कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मौलायो बेथिति र भ्रष्टाचार

डडेलधुरा — स्थानीय तहमा जनप्रतिनिधि आएको २ वर्ष भएको छ । जनप्रतिनिधि आएसँगै स्थानीय तहमा बेथिति पनि मौलाउँदो छ । ‘विकास समृद्धि धेरै टाढाको विषय हो भ्रष्टाचार र बेथिति संस्थागत भयो,’ भागेश्वर गाउंँपालिका १ का वडासदस्य कामदेव नाथले भने, ‘संघीयता र स्थानीय सरकारको जनतालाई अनुभूति हुने गरी हामीले कुनै काम गर्न सकेनौं ।’

उनीसंगै विजयी अर्का वडासदस्य कर्ण ठकुराठी पनि स्थानीय तहका २ वर्षको मूल्यांकन गर्दै भन्छन्, ‘गाउँंमा जति बजेट आयो त्योभन्दा बढी विकृति र भ्रष्टाचार भित्रियो ।’ जनताले आहा भन्ने गरी जनप्रतिनिधिले कुनै काम गर्न नसकेको उनको गुनासो थियो । ‘जनता के भन्छन् ? जनताभन्दा हामी जनप्रतिनिधिले नै संघीयता र गणतन्त्रको अनुभूति गर्न सकेनौं,’ ठकुराठीले भने, ‘के के होला भनेर चुनाव लडियो तर जनताका कामभन्दा बेथिति र भ्रष्टाचारको साक्षी मात्र भइयो ।’ उनीहरू मात्र होइन स्थानीय तहमा निर्वाचन भएको २ वर्षको मूल्यांकन र समीक्षा गर्न १६ स्थानीय तहमा आयोजित कार्यक्रमका अधिकांश सहभागीले यी २ वर्ष जनताका लागि हर्ष न बिस्मात भएको प्रतिक्रिया दिएका छन् । कार्यक्रमका सहभागीले जनप्रतिनिधिका २ वर्षे कार्यकालको आलोचनासमेत गरेका छन् । असार १४ गते स्थानीय तह चुनाव भएको २ वर्ष पुग्यो ।


‘भ्रष्टाचारका उजुरी नपरेका, विकास योजनामा विवाद नभएका, काल्पनिक योजना वनाएर कार्यकर्तालाई रकम नबाँडेका, प्रचलित कानुन र ऐनभन्दा कार्यपालिकाको निर्णयका नाममा जथाभावी नगरेका स्थानीय तह भेटाउनै मुस्किल छ,’ कार्यक्रमका संयोजक पदमबहादुर जोराले भने, ‘२ वर्षमा स्थानीय तहमा भएको ठूलो लगानी विकास निर्माणभन्दा पनि समाजलाई अनैतिक वनाउने काममा खर्च भएको अनुभूति भएको छ ।’


‘यो २ वर्ष उत्साहभन्दा पनि वितृष्णा बढी भयो,’ शिक्षक वीरभान शाहीले भने, ‘२ वर्षमा केही करोडपति हुनुबाहेक समाजलाई नयांँ दिशा दिने केही भएन ।’


‘बैतडीको दोगडा केदार गाउंँपालिकाले गरेका निर्णय सबै सार्वजनिक हुने हो भने संघीयताबाट सबैको विश्वास उठ्न सक्छ,’ स्थानीय शिक्षक धर्मबहादुर साउंदले भने । सुदुरपश्चिम प्रदेशका ८८ स्थानीय तह मध्ये समीक्षा कार्यक्रम आयोजना गरिएका विभिन्न जिल्लाका १६ स्थानीय तहका अधिकांश जनप्रतिनिधि र कर्मचारीले मिलेर अनियमितता गरेको भन्दै अख्तियारमा दर्जनौं मुद्दा दर्ता भएको छ । डडेलधुराको आलीताल गाउंँपालिकाको नाममा मात्र ७ भन्दा बढी मुद्दा अख्तियारमा परेका छन् । बैतडीको दोगडा केदार गाउंँपालिकाका नाममा परेका मुद्दाको संख्या डेढ दर्जन बढी छ ।


डडेलधुरा, बैतडी, दार्चुला, डोटी, बझाङ र अछामका अधिकांश स्थानीय तहमा पनि सर्वसाधारणले गरेका आर्थिक अनियमितताका उजुरीले स्थानीय तह विकास निर्माणभन्दा पनि आर्थिक अनियमिततामा मात्र केन्द्रित रहेको अनुभूति गर्न सकिन्छ । समीक्षा कार्यक्रमका संयोजक जोरा भन्छन् ‘सर्वसाधारण मात्र होइन स्वयं निर्वाचित जनप्रतिनिधिसमेत स्थानीय तहका २ वर्षे कार्यकाललाइ भ्रष्टाचारकालका रूपमा चित्रित गर्छन् ।’

प्रकाशित : असार १९, २०७६ १२:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?