कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अनुदानका गाई अस्वस्थ र बुढा

मोहन शाही

डोटी — नगरपालिकाले पूर्ण अनुदानमा वितरण गरिएका दूधालु गाई बुढा र रोगी भएको भन्दै किसानहरूले गुनासो गरेका छन् । साउनको पहिलो साता दिपायल सिलगढी नगरपालिकाले वडा ७ का तेडी नभाउने गाईपालन समूहका ७ कृषकलाई जर्सी गाई वितरण गरेको हो । तर गाईहरू बिरामी पर्न थालेको, बुढो भएकाले दूध नदिने गरेको किसानहरूले गुनासो गरेका छन् ।

अनुदानका गाई अस्वस्थ र बुढा

‘एउटै गाईले दैनिक १५/२० लिटर दूध दिन्छ भन्ने सुनेका थियौ,’ स्थानीय किसान डिलबहादुर कठायतले भने, ‘एउटा गाई पनि ढंगको आएन । बुढा र रोगी ती गाई पालेर आम्दानीको साटो उल्टै खर्च बढेको छ ।’ प्रति गाई ७५ हजार मूल्यमा पाएपछि खुसी भएका किसान बुढा र रोगी भएको भन्दै आक्रोश व्यक्त गरिरहेका छन् । गाई पाउने भएपछि किसानहरूले ७ गाईको दूध एकमुष्ट धेरै दूध हुनेभएपछि बिक्रीका लागि एउटा डेरीसँग सहमति गरेका थिए ।


गाईबाट मनग्गे मात्रामा दूध उत्पादन गरेर सहज जीविकोपार्जनको सपना देखेका किसानहरू यतिबेला उल्टै निरास बनेका छन् । ‘जीवन चलाउन हम्मेहम्मे परेका बेला नगरले गाई दियो, यसैबाट परिवार पालौला भनेर खुसी भएकी थिएँ,’ स्थानीय धनादेवी कठायतले भनिन्, ‘तर खुसी आउन सकेन ।’


गाई हस्तान्तरण गर्न नगरपालिकाको पशु सेवा एकाइका प्रमुख डिलबहादुर साउँद र नगरप्रमुख मञ्जु मलासी किसानकै घर पुगेका थिए । साउन ८ गते आएर ७ गाई चिठ्ठा हालेर हस्तान्तरण गरी हिँडेको किसानहरूको भनाइ छ । किसानहरूले उल्टै रोगी गाईको स्याहार गर्नुपर्ने फसादमा परेको दुखेसो गरे । ‘बुझेकै दिनदेखि गाई बिरामी छ । गाईको पाठेघर कुहिएको छ । बेलाबेला पछाडिको भागबाट किरासहितको पीप खस्छ,’ धौलीदेवी रावलले भनिन्, ‘घरै गन्हाउँछ । बाच्छो शुक्रबार मरिसक्यो ।’


गाईबाच्छो बिरामी भएको बारे नगरपालिका पशु सेवा एकाइका अधिकृत साउँदलाई खबरसमेत गरेको किसानहरूले बताए । ‘उहाँले भनेअनुसार औषधि किनेर पनि खुवाए,’ उनले भनिन्, ‘औषधिले पनि सञ्चो भएन, शुक्रबार मर्‍यो ।’ अधिकांश गाईहरू बिरामी रहेको गुनासो उनीहरूको छ ।


किसानलाई हस्तान्तरण गरिएका गाई मरेमा नगरपालिकाले दिने सेवाका लागि अयोग्य हुने सम्झौता भएकाले किसानहरू चिन्तामा छन् । ‘रोगी र बुढा गाई दिने र यस्तो शर्तमा दस्तखत गरी नगरपालिकाले फसाएको छ,’ धनादेवी भन्छिन्, ‘आफैं रोगी र बुढा गाई हस्तान्तरण गरी दिएकाले मेरो गाई त मर्न लाग्यो । उल्टै म अब सेवा सुविधाबाट वञ्चित हुनुपर्ने अवस्था आयो ।’


नगरपालिकाले टेन्डर गरेर प्रतिगाई ७५ हजारका दरले नगर क्षेत्रका २० किसानलाई हस्तान्तरण गरेको हो । १५ लाख लगानीमा कञ्चनपुर बेलौरीको सिद्धबाबा गाईभैंसी पालन फार्मबाट ती गाईहरू नगरपालिकाले खरिद गरेको पशु एकाइ प्रमुख साउँदले जानकारी दिए । उनले भने, ‘हामीले २ देखि ३ सय ५० केजी र २ बेत बसेको भनेर ठेकेदारसँग सम्झौता गरेका थियौ । सोहीअनुसारका छन् ।’ अधिकृत साउँदले किसानहरूको स्याहारसुसार र गोठ ब्यबस्थापन नमिलेकोले गाईहरू बिरामी परेको र दूध नदिने समस्या भएको दाबी गरे ।

प्रकाशित : श्रावण २८, २०७६ ०९:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?