दुई चालकमा व्यवसायीको छलढाँट

भवानी भट्ट

कञ्चनपुर — लामो दूरीका सवारी साधनमा दुई चालक हुनुपर्ने धेरै अघिदेखि आएको कुरो हो । तर अहिले पनि रातभरि वा त्यसभन्दा बढी समयसम्मको दूरीमा समेत एउटै चालकले सवारीसाधन चलाइरहेका छन् । अधिकांश सवारी साधनमा देखाउन दुई चालक राख्ने गरे पनि गाडी भने एउटैले चलाउने गरेका छन् ।

महेन्द्रनगरदेखि पहाडी जिल्लातर्फ जाने बसमा मालसामान राखिँदै । तस्बिर : भवानी/कान्तिपुर


पछिल्लो समय कन्डक्टर र सहचालकको समेत लाइसेन्स बनाएर तिनलाई नै चालकका रूपमा देखाइने गर्दा दुर्घटना बढन थालेको व्यवसायीहरू नै बताउँछन् । सवारी चालक इजाजत पत्र दिने प्रक्रियामा निकै खुकुलो र अनियमितताले यस्तो भएको उनीहरू बताउँछन् ।

‘गाडीको स्टेरिङसमेत नसमाएकाले लाइसेन्स पाएका छन्, साहुले तिनलाई नै चालक बनाएर लैजान्छन्,’ महाकाली यातायात प्रालिका एक व्यवसायीले भने, ‘चेक हुने ठाउँमा चालकै हुन्छन्, तर गाडी त जति लामो बाटो भए पनि एउटैले चलाउँछ ।’ उनले भाडामा बढदो मोलमोलाई (बार्गेनिङ) र सार्वजनिक यातायातमा यात्रुको संख्या घटदै गएका कारण दुई चालकको भार धान्न सकिने अवस्थासमेत नहुँदा व्यवसायीहरू छलढाँटमा लागेको बताए ।

लाइसेन्स भएका तर गाडी चलाउन राम्ररी नजानेकाकै कारण दुर्घटना हुने चालक बताउँछन् । ‘अधिकांश दुर्घटना सहचालकले चलाउँदा भइरहेका हुन्छन्, चेकजाँचका बेला र चालकलाई आराम दिन चलाउँदा यस्तो भएको पाइन्छ,’ सुदूरपश्चिमका पहाडी रुटका लामो समयदेखि बस चलाउँदै आएका एक चालकले भने, ‘पहाडी रुटमा यो अवस्था अझ बढी छ ।’

केही गाडीमा अहिले पनि छलढाँट गरेरै दुई चालक देखाइने गरेको १८ वर्षदेखि लामो दूरीमा बस चलाउँदै आएका लक्ष्मण राना बताउँछन् । ‘यात्रु कम हुनु र आर्थिक भार बढी हुँदा दुई चालकको खर्च धान्न नसकिने भएकाले पनि व्यवसायीहरू विभिन्न उपाय अपनाउँछन्,’ उनले भने । उनका अनुसार पछिल्लो समय डिलक्स र वातानुकूलित बसमा दुई चालक राख्ने गरे पनि साधारण बसहरूमा एउटै चालक रहने गरेको बताए ।

२ सय ५० किमि वा ६ घण्टा बढी समय लाग्ने ठाउँमा २ चालक अनिवार्य राख्नुपर्ने व्यवस्था छ । महेन्द्रनगर–काठमाडौं मात्रै होइन दिल्ली–काठमाडौं बसमा समेत एउटै चालक हुने गरेको यात्रु बताउँछन् । चेकजाँच हुने ठाउँमा दुई चालक देखाइने पनि गरेको छ ।

कागजी रूपमा सबै ठीकठाक भेटिए पनि कहीं न कहीं ढाँटने काम भइरहेको क्षेत्रिय ट्राफिक प्रहरी कार्यालय अत्तरियाका एसपी केदार राजौरे बताउँछन् । काठमाडौं वा पूर्वतिर जाने गाडीका चालकहरू र त्यहीं ठाउँबाट आउने चालक बीचमा पुगेर बदलिने गरेको आशंका रहेको उनले बताए ।

‘हामीले हेर्दा चालक त फेरियो तर एउटै चालकले निरन्तर चलाउने क्रम रोकिएन,’ उनले भने, ‘जो जुन ठाउँबाट आएको त्यहीँ फर्कियो, यस्तो पनि सेटिङ मिलाएको हुन सक्छ । हामीले लाइसेन्स हेरेर चालकको फोटो खिचेर अगाडीको चेक प्वाइन्टमा पठाउछौं, सवारी साधन चलाउन जाने नजानेको हेर्न सकिने अवस्था हुँदैन ।’

उनका अनुसार ट्राफिक प्रहरीको नेटवर्किङ सिस्टमले चालक फेरिए नफेरिएको हेर्न सकिने भएपनि छलढाँट गरेको अझै समात्न नसकिएको बताए । एक चेकपोस्टले अर्कोलाई फोटो र चालकको विवरण पठाउने गरेकाले फेरिए नफेरिएको सहजै पहिचान हुने उनले जानकारी दिए ।

प्रकाशित : श्रावण ३०, २०७६ १०:५२
प्रतिक्रिया
पठाउनुहोस्

‘मनमोहन स्मृति पोलिटेक्निक’ प्राविधिक विश्वविद्यालय हुन नसक्ने सांसदहरूको जिकिर

प्रदेशसभा बैठक
देवनारायण साह

मोरङ — प्रदेश १ का सांसदहरूले ‘मनमोहन स्मृति पोलिटेक्निक’ प्राविधिक विश्वविद्यालय हुन नसक्ने प्रतिक्रिया व्यक्त गरेका छन् । ‘मुसा बढेर हात्ती नभएजस्तै’ उक्त संस्था विश्वविद्यालय हुन नसक्ने उनीहरूले दाबी गरे ।

प्रदेशसभा बैठकमा बुधबार सहभागी सांसद ।तस्बिर : देवनारायण/कान्तिपुर

प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले संसदमा पेस गरेका मनमोहन प्राविधिक विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६ माथिको छलफलमा बोल्ने सांसदले यस्तो बताएका हुन् ।

सांसद राजेन्द्रकुमार राईले मनमोहन स्मृति पोलिटेक्निकलाई मनमोहन प्राविधिक विश्वविद्यालयका रूपमा विकास गर्नु भनेको मुसालाई हात्ती बनाए जस्तै भएको टिप्पणी गरे । ‘राज नेता मनमोहन अधिकारीको नाममा विश्वविद्यालय स्थापना हुनु अनुचित होइन,’ उनले भने, ‘तर एउटा सामान्य तालिमका साथै डिप्लोमासम्म पढाइ हुने पोलिटेक्निकलाई विश्वविद्यालयका रूपमा विकास गर्नु सम्भव छ ? यो कहीँ नभएको जात्रा हाँडी गाउँमा भने जस्तै हो ।’

विश्वविद्यालयमा आधारभूत र मध्यमस्तरको तालिम सञ्चालनको परिकल्पना आफैंमा हास्यास्पद भएको राईले बताए । ‘विधेयकमा आधारभूत, मध्यम र उच्च शिक्षाको परिकल्पना गरिएको छ,’ उनले भने, ‘प्राविधिक विश्वविद्यालयमा विज्ञान र व्यावसायिक शिक्षा प्रदान गर्न सकिन्छ भन्ने विषयमा पनि मन्त्री ज्यूले विचार गर्नु आवश्यक छ ।’ उनले मनमोहन प्राविधिकभन्दा मनमोहन विश्वविद्यालय भनेर विधेयक ल्याउनु उचित हुने बताए ।

प्रमुख प्रतिपक्षी दलका नेता केदार कार्कीले मनमोहन स्मृति पोलिटेक्निकमा मनमोहन प्राविधिक विश्वविद्यालय बनाउनु हात्तीको छालामा मुसाको जिउ राखे बराबर हुने बताए । ‘एउटा पोलिटेक्निकलाई कसरी विश्वविद्यालयका रूपमा विकास गर्न सकिन्छ ?,’ उनले भने, ‘पोलिटेक्निकका सञ्चालक समितिलाई विश्वविद्यालयका आजीवन सदस्य बनाएर राजनीतिक अभिष्ट पूरा गर्न खोजिएको मात्रै हो ।’

उनले यो विधेयकले विश्वविद्यालयको जग हँसाई हुने भएकाले फिर्ता लगेर सच्याएर ल्याउनुको विकल्प नभएको बताए । सांसद उमिता विश्कर्माले मुलुकमा भएका विश्वविद्यालयहरूको अवस्था बुझेर विधेयक ल्याउनु उचित हुने बताइन् ।

‘पवित्र उद्देश्यले सञ्चालन गरिएको विश्वविद्यालय जस्तो संस्था कुनै पार्टीको भर्तीकेन्द्र बन्नु हुँदैन,’ उनले भनिन्, ‘मुलुकको आवश्यकता अनुसारको जनशक्ति उत्पादन गर्ने र मुलुकबाट शिक्षाका लागि भइरहेको विदेश पलायनलाई रोक्ने किसिमको विश्वविद्यालयको निर्माण आवश्यक छ ।’

सांसद तुलसीप्रसाद न्यौपानेले प्रदेशको अधिकार क्षेत्रभित्र उच्च शिक्षा रहेको तर विधेयकमा आधारभूत र मध्यम शिक्षाको परिकल्पना गरिनु उचित नभएको बताए । ‘विधेयकमा इञ्जिनियरिङ र चिकित्सा शिक्षाको परिकल्पना गरिएको छ,’ उनले भने, ‘यो दुवै विषयको शिक्षा प्रदेशको अधिकार क्षेत्रभित्र पर्दैन यो संघीय सरकारको अधिकार क्षेत्रभित्र पर्ने भएकाले सोचविचार गरेर मात्रै अघि बढनु जरुरी छ ।’

विधेयक पारित भएपछि तुरुन्तै कार्यान्वयन हुने व्यवस्था छ । तर, सम्पूर्ण पूर्वाधार, संगठनात्मक संरचना, नीतिगत व्यवस्था नै नगरी पोलिटेक्निकको व्यवस्थापन समितिलाई विश्वविद्यालय सञ्चालन गर्नदिनु उचित नहुने उनको भनाइ थियो ।

७६ वर्षीया न्याय खोज्दै प्रदेशसभामा
खोटाङको दिक्तेल नगरपालिका १ का ७६ वर्षीय टंकप्रसाद आचार्य न्याय खोज्दै बुधबार प्रदेशसभा बैठकमा आइपुगेका छन् । जातीय छुवाछुत अन्त्यका लागि आयोजित सहभोज कार्यक्रममा कथित दलितको हातबाट दही खाएकाले आचार्य सामाजिक बहिष्करणका परेका हुन् ।

डाँडाखर्कमा आचार्य जिल्ला समन्वय समिति, प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी कार्यालयका प्रतिनिधिहरू उपस्थित भएका जातीय विभेद विरुद्धको सहभोज कार्यक्रममा जेठ १३ गते दलितको हातबाट दही खाएको र भाषण गरेको आचार्यले बताए ।

‘दलितको सहभोजमा किन गएको र किन खाएको भन्दै स्थानीय महेश आचार्य, गणेश आचार्य र झमक आचार्यले सामाजिक बहिष्कार गरेका छन्,’ उनले भने, ‘सहभोजमा सहभागी भएकाले ६ सय जना मलामी भएको अभीनारायण आचार्यको चितामा ढोग दिइएन ।’ गाउँमा आयोजित दुईवटा भागवत पुराण कथामा आफूलाई बहिष्कार गरेकाले मर्नु नबाच्नुको अवस्था सृजना भएको आचार्यले गुनासो पोखे ।

सामाजिक कुरीतिविरुद्ध आवाज उठाउँदा अहिलेको युगमा पनि आफू जस्ता वृद्धलाई बहिष्कार गर्ने सामाजिक व्यवस्थामा प्रदेश सरकारले कस्तो विकासको खाका कोर्न सक्छ ? भन्दै उनले गुनासो पोखे । सांसद राजन राईले वृद्ध आचार्य सामाजिक बहिष्कारमा परेको विषय संसदमार्फत सरकारको ध्यानकर्षण गराएका थिए ।

प्रकाशित : श्रावण ३०, २०७६ १०:४४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्