छाडा चौपायाले किसान हैरान

गणेश चौधरी

टीकापुर — छाडा चौपायाका कारण यहाँका किसानले सास्ती खेप्नुपरेको छ । छाडा चौपायाले धानबाली सखाप पार्न थालेपछि जोगाउनै मुस्किल भएको उनीहरू बताउँछन् । 

छाडा चौपायाले हैरान पार्न थालेपछि किसानहरू खेती गर्ने कि नगर्ने दोधारमा रहेको टीकापुर नगरपालिका १ का चम्मन चौधरी बताउँछन् । ‘मिहिनेत र लगानी खेर जान थाल्यो । बगालका बगाल चौपाया आउँछन् । कति धपाउने । खेती गर्ने कि नगर्ने भइसक्यो,’ उनले भने । रानी जमरा कुलरिया सिँचाइ कुलोले यस क्षेत्रमा पानीको सुविधा भए पनि छाडा चौपायाका कारण खेती विस्तार गर्न गाह्रो भएको उनको भनाइ छ ।

‘स्थानीय तह चुनावको मुख्य एजेन्डा छाडा चौपाया व्यवस्थापन थियो । तर स्थानीय तहमा सरकार सञ्चालन भएको पनि २ वर्ष बिते पनि व्यवस्थापन भने भएन,’ चम्मनले भने, ‘कि चौपाया नियन्त्रण हुन पर्‍यो, कि किसानलाई सरकारले क्षतिपूर्ति दिनुपर्‍यो ।’ ५ कठ्ठामा हिउँदे मकै लागाए पनि एक घोगा पनि भित्र्याउन नपाएको उनले सुनाए । उनले भने, ‘अहिले धान रोपेका छौं । त्यो पनि भित्र्याउन पाइने हो कि होइन केही ठेगान छैन ।’

टीकापुर नगरपालिकाले ६ सयभन्दा बढी गाईगोरु भुराखानी सामुदायिक वनमा करिब ३ बिघामा तारबार घेरेर राखेको थियो । थुनिएका चौपायालाई आहारा दिन नसक्ने भएपछि ट्रकमा राखेर पहाडी जिल्ला पनि पठाइयो । तर नगरपालिकामा छाडा चौपायाको संख्या घटेन । टीकापुर नगरपालिकाका प्रवक्ता वडाध्यक्ष दीर्घ ठकुल्लाले भने, ‘धेरै छाडा चौपाया पहाडी जिल्ला पनि पठायौं । तर थपिएर फेरि उत्तिकै भइहाल्छन् ।’

ठकुल्लाले तारबार गरी गाईगोरु थुन्न नगरपालिकाले लगानी गरेको बताए । पाल्न समस्या भएपछि पहाडी जिल्ला पठाउन नगरपालिकाबाट ढुवानी खर्च पनि उपलब्ध गराइए पनि समस्या नटरेको उनले बताए । टीकापुर नगरपालिकाले छाडा पशु नियन्त्रणमा सघाउ पुग्ने भन्दै पशु बिमा कार्यक्रम पनि लागू गर्‍यो । छाडा गाईगोरु पहाडी जिल्ला पनि पठायो । काँडेतार लगाएर पनि राख्यो । तर तर छाडा पशु नियन्त्रण हुन सकेको छैन ।

बाली जोगाउन कतिपय किसानले आफ्नो खेतबारीमा तारबार लगाए पनि सबैले त्यो गर्न सक्दैनन् । जानकी गाउँपालिका ६ का किसान भोजबहादुर चौधरीले भने, ‘गाईगोरु व्यवस्थापन गर्न नसक्ने सरकारले कि अनुदानमा तारबार गर्ने व्यवस्था गरिदिनुपर्‍यो कि बाली खाएअनुसारको क्षतिपूर्ति दिनुपर्छ । होइन भने बाली लाउने छाडा गाईगोरुका लागि मात्र होला जस्तो छ ।’

छाडा चौपाया व्यवस्थापनका लागि भनेर स्थानीय तहले बर्सेनि बजेट पनि विनियोजन गर्ने गरेका छन् । तर व्यवस्थापनको स्पष्ट खाका उनीहरूसँग नभएकाले रकम त्यसै खेर गइरहेको किसानहरू बताउँछन् । छाडा चौपायाले राजमार्ग तथा बजारमा सवारीसाधन आउजाउमा समेत अवरोध पुर्‍याउँदै आएका छन् ।

प्रकाशित : श्रावण २१, २०७६ ०९:३४
प्रतिक्रिया
पठाउनुहोस्

डल्फिनसँगै गोही बढ्दै

कान्तिपुर संवाददाता

टीकापुर — कैलालीको मोहना, पथरैया र काढा नदीमा डल्फिन देखिने ठाउँमा गोहीको संख्या पनि बढेको पाइएको छ । डल्फिन संरक्षणसँगै गोहीको पनि संरक्षण भएपछि संख्या बढेको हो ।

डल्फिन देखिने क्षेत्रमा मगर गोही र घडियाल प्रशस्त देखिने गरेको स्थानीय भोजराज ढुंगानाले बताए । उनले भने, ‘डल्फिन बचाउन माछा मार्न बन्द गरिएको छ । माछा खान पाएपछि गोहीको संख्या बढेको हो ।’

नदीमा पानी घटेपछि डल्फिन गए पनि गोही भने बाह्रैमहिना देखिने गरेको उनले बताए । उनका अनुसार गोहीले समय समयमा बाख्रा, हास र बंगुर पनि खाइदिने गरेको छ । गोहीको गणना नभइसकेकाले संख्या कति छ भन्ने एकिन भएको छैन । यसको संरक्षणका लागि सरकारी योजना र नीति नभए पनि स्थानीयको पहलमा गोहीको संरक्षण भएको ढुंगानाले बताए ।

स्थानीयका अनुसार १ क्विन्टलसम्मका गोही मोहना–पथरैया र काढा नदीको संगमस्थलमा देखिने गरेका छन् । करिब ५० वटासम्म घडियाल र मगर गोही रहेको अनुमान गरिएको स्थानीय संरक्षणकर्मी भोजराज श्रेष्ठले बताए ।

भजनी नगरपालिका २ मोहनपुरमा काढा नदीबाट आएको गोहीले गाउँमा आएर हास खाइदिने र बंगुर मारेको स्थानीय गंगाराम चौधरीले बताए । उनले भने, ‘राति खोरमै आएर गोहीले घरपालुवा जनावर आक्रमण गर्ने गर्छ ।’

प्रकाशित : श्रावण २१, २०७६ ०९:३३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्