गोली प्रहारबाट डोटीमा १ को मृत्यु

कान्तिपुर संवाददाता

डोटी — जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने आदर्श गाउँपालिका–५ तल्लो डाँडावनमा गोली लागेर १ जनाको घटनास्थलमै मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक लालबहादुर धामीका अनुसार आदर्श गाउँपालिका–५ बस्ने ५० वर्षीय जङ्गे भुलले भरुवा बन्दुकले गोली हान्दा सोही ठाउँका १९ वर्षीय तपेश लुहारको मृत्यु भएको हो ।

शनिबार राति करिब १०:४५ बजेको समयमा सलामी डाँडावनमा आएका जङ्गली जनावर धपाउनलाई गोली हान्दा तपेशको टाउकोमा उक्त गोली लागेर मृत्यु भएको भन्ने खबर आएको प्रनाउ धामीले बताए । उनले भने, “जङ्गली जनावर धपाउन हानेको गोली लागेर मृत्यु भएको भन्ने खबर आएको छ, जिल्लाबाट थप अनुसन्धानका लागि प्रहरी टोली गएको छ, टोली पुगेपछि बाँकी विवरण भन्न सकिनेछ ।”

गोली प्रहार गर्ने जङ्गे भुल र उनले प्रयोग गरेको भरुवा बन्दुक प्रहरी चौकीमा नियन्त्रणमा लिएको बताइएको छ ।

प्रकाशित : श्रावण १९, २०७६ १०:३०
प्रतिक्रिया
पठाउनुहोस्

सीपको सम्मान

कान्तिपुर संवाददाता

‘सीपको सम्मान’ लेखले प्राविधिक शिक्षाको अवस्था घतलाग्दो गरी प्रस्तुत गरेको छ  । वास्तवमा सीपको मूल्यांकन अंकमा होइन, तहगत वा ग्रेडमा हुनुपर्छ  ।

हामीकहाँ जे काममा पनि खालि डिग्री हेर्ने चलनले काम बिगारिरहेको छ ।


हातमा कुनै सीप हुन्न, प्रमाणपत्रले के काम गरोस् ? मेरो विचारमा सीपको सम्मान नहुनुको एउटा कारण यो पनि हो । नत्र त कृषि, निर्माण, विद्युत्, मेकानिक्सजस्ता विषयमा स्तरीय सीप बोकेका व्यक्तिले समाजबाट सम्मान पाइरहेकै छन् । अर्कातिर सबै प्राविधिक शिक्षालय आफैंमा स्तरीय पनि छैनन् । पूर्वाधार नहेरी, राजनीतिक दबाबमा खुलेका प्राविधिक शिक्षालयका कारण यो क्षेत्रमा बढी बेथिति फैलिएको हो ।

गुणस्तरहीन जनशक्तिले सम्मान पनि कसरी पाओस् ? त्यस्ता शिक्षालयको स्थापनादेखि उत्पादनसम्म गुणस्तर ख्याल गर्नुपर्छ । प्रवेश परीक्षा, अनुगमन, सुपरीवेक्षण, परीक्षा प्रणालीमा समेत सरकारी र गैरसरकारीको भावना नराखी उत्पादित जनशक्तिले समान अवसर पाउने वातावरण बनाउनुपर्छ । निजी र सरकारी संस्थामा प्रयोग गरिने रसायन, भौतिकी र जनशक्तिको मापदण्ड कदापि फरक पर्नु हुँदैन । १० देखि ४ बजेसम्म खुट्टा हलाउने कार्यलाई रोजगारी बुझ्ने संस्कारको अन्त हुन सके सीपको सम्मान स्वतः हुँदै जान्छ ।
– भगवान झा, केन्द्रीय उपाध्यक्ष, निजी प्राविधिक शिक्षालय महासंघ नेपाल

प्रकाशित : श्रावण १९, २०७६ १०:२९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्