यार्चा सिजन सकियो, खुले विद्यालय

वसन्तप्रताप सिंह

बझाङ — नयाँ शैक्षिक सत्र सुरु भएपछि वैशाखमा जिल्लाभर भर्ना अभियान चलिरहेका बेला उत्तरवर्ती सुर्मा गाउँपालिकाका १४ वर्षीय रोशन बोहरा भने अभिभावकसँगै यार्चा टिप्न लेक उक्लिए ।

दौलीचौर माविमा कक्षा ७ पढ्ने उनी झन्डै ३ महिना लेकमै बसे । १ सय ५० गोटा यार्चा टिपेर हालै उनी घर फर्किए । ‘यति भए वर्षभरिको पढाइ खर्च पनि पुग्छ,’ उनले भने, ‘लेकको सिजन सकियो । अब स्कुल सुरु भयो ।’ यार्चा सिजन सकिएपछि यार्चा संकलन गर्न लेक पुगेका उत्तरी भेकका बासिन्दा पनि घर फर्कन थालेका छन् । अभिभावकसँगै लेक पुगेका विद्यार्थी घर फर्किएसँगै विद्यालयहरू खुल्न थालेका छन् ।

बर्खे बिदाको समय र विद्यार्थीहरू पनि लेक उक्लिएपछि बन्द भएका विद्यालयहरू खुल्न थालेका छन् । विद्यार्थीहरू यार्चा टिप्न हिँडेकाले माथिल्लो भेकका झन्डै ४ दर्जन विद्यालयको पठनपाठन सुरु भइसकेको थियो । तर विद्यार्थी स्कुल छाडेर यार्चा टिप्न गएपछि पठनपाठन अवरुद्ध भएका थिए । दौलीचौर माविमा पनि असारको तेस्रो साताबाट मात्रै विद्यार्थीहरूलाई पुस्तक वितरण गरी पढाइ सुरु गरिएको विद्यालय व्यवस्थापन समिति अध्यक्ष कलकबहादुर बोहराले बताए ।

कक्षा ३ देखि १२ कक्षासम्म पढ्ने अधिकांश विद्यार्थी वैशाखको पहिलो साताबाट यार्चा टिप्न जाने हुँदा शैक्षिक सत्रको सुरुमा पढाइ हुन सक्दैन । अहिले सबै फिर्ता भएपछि विद्यालय सुचारु भएका छन् । यो क्रम बर्सेनि चलिरहन्छ । विद्यार्थी यार्चा टिप्न जाँदा शैक्षिक सत्रको सुरुमा पढाइ नभएका विद्यालयहरूले बर्खे बिदा कट्टा गरी वैशाख, जेठ महिनाको पढाइ परिपूर्ति गर्ने गरेको दौलीचौरका शिक्षक अशोक बोहराले बताए ।

अभिभावकले नै विद्यार्थीलाई यार्चा टिप्न अभिप्रेरित गर्ने भएकाले वैशाखदेखि असारको तेस्रो साता तथा साउन पहिलो सातासम्म विद्यालय बन्द गर्नुपर्ने बाध्यता रहेको स्थानीय प्रेमबहादुर बोहरा बताउँछन् । ‘वर्षभरिका लागि कमाउने सिजन नै यही हो । यो बेला त सबै काम छोडेर लेक नगई हुँदै हुँदैन,’ बोहराले भने ।

यार्चा सिजनमा सुर्मा र साइपाल गाउँपालिकाका सबै विद्यालय बन्द हुने गर्छन् । यस्तै बुंगल, दुर्गाथली, छबिस पाथीभेरा र तल्कोट गाउँपालिकाका अधिकांश विद्यालय बन्द हुन्छन् । विद्यालयमा विद्यार्थी नआउने भएकाले विद्यालय बन्द हुने र अधिकांश शिक्षक पनि उनीहरूसँगै यार्चा टिप्न लेकतिर जाने गर्छन् ।

‘हामी पनि गाउँमा बसेर के गर्नु उनीहरूसँगै लेकतिर जान्छौं,’ धुली आधारभुत विद्यालयका शिक्षक धनबहादुर विष्टले भने, ‘यो बेला हाम्रो पनि अतिरिक्त आम्दानी हुन्छ । हिमाली क्षेत्रमा शिक्षक हुनुको फाइदा यहि हो ।’

यार्चा संकलन गरी स्थानीय फिर्ता भइसकेकाले साइपाल गाउँपालिकाभित्र रहेका सबै विद्यालयहरू पढाइ सुरु भइसकेको गाउँपालिका अध्यक्ष राजेन्द्र धामीले बताए । ‘विद्यार्थी स्कुल जान थाले, स्थानीय बासिन्दा खेतीपातीमा जुटेका छन् ।’ उनले भने । यार्चा टिप्न उत्तरी भेकका हजारौं विद्यार्थी, शिक्षक, अभिभावक, स्थानीय लेक पुगेका थिए । जिल्लामा वार्षिक झन्डै ३ सय केजी यार्चा संकलन हुने गरेको आकडा छ ।

प्रकाशित : श्रावण ११, २०७६ १०:५२
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

आलोपालो काममा महिला

मेनुका ढुंगाना

अछाम — जिल्लाका धेरै गाउँमा पुरुष भेटिँदैनन् । कामको सिलसिलामा पुरुष भारतमा गएका छन् । गाउँमा महिला, बालबालिका र वृद्धवृद्धा मात्रै छन् । पुरुष प्रायः कम भएका गाउँका महिलाहरूले खेतीपातीको अधिकांश काम आलोपालो गर्ने नियम बसाएका छन् ।

खेती गर्ने जग्गा धेरै र काम गर्ने मान्छे कम भएपछि यहाँका महिलाहरूले आलोपालो काम गर्नैपर्ने अवस्था रहेकाले पनि यो चलनलाई निरन्तरता दिएका हुन् ।

गोडमेल, रोपाइँ र अन्य कामको चटारो भएको बेला यहाँका महिलाको दैनिकि आलोपालो काममा बित्ने गर्छ । ‘पहिले देखि नै महिलाले आलोपालो काम गर्ने गरेका छन् । आज एकको भोलि अर्को छिमेकीको काम गर्छौं,’ मंगलसेन ५ कि खन्टी विकले भनिन्, ‘पहिले जस्तो आलोपालो काम अहिले कम भएको छ । पहिलेको तुलनामा अहिले घटेको छ ।’

पुस्ता परिवर्तनसंँगै काम गर्ने शैली बदलिए पनि पहिलेका महिला पुस्ताले मिलिजुली काम गर्ने गरेको उनको भनाइ छ । ‘बिहानै उठ्छौं । जसको काम बाँकी छ सबै उतै जान्छौं । कहिले धान कहिले, कहिले कोदो गोड्ने काम गर्छौं,’ मंगलसैनकै रुप्सी विकले भनिन्, ‘काम पनि हुन्छ । सुख दुःखका कुरा हुन्छन् । यो चलन जोगाइ राख्न मुस्किल छ ।’ दैनिक ज्याला दिएर काम गर्ने आर्थिक अवस्था नभएपछि महिलाहरू नै समूहमा आबद्ध हुनुपरेको रुप्सीको भनाइ छ । ‘एक दिन काम गर्न बोलाए ४ सय सम्म ज्याला दिनुपर्छ । हामी सबैको आर्थिक अवस्था एउटै भएकाले समूहमा काम गर्छौं,’ उनले भनिन् ।

महिलाहरू समूहमा आबद्ध भएर विभिन्न अभियान आरम्भ गर्न थालेपछि घरको काममा पनि आपसी सहयोगको भावना विकास भएको मंगलसैन ५ धौली विक बताउँछिन् । ‘पैसा बचत गर्ने, विकृतिविरुद्ध बोल्न थालेपछि सामूहिक काम गर्न थालेका हौं । पहिले यस्तै चलन थियो । बीचमा हरायो । हामीले फेरि यसलाई निरन्तरता दिएका छौं,’ उनले भनिन् ।

उनका अनुसार यो क्षेत्रका अधिकांश बस्ती रित्तिन थालेका छन् । गाउँघरमा पहिले जस्तो खेती गर्ने युवा भेटिन छाडेका छन् । पहिले उब्जनी हुने फाँटसमेत अहिले बाँझै हुन थालेका छन् । काम गर्ने जनशक्ति अभाव छ । वस्तुभाउ पाल्ने र घाँस काट्ने पहिले जस्तो काम पनि अत्यन्तै कम हुने गरेको छ ।

‘पैसा कमाएर सहरमा घरघडेरी जोडेपछि कोही पनि गाउँ फर्कंदैन,’ मंगलसैन १ कि वडासदस्य भुन्टी विकले भनिन्, ‘आयआर्जनका कार्यक्रम, युवालाई गाउँमा स्वरोजगार र दुर्गम बस्तीसम्म सरकारको उपस्थितिका लागि हामी लागेका छौं । बसाइँसराइ रोक्ने उपाय यही नै हो ।’ सर्वसाधारण गाउँको बस्ती चटक्कै छाडेर किन सहर झर्छन् । महिलाहरूले गाउँमा चलाएका आलोपालो काम गर्ने चलनहरूलाई जोगाउन सक्यो भने पनि बसाइसराई रोक्न सकिने उनको भनाइ छ ।

मंगलसैन नगरपालिकाका प्रमुख पदम बोहराले कृषिमा लगानी बढाएर बसाइँसराइ रोक्न गाउँमै काम गर्ने वातावरण बनाउन थालेको बताए । शिक्षित व्यक्तिलाई उत्पादनमूलक व्यवसायमा भुलाउन सके बसाइँसराइ रोकिने उनले दाबी गरे । ‘उत्पादनमूलक वस्तु, कृषि र पशुपालनमा सेयर लगानीको वातावरण बनाउन योजना बनाउँदै छौं,’ उनले भने, ‘सहकारीमार्फत आर्यआर्जनका अवसर बढाएर आत्मनिर्भर बनाउने र गाउँमै बस्न मन पराउने वातावरण मिलाउने कार्यक्रमको तयारीमा जुटेका छौं ।’

माटो परीक्षण गर्ने त्यसपछि फलफूल, तरकारी, जडीबुटी, अन्न उत्पादन, पशुपालनमा बिमा गरी आम्दानीको स्रोत बढाएपछि बसाइँसराइ घटाउने नगरप्रमुख बोहराले बताए । ‘गाउँमा गठन भएका महिला समूहले पनि सामूहिक काम गर्न थालेका छन् । उनीहरूलाई प्रोत्साहन दिने खालका कार्यक्रम बन्दै छन्,’ उनले भने।

प्रकाशित : श्रावण ११, २०७६ १०:५१
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
×