बाढीपहिरोमा ५० चौपाया बगे, २० को उद्धार 

संगीता तिमिल्सेना 

बाजुरा — जिल्लाको स्वार्मिकार्तिक गाउँपलिका–२ छुद्दरी टोलमा बुधबार बेलुका आएको बाढीपहिराेले ५० चौपाया बगाएकाे छ । मेलामा चराउन लगाएका ४८ गाईगोरु र २ भैसी साँझ घर फर्कने बेला एक्कासी आएको पानीले घर नपुग्दै बाटोमा पहिरोले बगाएको हो । 

करिब २० वटा पशुचौपायाको उद्दार गरिएको स्थानिय समाजसेवी मनबहादुर रोकायाले जानकारी दिएका छन्।
रोकायाका अनुसार बाढीले मानवीय क्षती भने भएको छैन तर जमिनमा लाखौंको खेतीबाली समेत बगाएको छ।

छुद्दरी टोल अहिले बाजुरा जिल्लाकै उच्च जोखिमा रहेको जिल्ला विपद् व्यस्थापन समितिको तथ्यांकमा छ।
त्यस्तै स्वामिकार्तिक गाउँपालिका–१ को चिसापानीका, जोरु लगायतका टोलहरु अहिले बाढीको उच्च जोखिममा छन्। गाउँपालिकाको चिसापानी, जोरु लगायतका टोलमा माथिबाट पनि पहिरो आएको र तलबाट पनि बगिरहने भएकाले उक्त टोलहरु जोखिममा रहेको रोकायाले बताए।जोखिममा रहेका टोलका २० भन्दा बढी परिवारको तत्काल स्थानान्तरण गर्नुपर्ने रोकायाले बताए।

वडा नम्बर १ का अध्यक्ष जनक रोकायाले भने तत्काल बस्ती स्थानान्तरण गर्न अर्को ठाउँ पनि सुरक्षित नभएकाले उनीहरुलाई सुरक्षित ठाउँमा रहेका छिमेमीको घरमा बस्न लगाउने बताए।

स्वार्मिकार्तिक गाउँपलिकाको विभिन्न ठाउँमा पहिरो जाँदा स्थानीयले लगाएको धान, कोदो, मकै, फापर लगायतका बाली बगाएर सखाप पारेका छ। खानेपानी र सिचाई कुलो पनि भत्काएको वडाअध्यक्ष रोकायाले बताए। अहिले स्थलगत अनुगमन भइरहेको र पछि राहत वितरण गरिने वडाअध्यक्ष रोकायाले बताएका छन्।

प्रकाशित : श्रावण ३१, २०७६ ०९:१७
प्रतिक्रिया
पठाउनुहोस्

पुल भाँचिएपछि बनाइएकाे डाइभर्सन एकतर्फी सञ्चालनमा, महेन्द्र राजमार्गमा २२ किलोमिटर जाम 

जंगलमा यात्रु पानी समेत नपाएर बस्न बाध्य
नारायण शर्मा

नवलपरासी — पूर्वपश्चिम महेन्द्र राजमार्गको अरुणखोला पुल भाँचिएपछि निमार्ण गरिएको डाइभर्सन सडकमा एकतर्फीमात्र  गाडी सञ्चालन हुने गरेका कारण राजमार्गमा २२ किलोमिटरसम्म जाम भएको छ । 

बिहीबार राति र शुक्रबार बिहान पानी परेका कारण अरुणखोलामा राजमार्गबाट दक्षिणमा बनाइएको डाइभर्सन पार गर्न धेरै समय लाग्ने गरको छ।

डाइभर्सन निमार्ण गरिएको स्थानमा ठूला मालवाहक गाडी फँस्दै गरेकाले यातायात सुचारु हुन नसकेको हो। अरुणखोला पुलबाट पश्चिम दाउन्ने पहाडसम्म गाडीको लाइन छ भने पुलदेखि पूर्व चोरमाराको जंगलमा रहेको ४० किलोमिटर भन्ने स्थान र डण्डाबजारसम्म लाइन छ।रातभरी यात्रु पानी समेत खान नपाएर राजमार्गमै बस्न बाध्य भएका छन् ।

जामका कारण अत्यावश्यक सेवाका साधन पनि बीचमै रोकिएका छन्। शुक्रबार बिहान भरतपुरस्थित कान्तिपुर पब्लिकेशन्सको पत्रिका बोकेर भैरहवातर्फ जाँदै गरेको लु १ च ९१७० नम्बरको गाडी बिहान ४ बजेदेखि चोरमारामा जाममा छ।

‘गाडी हिड्ने बाटो पनि छैन राजमार्गमा थोरैमात्र परिचालन गरिएका हतारिएका गाडीका चालकले प्रहरीलाई समेत टेरेका छैनन्। चालक विरेन्द्र श्रेष्ठ भन्छन्, ‘एम्बुलेन्स समेत हिड्न सक्ने अवस्था छैन ।’

अरुणखोलाको जाम छिचोल्न कम्तिमा २० घण्टा भन्दा लाग्ने गरेको छ। राजमार्गको दक्षिणबाट अरुणखोलामा बनाइएको डाइभर्सन सडकमा पानी बहावकालागि राखिएको ह्यूमपाइप भएको स्थानमा एकतर्फीमात्र गाडी सञ्चालन हुने गरेका कारण घण्टौ जाम हुने गरेको हो।

पूर्वपश्चिम हिँडेका यात्रुले जंगलमा जाम पर्दा सास्ती भोगेका छन् । पोखराबाट बिहीबार दिउँसो सुनौली हिँडेका रामचन्द्र काफ्लेले अहिलेसम्म पनि चोरमारा कट्न नसकेकोको टेलिफोनमा जानकारी दिए।

उनले राजमार्गमा ट्राफिक व्यवस्थापन नै नभएको गुनासो गरे । सबै गाडी ओभरट्याक गर्ने हतारमा हुइँकिँदा राजमार्गमा तेहेरो जाम भएको उनको भनाई छ ।
राजमार्ग अवरुद्ध भएको ६२ घण्टा भइसक्दा पनि दोहोरो यातायात सञ्चालन हुनसकेको छैन । घण्टौ लामो जामले अरुणखोलाको पूर्वपश्चिम दुवैतिर जंगल भएका कारण यात्रुले पानी समेत खान नपाउने अवस्था छ।

अरुणखोलाको पानीको बहाव निकास दिन दोहोरो लाइनमा ३० वटा ह्यूमपाइप राखेर पानी बग्ने व्यवस्था मिलाएको सडक डिभिजन कार्यालय बर्दघाटले जनाएको छ। खोलामा पानीको सतह बृद्धि हुँदा ह्यूमपाइप बगाउने जोखिम उत्तिकै छ ।
अरुणखोलामा चालकले जथाभावी ओभरटेक गर्न नदिन २ दर्जन भन्दा बढी ट्राफिक प्रहरी परिचालन गरिएको पूर्वी नवलपरासीका प्रहरी प्रमुख मोहनप्रसाद पोख्रेलले जानकारी दिए।

उनले एक घण्टा जाम हुँदा टाढासम्म गाडीको लाइन हुने गरेको र देशभरीकै गाडीको चाप महेन्द्रराजमार्गमा पर्ने गरेकाले असहज भइरहेको जनाए। ‘चौबिसै घण्टा प्रहरी खटाएका छौ,’ उनले भने, ‘पानी रोकिए आवागमन सहज हुन्छ।’

शुक्रबार बिहान पानी परेका कारण झन् असहज भएको प्रहरीको भनाई छ।

प्रकाशित : श्रावण ३१, २०७६ ०८:५४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्