोरु एकैसाथ बगेका थिए । २० पशुचौपाया बग्दाबग्दै उद्धार गरिएको थियो । ‘यति धेरै चौपाया एकचोटि बगाउने ठाउँ कत्तिको जोखिममा छ भन्ने कुरा कसैबाट लुकेको छैन,’ स्थानीय मनबहादुर रोकायाले भने, ‘हामीलाई जोखिमको बस्ती भन्नुभन्दा पनि त्यस्ताबेला उद्धार छिटो गर्न सकिने उपाय लाइदिए हुने हो ।’

स्वामीकार्तिकका बर्कु, छुद्दरी, रुडी, जोरु, मुक्तिकोट, सुपाना, पुडेनी, जुकु, वाई, जुकु र मिगुलगायत ठाउँमा वर्षामा बाढीपहिरोको जोखिम त छँदै छ, हिउँदमा खडेरीको पनि समस्या छ । अन्य क्षेत्रमा सार्ने निर्णय भएको थियो । वर्कु, रुडी, जोरु र मुक्तिकोट क्षेत्रलाई सुईजिउलादेखि तिखाजुर क्षेत्रमा स्थानान्तरण गर्ने जिल्ला विपद व्यवस्थापन समितिले योजना बनाएको थियो ।

उक्त योजना कार्यान्वयन भएको छैन । ‘जोखिम क्षेत्र पहिचान गरेर स्थानान्तरण गर्ने निर्णय भए पनि स्थानीय मानेका छैनन्,’ जिल्ला विपद व्यवस्थापन समिति संयोजक एवं प्रमुख जिल्ला अधिकारी गंगाप्रसाद न्यौपानेले भने, ‘तत्काल स्थानान्तरण गर्न सुइजिउलाको स्थानीयलमानेनन् ।’ धेरैवटा बस्ती एकैपटक स्थानान्तरण गर्न सहज नहुने भएकाले पनि योजना छिटो अघि नबढेको उनले बताए ।

अविरल वर्षाका बेला छुद्दरीका गाउँले रातभर निदाउँदैनन् । बाढीपहिरोको त्रास छ । छुद्दरीमा प्रायजसो पाखो र भिरालो जग्गा छ । सिँचाइका लागि खेतीयोग्य जमिन छैन । ‘असारमा पानी परे खेती लगाउँछौ नत्र बाँझै रहन्छ । कति साल त बाँझै रह्यो,’ स्थानीय हंस बुढाले भने, ‘हामी रोजगारीका लागि भारतमा गएर कसरी गुजारा चलायौ भनिसाध्य नै छैन ।’

बस्तीका अधिकांश घरबाट पुरुष रोजगारीका लागि भारत जाने गरेको उनले बताए । ‘माथि चट्टान तल वारिपारि बस्ती छ, बीचमा रुडीखोला छ । रातभरि खोलो गर्जिन्छ, तलबाट कर्णाली बग्छ,’ उनले भने, ‘हामीलाई त रातभरि निद्रा लाग्दैन ।’ बस्ती अनुपयुक्त ठाउँमा बसेको भए पनि छाडेर हिंडिहाल्न हिम्मत नभएको उनले बताए ।

गाउँपालिकाले बाढीपहिरोबाट पीडितको अवस्था अध्ययन गरेको १ नम्बरका वडाध्यक्ष जनकबहादुर रोकायाले बताए । ‘गाउँपलिका, वडा, प्रहरी र स्थानीय नागरिक अगुवाको सहभागितामा बस्ती स्थानान्तरणसँगै बाढीपीडित र जोखिम बस्तीको अध्ययन गरिँदै छ,’ उनले भने, ‘विपदबाट जोगाउन बस्ती स्थानान्तरणमै जोड दिनुपर्ने अवस्था छ ।’ उच्च जोखिम क्षेत्रका बासिन्दालाई तत्काल छिमेकीका घरमा पठाइएको र बाँकी परिवारलाई सोही ठाउँमा सुरक्षित रहन आग्रह गरिएको उनले बताए ।

प्रकाशित : भाद्र १, २०७६ १०:०२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्