पोहोर बगायो घर, अहिले आमाछोरी

संगीता तिमिल्सेना 

बाजुरा — आँखा विस्तारै खोलेर वरपर हेरे । को आयो, हे प्रभु, हे मेरा भगवान् ∕ उनले दुई हात जोडे । अस्पतालको शय्यानजिक कोही मानिस आउनेबित्तिकै सय वर्ष नाँघेका गौमुल गाउँपालिका–६ टाँडाकोटीका जंगे चँदारा छट्पटिन्छन् ।

पहिरोले बगाएको टाँडाकोटको घर र जोखिममा रहेको बस्ती । तस्बिर सौजन्य : रमित विक

अहिले कस्तो छ बुबाभन्दा उनी अलिअलि सास्ती भएको छ भन्दै शरीरभरिका नीलडाम देखाउँछन्। कतिखेर उठ्छन्, कतिखेर पल्टन्छन्। उकुसमुकुस गरिरहन्छन्। क्षणभरमै शिथिल हुँदै घोप्टो पर्छन्।

त्यसपछि उनका कुरुवा भाइ शिरे पानी पिलाएर शान्त गराउँछन्। ‘कठै पनातिनी र बुहारीको मुख देख्न पाइएन,’ त्यो उमेरमा जंगे चँदारा आँशु निकालेर डाको छोडेर रुन थालेपछि नजिकका सबै स्तब्ध भए। पहिरोले शुक्रबार मध्यरातमा घर भत्काएपछि उनको ज्यान त जोगियो तर पीडामाथि पीडा भने थपियो।

‘माथिबाट आएको पहिरोले घर भत्किँदै थियो। जेठालाई हामीले तानेर २ मिटर पर लग्यौं। बुहारी निरुता र नातिनी किस्मिता पल्लो कोठामा सुतेका थिए। उनीहरूले ऐय्या पनि गर्न पाएनन्। पहिरोले घरसँगै पुर्‍यो,’ जंगेले भक्कानिँदै भने। पोहोर भदौमा पनि यस्तै पहिरो आएको थियो। त्यतिबेला पनि घर भत्कियो। अन्नपात लत्ताकपडा सबै बेकाम भएका थिए। ‘त्यतिबेला सरकारले दया गर्‍यो। खाद्यान्न, पाल, लत्ताकपडा, दियो,’ उनले भने, ‘२ महिनासम्म गोरु बाँध्ने गोठमा बस्यौं।’

कात्तिकदेखि यतिबेला पहिरोमा भत्किएको घर बनाउन सुरु गरेका थिए। नयाँ घर बनाउन ७ महिना लाग्यो। त्यतिन्जेलसम्म गोरुगोठमै बसेको सुनाउँदै उनले भने, ‘भर्खर ३ महिना मात्रै भयो नयाँ घरमा बस्न थालेको।’ अन्त कतै जग्गा नभएकाले पोहोर पहिरो खसेकै ठाउँमा अर्को घर बनाएका हुन्। ‘पहिरोको अवस्था देख्दादेख्दै पनि हामी त्यहाँ बनाउन बाध्य भयौं। किनकि अन्त कहीं ठाउँ नै थिएन,’ उनले भने।

घर बनाउँदा ३ लाख नगद ऋण लागेको सुनाउँदै केही सहकारीबाट ऋण निकालेको उनले बताए। ‘केही ऋण गाउँकै दाजुभाइलाई हारगुहार गरी मागेका छौं,’ उनले सुनाए, ‘अहिलेसम्म एक जनाको पनि ऋण चुक्ता गर्नसकेका छैनौं। फेरि बगाइहाल्यो। बिहान–बेलुका पैसा माग्नेहरू घरमा खाली हुँदैन्थे। घटना भएको दिनदेखि मात्र पैसा माग्नेहरू आउन छाडेका छन्।’

त्यही गाउँ टाँडाकोटका १८ परिवारको अवस्था पनि जोखिममुक्त छैन। कसैका पनि अन्यत्र घर बनाउने जग्गा जमिन नभएकाले जोखिम मोलेरै त्यहाँ बस्न स्थानीय बासिन्दा बाध्य छन्। ‘चर्पी बनाउने ठाउँ पनि छैन। गाउँलेहरू बिहान खुला दिसा गर्छन्,’ टाँडाकोटका शिरे चँदारा भन्छन्, ‘घर ठियोबाहेक एक बित्ता जमिन छैन।’

पहिरोको जोमिख बढदै गएकाले त्यस ठाउँको दलित बस्ती नै सार्नुपर्छ भन्ने निष्कर्षमा गाउँलेहरू पुगेका छन्। ‘पोहोरसाल बस्ती सार्ने विषयमा छलफल भएको थियो,’ शिरेले भने, ‘सबैले नजिकैको सुरक्षित ठाउँ सिममा बस्ती सार्ने कुरा गरेका पनि हुन्। केहीको कुरो नमिलेपछि काम अघि बढ्न सकेन।’

प्रकाशित : श्रावण १९, २०७६ २१:०८
प्रतिक्रिया
पठाउनुहोस्

स्थानीय तहमा चन्द समूहको त्रास, धौलागिरी बन्दको प्रभाव कालीकोटमा

तुलाराम पाण्डे

कालीकोट — नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका मध्यपश्चिम कमाण्ड इन्चार्ज वीरजंगले साउन १ गते प्रेस विज्ञप्ति जारी गर्दै ७ गतेदेखि सेतो नम्बर प्लेटका सरकारी गाडी चल्न नदिने घोषणा गरे । चन्द समूहको संरचनाअनुसार मध्यपश्चिम कमाण्ड साविक धौलागिरीमा अञ्चलमा भए पनि कालीकोटका स्थानीय तहका जनप्रतिनिधिले आफ्नो क्षेत्र ठानेर गाडी चलाएनन् । 

तिलागुफा नगर उपप्रमुख दन्ता नेपाली साउन २५ गते नगर कार्यालय गाल्जेबाट कृषि शाखाको कामका लागि निजी बोलेरोमा फोइमहादेव पुगिन्। नगरको गाडी चलाउँदा जोखिम हुने भन्दै उनी सदरमुकामस्थित एक होटेलको बोलेरो झिकाएर फोइमहादेव पुगेकी हुन्। ‘नगरको गाडी नचलाउनु भन्ने सुनेर बोलेरो खोजियो,’ उपप्रमुख नेपालीले भनिन् ‘चालक पनि नभएकाले निजी बोलेरो भाडामा लिइएको हो।’

नरहरिनाथ गाउँपालिकाका अध्यक्ष धीरबहादुर बिष्ट र उपाध्यक्ष मनशोभा बुढा सुर्खेतबाट निजी गाडीमै जिल्ला फर्किए। उनीहरुले साउन पहिलो साता काठमाडौ‌ं लगेको गाउँपालिकाको सरकारी गाडी सुर्खेतमै छोड्नुपर्‍यो। ‘सरकारी गाडी चलाउन दिएका छैनन् भन्ने सुनियो, त्यसैले निजी भाडाको गाडीमा आयौं,’ अध्यक्ष बिष्टले भने, ‘पालिकाको गाडी तोडफोड हुन सक्छ भनेर नल्याएका हौं।’ असार १० गतेको नेपाल बन्दको अवज्ञा गरेर गाउँसभा संचालन गरेको भन्दै नरहरिनाथ गाउँपालिका कार्यालयमा चन्द समूहले आगजनी गरेको थियो।

साउन दोस्रो साता जिल्ला स्वास्थ्य कार्यालयले समेत सरकारी गाडी चलाएन्। जिल्ला अस्पताल सुरक्षामा गएका सुरक्षाकर्मीले नै गाडी सुरक्षित राख्नुहोस् भनेपछि गाडी थन्काएको निमित्त प्रमुख कटक महतले बताए। खाडाचक्र नगरपलिकाले पनि सरकारी गाडी नचलाएको उपप्रमुख विजया विष्टले बताइन्। जिल्लामा खाडाचक्र, रास्कोट, नरहरिनाथ, तिलागुफालगायत स्थानीय तहका गाडी र मोटरसाइकल छन्।

चन्द समूहले असार १९ गते जिल्लाका स्थानीय तहमा तालाबन्दी गरेको थियो। चन्द समूहले लगाएका ताला प्रहरीले असार २० गते नै फोडेको थियो। चन्द समूहले लगाएका सबै ठाउँका ताला प्रहरीले काटिसकेको जिल्ला प्रहरी प्रमुख डिएसपी विनोद शर्माले बताए। उनले जनप्रतिनिधिले चन्द समूहलाई चन्दा दिएर मिलेमतो गरेको आरोप लगाए।

गाडी बन्द गर्ने आफूहरुको योजना नरहेको चन्द समूहका जिल्ला सेक्रेटरी मनिलाल ऐडीले दाबी गरे। ‘सरकारी गाडी बन्द गर्ने धौलागिरीतिर पर्ने मध्यपश्चिम कमाण्डको योजना हो,’ उनले भने, ‘यहाँका सरकारी कार्यालयले आफैं डराएर बन्द गरेछन्।’

कालीकोट चन्द समूहको प्रभाव क्षेत्र मानिन्छ। कालीकोट पार्टी प्रवक्ता खडकवहादुर विश्वकर्माको गृह जिल्लासमेत हो। यही घर भएका पोलिटब्यूरो सदस्य भरत बम नेपालगन्ज र काठमाडौं जिल्ला सेक्रेटरी धिरेन्द्र उपाध्याय काठमाडौ‌ं जेलमा छन्।

प्रकाशित : श्रावण १९, २०७६ २०:२७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्