कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

५० करोड बजेट फ्रिज

कञ्चनपुर — कञ्चनपुरमा गत आर्थिक वर्ष विकास बजेटतर्फको ५० करोड बढी रकम फ्रिज भएको छ । संघीय सरकारबाट आएको बजेटमध्ये ४७ करोड र प्रदेश सरकारको बजेटमध्ये ७ करोड रकम फ्रिज भएको हो ।

कोष तथा लेखा नियन्त्रक कार्यालय कञ्चनपुरका अनुसार संघीय सरकारको कुल पुँजीगत बजेट ४ अर्ब १९ करोड ८० लाखमध्ये ३ अर्ब ७२ करोड ४० लाख खर्च भएको छ ।


पुँजीगत खर्च प्रगति गत वर्षभन्दा दुई प्रतिशतले बढेको कोष नियन्त्रक खेमराज ओझाले बताए । ‘यस वर्ष ८८ प्रतिशत बजेट खर्च भएको छ, अघिल्लो वर्ष ८६ प्रतिशत थियो,’ उनले भने ।


संघीय सरकारको चालुतर्फ ६ अर्ब ७१ करोडमध्ये ६ अर्ब २७ करोड खर्च भएको छ । पुँजीगत खर्चको तुलनामा चालु खर्च बढी छ । चालु खर्चको ९३ दशमलव ५ प्रतिशत छ । जुन गत वर्षको तुलनामा १ प्रतिशत बढी हो । यसैगरी सुदूरपश्चिम प्रदेश सरकारबाट आएको ३५ करोड २४ लाखमध्ये २८ करोड ५८ लाख मात्रै खर्च भएको छ ।


खर्च भएको रकम कुल पुँजीगत बजेटको ८१ दशमलव १ प्रतिशत हो । प्रदेश सरकारको चालुतर्फको बजेट पनि कम खर्च भएको छ । कोष नियन्त्रक ओझाका अनुसार चालुतर्फ ६४ करोड ८१ लाखमध्ये ५० करोड ६८ लाख मात्रै खर्च भएको छ ।


जिल्लामा महाकाली पुल आयोजना, महाकाली सिँचाइ आयोजना तेस्रो चरण लगायतका योजनामा बहुवार्षिक ठेक्काअन्तर्गत निर्माण कार्य चलिरहेको छ । यसबाहेक स्थानीय तह, विभिन्न सडक योजना, तटबन्ध आदिको रकम फ्रिज गएको प्रारम्भिक चरणमा देखिएको छ । जिल्लामा रहेको ७ नगरपालिका र २ गाउँपालिकामा सञ्चालित विभिन्न योजनाको बजेट फ्रिज भएको हो ।

स्थानीय तहमा समेत बजेट फ्रिज

संघीय सरकार र प्रदेश सरकारबाट सशर्त र समपूरकको बजेट ढिलो आएका कारण टेन्डर प्रक्रिया सुरु गर्न नपाएरसमेत बजेट फ्रिज भएको हो । ‘भवन निर्माणका लागि वैशाखमा बजेट आएको छ, टेन्डर तथा अन्य प्रक्रिया पूरा गर्नै २०/२५ दिन लाग्छ,’ बेदकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज जोशीले भने, ‘ढिला बजेट आएकै कारण योजना सुरु नगरेरै बजेट फ्रिज भयो ।’ उनका अनुसार बेदकोट नगरपालिकामा ६ करोड बढी रकम फ्रिज भएको हो ।


कञ्चनपुरकै महाकाली नगरपालिकामा पनि संघीय र प्रदेश सरकारबाट आएको कुल पुँजीगत खर्चमध्ये १० प्रतिशत फ्रिज भएको अनुमान गरिएको छ । ९० प्रतिशत बजेट खर्च भएको महाकाली नगरपालिकाका योजना अधिकृत भानदेव भट्टले बताए । महाकाली नगरपालिकामा विभिन्न कार्यक्रमअन्तर्गत २९ करोड ७६ लाख बढी पुँजीगत बजेट आएको थियो । कृष्णपुर नगरपालिकामा पनि ३ करोडको हाराहारीमा बजेट फ्रिज गएको छ ।


ढिलो गरी बजेट आउने, अहिले पनि आवश्यक कर्मचारीको अभाव लगायतका कारण बजेट खर्च हुन नसकेको नगरपालिकाका सूचना अधिकारी प्रेम बोगटीले बताए । ‘जेठ अन्तिमसम्म पनि विभिन्न शीर्षकमा बजेट आइरहेको थियो,’ उनले भने, ‘त्यसको कतिबेला टेन्डर गर्ने र कतिबेला काम गर्ने ?’

प्रकाशित : श्रावण २, २०७६ ०९:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?