कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८५

चेलीबेटी बेचबिखन बढ्दो

मोहन बुढाऐर

धनगढी — चेलिबेटी बेचबिखनमा संलग्न दलालहरूले पछिल्लो समय पश्चिमका नाकाहरूको प्रयोग बढाएका छन् । कैलाली र कञ्चनपुरको सीमा नाकाबाट आव ०७५/७६ मा ३ सय ७९ चेलीको उद्धार गरिएको छ ।

कैलालीको त्रिनगर भन्सार नाकाबाट भारततर्फ बेच्न लैजाँदै गरेका १ सय ५७ युवतीको उद्धार गरेको माइती नेपालले जनाएको छ । तीमध्ये ४५ बालबालिका उमेर समूहमा पर्छन् । उक्त संस्थाले कञ्चनपुरको गड्डाचौकी सीमाबाट २ सय २३ युवतीको उद्धार गरिएको जनाएको छ । भारतबाट १३ जनाको उद्धार गरिएको छ ।


माइती नेपालका शिवचरण चौधरीले उच्च महत्त्वकांक्षी महिलाहरू जोखिममा पर्ने गरेको बताए । ‘जोखिम थाहा पाउँदा–पाउँदै पनि धन कमाउने लोभमा दलालको चक्रब्युँहमा पर्ने गरेका छन्,’ उनले भने, ‘यसैले महिला बेचबिखनमा कमी आउन सकेको छैन ।’


उनका अनुसार वैदेशिक रोजगारको प्रलोभनमा परेर महिलाहरू बेचिने क्रम बढेको छ । ‘गत आवमा उद्धार गरिएका महिलामा ९० प्रतिशत धन कमाउने लोभमा दलालको फन्दामा परेको देखिन्छ,’ उनले भने, ‘पछिल्लो समयमा म्यारिज ब्युरो र अनलाइन विवाहका नाममा पनि युवती बेचिन गरेको पाइएको छ ।’


वैदेशिक रोजगारका नाममा खाडी मुलुक लैजाने भन्दै भारतका विभिन्न सहरमा बेचिएका चेलिबेटीको समेत उद्धार गरिएको चौधरी बताउँछन् । ‘पहिला स्थानीय युवती कमै बेचबिखनमा पर्थे,’ उनले भने, ‘पूर्वतिरका युवतीहरू बढी समातिने गरेका थिए । अहिले पश्चिमतिरकै बढी छन् ।’


उनले पश्चिमेली समाजबाट पनि महिला वैदेशिक रोजगारमा आकर्षण बढेको कारण बेचबिखनको जोखिममा बढी परेको बताए । ‘भारतको दिल्ली पुग्न सजिलो र छोटो हुने भएर पश्चिम नाकाको प्रयोग बढेको देखिन्छ,’ उनले भने, ‘पश्चिमको तुलनामा पूर्वी नाकामा सुरक्षा कडाइ हुने र खुला अवैध नाका बढी भएको कारण पनि पश्चिमी नाका प्रयोग बढी भएको हो ।’


अवैध नाकाको प्रयोग

पश्चिमका सीमा नाकाहरूमा चेलिबेटी बेचबिखनका दलालहरूले तथ्यांकमा नदेखिए पनि अवैध नाकाको प्रयोग बढी गर्ने गरेका छन् । पश्चिमको वैधानिक सीमा नाका कञ्चनपुरको गड्डाचौकी, कैलालीको टीकापुर खक्रौला र धनगढी भन्सार मात्रै हुन् ।


चेलीबेटी बेचबिखनमा निगरानी गर्ने संस्था माइती नेपालको गड्डाचौकी र धनगढी भन्सारमा मात्रै चेकपोस्ट रहेको छ । कैलालीको १ सय २ किमि सीमा क्षेत्रको जुनसुकै अवैध नाकाबाट पनि दलालले चेलीबेटीलाई सजिलै सीमा कटाउन गराउन सक्छन् ।


माइती नेपालले गरेको एक अध्ययनअनुसार कैलालीको भजनी लालबोझी, हसुलिया, फूलबारी, कञ्चनपुरको बेलौरी, पुनर्बास, दोदधारा चाँदनी, बैतडीको भुलाघाट र दार्चुला नाकाबाट चेलीबेटी बेचबिखनमा पर्ने गरेका छन् ।


बेपत्ताको संख्या पनि बढदै

कैलालीमा बेपत्तामा परेका महिला तथा बालबालिकाको संख्या पनि पछिल्लो समयमा बढदै गएका छन् । बेपत्तामा पर्ने अधिकांश महिला तथा बालबालिकाहरू भारतका बिभिन्न सहरमा बेचिन पुगेको माइती नेपालकै अध्ययन प्रतिवेदनमा छ ।

प्रकाशित : श्रावण ९, २०७६ १०:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?