स्वास्थ्य भवन निर्माणमा ढिलाइ

कान्तिपुर संवाददाता

धनगढी — सुदूरपश्चिमका विभिन्न जिल्लामा स्वास्थ्य संस्थाहरूका भवन निर्माणमा भइरहेको ढिलाइले स्वास्थ्य सेवा प्रभावित भएका छन् । भवन अभावले कतिपय स्वास्थ्य सस्थाहरूले ‘बर्थिङ सेन्टर’ नै सञ्चालन गर्न सकेका छैनन् ।

८ वर्षअघि निर्माण सुरु भएका भवनहरूसमेत पूरा हुन सकेका छैनन् । कैलालीको उदासिपुरमा स्वास्थ्य भवनको निर्माणको ठेक्का ०६९ मा दिइएको थियो । उक्त भवनको काम अझै पूरा हुन सकेको छैन । ‘ठेकेदार कम्पनीको ढिलासुस्तीले ८ वर्षभन्दा बढी समय लाग्यो,’ योजना कार्यान्वयन एकाइ सहरी भवन निर्माण डिभिजन कार्यालयका प्रवक्ता श्यामचन्द्र बुढाथोकीले भने, ‘अब थोरै काम गर्न बाँकी छ ।’

लालबोझी स्वास्थ्य संस्थाको भवन पनि ८ वर्षदेखि अधुरै छ । ठेकेदारको लापरबाहीले काम पूरा हुन नसकेको इन्जिनियर बुढाथोकी बताउँछन् । ‘चाँडो निर्माणका लागि जति ताकेता गर्दा पनि टेर्देनन्,’ उनले भने, ‘कामबाट हात झिकेको छैन, तर काम पनि अघि बढाएको छैन । २ वर्षमा सम्पन्न हुने योजना ८ वर्षसम्म सम्पन्न नगरेको अवस्था हो ।’

सहरी विकास तथा भवन डिभिजन कार्यालयका अनुसार सुदूरपश्चिम प्रदेशभरिमा अस्पतालसहित निर्माणाधिन ८५ भन्दा बढी स्वास्थ्य चौकीका भवनमध्ये ३० वटामा निर्माणको काम ढिलो भएको छ । ठेकेदार कम्पनीहरूले पटकपटक म्याद मात्रै थप्दै गएका छन् । पहाडी जिल्लाका भवन निर्माणमा अझ बढी ढिलाइ भइरहेको छ ।

कार्यालयकाअनुसार अछामको कफलसेरी, बारला, तुर्माखाद, सिद्धेश्वर, चौरमाण्डौं, ऋषिदह, गैरागाउँ, बाजुराको बुढीगंगा, जगन्नाथ, काँडा, सापाटा, छतरा, ब्रहमतोला स्वास्थ्य चौकीहरूको काम लामो समय बित्दासमेत पूरा हुन सकेको छैन । यस्तै कञ्चनपुरको बेलडाँडी, डोटीको मब्वानगर, बझाङको देउलेख, तोलेनी, बैतडीको महारुद्र, गिरेगडा, विशालपुर, भूमेश्वर, कोटभैरव, भामचौर र पञ्चेश्वरलगायतका स्वास्थ्य चौकी भवन निर्धारित समयमा सम्पन्न हुन सकेको छैनन् ।

‘जनताले प्रत्यक्ष रूपमा स्वास्थ्य सेवा पाउने भवनको निर्माणमा ढिलो नहुनु पर्ने हो,’ क्षेत्रीय स्वास्थ्य निर्देशक डा. गुणराज अवस्थीले भने, ‘स्थानीय तह र सरोकारवाला निकायले निगरानी गर्नु आवश्यक छ ।’ उनले आफ्नोभन्दा भाडाका भवनबाट स्वास्थ्य सेवा प्रवाह प्रभावकारी नहुने बताए ।

प्रकाशित : श्रावण २२, २०७६ ०९:३७
प्रतिक्रिया
पठाउनुहोस्

बाढी र डुबानले महँगियो भान्सा

बाढीले खेती डुबानमा परेको र पहिरोले बाटो भत्किएर आपूर्ति घट्दा तरकारीको मूल्य सात गुणासम्म बढेको छ । 
जितेन्द्र साह

विराटनगर — शनिहाटकी सुशीला बस्नेतलाई अचेल भान्सा व्यवस्थापनमा हम्मे परिरहेको छ । खाजा पसल चलाउने उनलाई व्यवसाय धान्नसमेत मुस्किल छ । बजारमा तरकारी आउनै छाडेको छ । आएको अलिअलि पनि भाउ बढेर किनिसाध्ये छैन ।


बाढीले खेती डुबानमा पर्नु र बाटो बिग्रिएर ढुवानी रोकिँदा पर्याप्त तरकारी आउन छाडेको हो । ‘वर्षाअघि कोठामा तीनथरी तरकारी पकाउँथेँ । अहिले एउटा, त्यो पनि थोरै,’ उनले भनिन्, ‘खाजा पसलमा खानाको अर्डर दिनेका लागि समेत एउटा तरकारी मात्र पकाउँछु ।’

विराटनगरको खुद्रा बजारमा तरकारीको मूल्य अहिले चारदेखि सात गुणासम्म बढेको छ । भिन्डी, करेला र भन्टा प्रतिकिलो सय रुपैयाँ पर्छ । घिरौंला ६०, परबल ८०, साग सय र बोडी १ सय २० रुपैयाँसम्म लिन थालेका छन् ।

अब असोजमा नयाँ तरकारी उत्पादन भएपछि मात्र भाउ घट्न सक्ने सुनसरी हरिनगरा ७ का खुद्रा व्यवसायी दिनेश मेहताले बताए । जाडोमा सीमापारिका उत्पादनसमेत भरिभराउ हुने भएकाले मौसमी तरकारी प्रतिकिलो १० देखि ४० रुपैयाँसम्ममा बेच्न सकिने उनको भनाइ छ । मेहताका अनुसार डेढ महिनाअघि उनी आफैंले प्रतिकिलो भिन्डी १५, घिरौंला २०, काँक्रो १५, परबल ३० र साग १० रुपैयाँसम्ममा बेचेका थिए । ‘बाढीले विनाश गरेपछि किसानकै खेतबारीमै तरकारी छैन,’ मेहताले भने, ‘भएको पनि पानीमा डुबेर सडिसकेको छ ।’ महानगरको गुद्री बजारमा तरकारी बेच्ने सावित्री रायले खेतबारीमा पानी भरिएकाले गाउँमै तरकारी पाउन कठिन भएको बताइन् ।

‘पहिले १२ सय रुपैयाँको तरकारी ल्याएर बेच्थेँ, अहिले ६ सय रुपैयाँको,’ उनले भनिन्, ‘बेच्ने र किन्ने दुवैलाई कठिन छ ।’ आलु, प्याजबाहेक पहाड र तराईकै तरकारीले विराटनगरको माग धानिरहेको उक्त बजारका थोक व्यवसायी चिन्टु सुढीले सुनाए । ‘वर्षामा मधेस डुब्ने हुनाले पूर्णतया पहाडकै तरकारीको भर हुन्छ,’ उनले भने, ‘अहिले पहाडी भेगमा समेत बाटो खराब भएर तरकारी आइरहेको छैन, तीन गाडी तरकारी मगाउँदा एक गाडी मात्र आइपुग्छ ।’

भारततिर पनि डुबान भएकाले अभाव चर्किएको सुढीले बताए । गुद्रीको थोक बजारमा भारतीय तरकारी प्रतिकिलो बन्दा २५, इस्कुस ३२/३५, खुर्सानी ९०/११०, परबल ३५, गोलभेंडा ५०, गाँजर ५०, काउली सय रुपैयाँ र भन्टा ४० रुपैयाँ पुगेको छ । तर विषादीको खुलासापछि उपभोक्ताले उति रुचाउँदैनन् ।

‘अत्यधिक विषादीको खुलासापछि स्थानीयले नेपाली तरकारी नै खोज्ने गरेका छन्, भारतीय तरकारी कमै बिक्छ,’ व्यवसायी ईश्वर घिमिरेले भने । बोरै लिँदा किलोको ५ देखि १० रुपैयाँसम्म कम पर्ने व्यवसायीले बताए । सेतो आलु थोकमा प्रतिकिलो ३२, रातो ५२/५३ र पुरानो आलु २२/२३ रुपैयाँ छ भने खुद्रा बजारमा सेतो ४५, रातो ६०/६५ र पुरानो ३५/४० रुपैयाँमा बिक्री भइरहेको छ । ‘थोक र खुद्रा बजारको मूल्य धेरै अन्तर नहुनुपर्ने हो । बाढीपहिरो र बाटो बिग्रेको निहुँमा व्यवसायीले पनि लुट मच्चाएका छन्,’ गुद्री बजारमै चिया–पकौडा बेच्ने सत्यनारायण गिरीले भने, ‘महँगीले नबिकेपछि साँझपख पसल पसलमा फालेर जान्छन् ।’

थोक र खुद्रा व्यवसायीको तर्क भने फरक छ । ‘तरकारीको मूल्य हरेक दिन घटबढ भइरहेको छ, व्यवसायीले सस्तोमा किनेका बेला सस्तोमै बेच्छन्,’ गुद्री हाटकै थोक विक्रेता गणेश भगतले भने, ‘भोलिको तरकारीको दर म आजै भन्न सक्दिनँ ।’ मागको तुलनामा आपूर्ति कम भएकाले खुद्रा व्यवसायीले अत्यधिक नाफा कमाउन खरिद मूल्यभन्दा दोब्बर/चौबरमा तरकारी बेचिरहेको आरोप पनि छ । ‘यही थोरै तरकारी बेचेर हामीले खानकी, ढुवानी खर्च, गाडी भाडा र दैनिक ज्याला निकाल्नुपर्ने हुनाले अलिक महँगो बेच्नैपर्छ,’ मेहताले भने, ‘उत्पादन कम भएकाले भारतीयको तुलनामा नेपालको तरकारी प्रतिकिलो १५/२० रुपैयाँ बढी नै पर्छ ।’

अर्का थोक विक्रेता श्यामप्रसाद गुप्ताले हरियो तरकारीको माग पहाड–मधेसकै उत्पादनले धानिरहेको र आलु, प्याजमा मात्र भारतको भर पर्नुपरेको बताए । उनका अनुसार ७५ प्रतिशत आलु, प्याज भारतबाटै आउँछ । त्यति नै परिमाणको हरियो तरकारी भने यहीँ उत्पादन हुन्छ । तर बाढीपहिरोले अहिले दैनिक ठीक आधा १० टनजति मात्र आउँछ । ‘माग र आपूर्तिबीच ठूलो अन्तरले महँगी बढाएको हो,’ गुप्ताले भने, ‘खाने धेरै छन्, तरकारी कम आउँछ, खुला बजारमा स्वतः भाउ बढ्छ ।’

गुद्री बजार व्यवस्थापन समितिका सल्लाहकार पशुपति भगतले पहाड, मधेस र भारतको तरकारी बजार परस्परमा निर्भर रहेको बताए । उनका अनुसार मधेसको बोडी, भिन्डी र भन्टा पहाड पुग्छ भने पहाडको इस्कुस, मूला, गोलभेंडा, धनियाँको पात र हरियो साग मधेस एवं पारि भारतको विहार पुग्छ । समितिले भारत र नेपालका विभिन्न थलोबाट दैनिक १ सय ५० टन तरकारी आउने गरेको जनाएको छ । यहाँबाट पूर्वाञ्चलको प्रमुख सहर र प्रदेश २ मा सर्लाहीको लालबन्दीसम्म तरकारी निर्यात हुन्छ ।

असार दोस्रो सातादेखि विराटनगर भन्सार नाकाबाट तरकारी भित्रिएको छैन । भारतमा समेत बाढीले ठाउँठाउँमा बाटो र पुलमा क्षति पुर्‍याएकाले तरकारी आयात नभएको विराटनगर भन्सार कार्यालयका सूचना अधिकारी मणिराम पौडेलले बताए । उनका अनुसार अरू बेला उक्त नाकाबाट दैनिक ८ देखि १० टनसम्म तरकारी आउँथ्यो ।

पारि जोगबनीपट्टिको मीरगन्ज पुलमा बाढीले क्षति पुर्‍याएर निकै समय जाममा बस्नुपर्ने कारणले सुनसरीको भन्टाबारी नाकाबाट तरकारी आइरहेको उनले जानकारी दिए । नेपालमा उत्पादित तरकारी भने दिनहुँ भन्सार कटाएर ठेलाबाट भारत निर्यात भइरहेको पौडेलले बताए ।

प्रकाशित : श्रावण २२, २०७६ ०९:३६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्