झगडा गाउँ, बन्यो झलकपुर

वसन्तप्रताप सिंह

बझाङ — बुंगल नगरपालिकाको ६ मा पर्ने खौलाधार बजारबाट ठाडै उकालो २ घण्टा हिँडेपछि डाँडाको टुप्पोमा रहेको गाउँमा पुगिन्छ । डाँडा वरिपरि प्लानिङ गरी बस्ती बसाएजस्ता घरहरू । गाउँको अगाडि फाँट परेका बारी । बारीभरी हरिया मकै । झट्ट हेर्दा पोखरातिरको कुनै पर्यटकीय गाउँ जस्तो लाग्ने यो ठाउँको नाम हो ‘झगडा’ ।

लिफ्टिङ प्रणालीबाट बनाइको धारामा पानी भर्दै स्थानीय महिला (माथि) र खानेपानी आयोजनाको औपचारिक उद्घाटन गर्दै बुंगल नगरपालिका प्रमुख धनबहादुर विष्ट ।तस्बिर : वसन्तप्रताप/कान्तिपुर

गाउँको नामै ‘झगडा’ ? सुन्दा सबै लाई अच्चम्म लाग्न सक्छ । तर यो यथार्थ हो । यो गाउँको नाम मात्र झगडा होइन । ९ महिना अघिसम्म यहाँ दैनिक जसो झगडा हुने गर्थ्यो । सामान्य बाझाबाझ र हारालुछ नभएको त दिनै हुँदैनथ्यो । झगडाको कारण थियो ‘पानी’ । डाँडाको टुप्पोमा बस्ती भएका कारण गाउँभन्दा माथि पानीका मुहान छैनन् ।

खानेपानी लिन करिब आधा घण्टा ओरालो झरेर कुवामा पुग्नुपर्थ्यो । कुवामा पालैशान्ति पानी भर्ने चलन थियो । एक जनाले पानी भरेपछि कुवामा अर्को गाग्री पानी जम्मा हुन समय लाग्थ्यो । ‘कुवामा पानी जम्मा हुँदै छ । थपक्कै त्यहीं बस्नुपर्थ्यो,’ स्थानीय अञ्जना बोहराले भनिन्, ‘दायाँ(बायाँ भयो कि झगडा सुरु भइहाल्थ्यो ।’

गाउँको नाम झगडा रहनुको कारणबारे भने सबै जानकार छन् । ‘खासमा यो गाउँको नाम झगडा होइन । झाँकाडा हो,’ स्थानिय अर्जुन गुर्धामीले भने, ‘पानीकै लागि सधैंजसो झगडा हुने भएकाले सबैले झगडा भन्न थाले । पछि गाउँको नामै झगडा रह्यो ।’ गत वर्ष कात्तिकमा यो गाउँमा खानेपानी आयोजना बन्यो । घर–घरमा चौबीसै घण्टा पानी आउने धारा बने । योसँगै पानीका लागि हुने पुस्तौंदेखिको झगडाको शृंखला पनि अन्त्य भयो ।

यही खुसीमा यहाँका बासिन्दाले गाउँको नामै फेरिदिए । गाउँको नाम झगडा हैन अब ‘झलकपुर’ । झलकपुर खानेपानी आयोजना उपभोक्ता समिति अध्यक्ष दीपेश गुर्धामीले भन्छन्, ‘झगडा हुने विषय नै अन्त्य भएपछि गाउँको नाम पनि फेरेका हौं । हाम्रा बाजे–बराजुका पालादेखीको पानीको दुःख पनि त्यही नामसँगै सकिएको छ ।’ झगडा गाउँको नाम मात्र नभएर परिचय जस्तै बनिसकेकाले नामै फेरेको उनले बताए । उनले भनेजस्तै नाम मात्र होइन ।

गाउँमा खानेपानी आयोजना बनेयता यहाँका महिलाहरूको दैनिकी पनि फेरिएको छ । ‘बिहे गरी यहाँ आएको २३ वर्ष भयो,’ स्थानीय धौलीदेवी सिंहले भनिन्, ‘ढुक्कले सुत्न पाएको यही ९ महिना हो,’ उनले पानी लिन रातभर जाग्राम बस्नुपर्ने भएका कारण यस गाउँमा धेरै जसोले छोरीचेली दिन (विवाह गरिदिन) नमान्ने गरेको बताइन् ।

हालसम्म कसैले पनि सुल्झाउन नसकेको यहाँको खानेपानी समस्याको समाधान सौर्य ऊर्जा प्रविधिकै कारण सम्भव भएको हो । बुंगल नगरपालिकाको ग्रामिण जलस्रोत व्यवस्थापन परियोजनाले सोलार लिफ्टिङ प्रविधि प्रयोग गरी गाउँभन्दा करिब आधा किमि तल पहराको फेदमा रहेको मुहानबाट बनाएको हो ।

विद्यालयमा समेत गरी ७ धारामा चौबीसै घण्टा पानी बग्न थालेपछि अहिले यो गाउँको मुहारै परिवर्तन भएको छ । सधैंजसो फोहोर हुने यहाँका मानिस सफा सुग्घर भएका छन् । धाराबाट खेर गएको पानी प्रयोग गरी प्रत्येक घरका करेसामा तरकारी फलेका छन् । सबैका घर–घर सफा चर्पी बनाइएको छ ।

अहिले र ९ महिनाअघिको अवस्था हेर्दा गौमती गुर्धामीलाई सपना झै लाग्छ । झगडा गाउँको झगडा साम्य पार्ने यो खानेपानी आयोजना निर्माण गर्न झन्डै ४२ लाख रुपैयाँ लागेको छ । ग्रामिण जलश्रोत व्यवस्थापन परियोजनाका सल्लाहाकार विष्णु पोखरेलले कुनै कारणले एउटा मोटरमा समस्या आए पनि त्यो मर्मत गरुन्जेल सम्म खानेपानी समस्यानहोस् भनेर वैकल्पिक मोटरको व्यवस्था मिलाइएको बताए ।

बुंगल नगरपालिका प्रमुख धनबहादुर विष्टले प्रविधिको चमत्कारकै कारण झलकपुरका बासिन्दाको दुःख अन्त्य भएकामा आफूलाई सन्तोष मिलेको बताए । ‘गाउँभन्दा माथि मुहान थिएन । पानीका दुःख देखेर बस्ती नै सार्ने कि भन्नेसम्म पनि सोचेका हौं । तर, सौर्य प्रविधिका कारण गाउँमै पानी पुर्‍याउन सफल भएका छौं ।’ उनले यस्तो समस्या भएको नगरपालिकाका अन्य क्षेत्रमा पनि यो प्रविधिको विस्तार गर्ने सोचमा नगरपालिका रहेको बताए ।

प्रकाशित : असार ३१, २०७६ ०९:१५
प्रतिक्रिया
पठाउनुहोस्

शैल्यशिखर मालिकार्जुन पुजन सुरु

कान्तिपुर संवाददाता

दार्चुला — असार शुक्ल चतुर्दशीका दिनबाट देशकै सातौधाम शैल्यशिखर मालिकार्जुनको पुजन जात्रा सुरु भएको छ । शैल्यशिखर धाम तथा मालिकार्जुन मन्दिरमा लाग्ने पुजन जात्राको यात्रा आरम्भ सोमबारबाट सुरु भएको हो ।

मालिकार्जुन गाउँपालिका ३ स्थित मडमा रहेको भण्डारी घरबाट शिखरधामको यात्रा आरम्भ हुने गर्छ । शैल्यशिखर धाम पुजन गर्न श्रद्धालु भण्डारी घरबाट शिखर धुरा (धाम) का लागि हिँडेको मालिकार्जुन गाउँपालिका अध्यक्ष नरेन्द्रसिंह धामीले बताए ।

पवित्र मनले शैल्यशिखरको दर्शन गर्दा मनोकामना पूरा हुनुका साथै निःसन्तानलाई सन्तान सुख हुने जनविश्वास छ । ‘हिन्दु धर्माबलम्बीको आस्थाको धरोहर दर्शन गर्न विवाहित महिला तथा ब्रतबन्ध गरेका पुरुष १५ दिनअघि देखि नै शुद्ध भएर यात्रा गर्नुपर्ने जनविश्वास छ,’ धामीले भने, ‘शैल्यशिखर धाम यात्राका लागि अविवाहित महिला र व्रतबन्ध नगरेका पुरुषहरू जाँदैनन् ।’

शिवलिगंका रुपमा परिचित शिखर धाममा मालिकार्जुन तथा भागाश्री अर्थात् शिव–पार्वतीको मुख्य बासस्थान रहेको जनविश्वास रहेकाले विभिन्न स्थानबाट दर्शन गर्न आउने भक्तजनको भीड लाग्छ । शैल्यशिखर धामसम्म तलैबाट खाली खुट्टाले हिँडेर जानुपर्ने स्थानीय बताउँछन् ।

शिखर जात्राका लागि दार्चुला, बैतडी, डडेलधुरालगायत सुदूरपश्चिमका विभिन्न जिल्ला तथा छिमेकी भारतको उत्तराखण्डबाट समेत श्रद्धालु भक्तजन मालिकार्जुन आउने गरेका छन् । टाढाबाट आउने भक्तजन आइतबार साँझ मालिकार्जुन मन्दिर पुगिसकेका छन् ।
मालिकार्जुन गाउँपालिका र शैल्यशिखर नगरपालिकाको सीमा क्षेत्रमा पर्ने शैल्यशिखर धाममा हरेक वर्ष असार शुक्ल चतुर्दशीका दिन र कार्तिक शुक्ल त्रयोदशीका दिन शिखर पुजन जात्रा लाग्छ ।

सरकारले पर्यटन विकासका लागि सय गन्तव्यभित्र पर्ने दार्चुलामा अवस्थित देशकै सातौधाम मालिकार्जुन मन्दिर र शैल्यशिखर धामसम्म जाने पर्यटन विकासका पूर्वाधार निर्माण भइरहेका छन् ।

प्रकाशित : असार ३१, २०७६ ०९:१३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्