बन्दै जलविद्युत् आयोजना

मनोज बडू

दार्चुला — सरकारले अत्तरिया–चमेलिया १३२ केभी राष्ट्रिय प्रसारण लाइन निर्माण गरेपछि दार्चुलामा जलविद्युत् आयोजना निर्माण बढेको छ । प्रसारण लाइन निर्माणले चमेलिया तटीय क्षेत्रमा जलविद्युत्मा निजी क्षेत्रको लगानी बढ्दै गएको हो । 

यो क्षेत्रमा राष्ट्रिय प्रसारण लाइन निर्माण भएपछि चमेलिया नदी र यसका सहायक नदीमा निजी क्षेत्रका व्यक्तिहरूले जलविद्युत्को क्षेत्रमा ठूलो लगानी लगाइरहेका छन् । केही आयोजना निर्माण सम्पन्न भइसकेको र केही निर्माणाधीन अवस्थामा छन् । केही निर्माण कम्पनीहरूले जलविद्युत् आयोजना निर्माणका लागि प्रक्रिया अगाडि बढारइहेको जनाएका छन् ।

अपीहिमाल गाउँपालिका ५ मकरिगाडमा १० मेगावाट क्षमताको मकरिगाड जलविद्युत् आयोजनाको निर्माण सुरु भएको छ । मकरिगाड हाइड्रोपावर प्रालिले निर्माण गर्न लागेको उक्त आयोजना दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखेको आयोजनाले जनाएको छ । आयोजनाका अनुसार दुई अर्ब ५ करोड लागतमा निर्माण हुन लागेको उक्त आयोजनाले दुई वर्षभित्र विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको मकरिगााड हाइड्रोपावर प्रालिका इन्जिनियर उपेन्द्रबहादुर चन्दले जानकारी दिए ।

सुरुमा आयोजनाले सन् २०१९ भित्र नै विद्युत् उत्पादन गर्ने लक्ष्य लिएको भए पनि आयोजना स्थलसम्म सडकको पहुँच नभएपछि निर्माण कार्य सुरु गर्न ढिलाइ भएको हो । ‘गत पुसबाट नै निर्माण कार्य थालनी गर्ने सुरुको योजना थियो,’ चन्दले भने, ‘पारिबगडबाट मकरिगाडसम्म सडक निर्माण नभएपछि पछाडि धकेलिएको हो ।’ अहिले मकरिगाडसम्म आयोजनाकै इक्युप्मेन्ट प्रयोग गरेर सडक निर्माण गरिएको उनको भनाइ छ । निर्माण सामग्री ढुवानीमा समस्या देखिएपछि आयोजनाले नै मकरिगाडसम्म सडक सम्याएको हो ।

पहिलो चरणमा आयोजनाले सिभिलतर्फको पावरहाउस निर्माणसुरु गरिएको छ । अपीहिमाल गाउँपालिका ५ कै खातीगाउँमुनि
ड्यामबाट ३ हजार २५० मिटरको दूरीबाट मकरिगाडमा पेनस्टक पाइपमार्फत पानी लिएर विद्युत् उत्पादन गरिनेछ । सुरुमा सिभिलतर्फको र केही समयपछि इलेक्ट्रोनिकल र मेकानिकलको काम सुरु गरिने चन्दले बताए ।

उनका अनुसार मकरिगाडबाट चमेलियाको बलाचसम्म डबल सर्किटको ३३ केभी प्रसारण निर्माण गरेर बलाचबाट राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ ।

जिल्लाकै अतिविकट अपीहिमाल गाउँपालिकामा अहिलेसम्म विद्युत् सञ्जालमा नजोडिएको यो आयोजना निर्माण भएपछि यसले गाउँपालिकामा विद्युत् विस्तार गर्न र स्थानीय सरकारलाई आम्दानीको स्रोत बन्न सक्ने स्थानीय कमलसिंह धामीले बताए । ‘यो क्षेत्रमा ठूलो लगानीको आयोजना निर्माण हुँदा स्थानीयले मजदुरीसँगै रोजगारी मिलेको छ,’ उनले भने, ‘यहाँको विकासमा पनि मद्दत पुग्ने देखिन्छ ।’ विद्युत् आयोजना निर्माणका कारण स्थानीयले आफ्नै क्षेत्रमा उत्पादन भएको विद्युत् उपभोग गर्न पाउनुका साथै विकाससँग जोडेको छ । आयोजनाकै कारण पारिबगडबाट मकरिगाडसम्मको सडक निर्माण भएको उनको भनाइ छ ।

चमेलिया नदीबाट ८५ मेगावाट क्षमताको माथिल्लो चमेलिया आयोजना निर्माण गर्न निजी क्षेत्रले चासो देखाएको छ । नेपाल सरकारको लगानीमा ३२ मेगावाट क्षमताको छत्तीगाड जलविद्युत्् आयोजना निर्माणबारे अध्ययन भइरहेको छ । निजी क्षेत्रबाटै निर्माण गर्ने गरी ४० मेगावाट क्षमताको माथिल्लो चमेलिया र २० मेगावाट क्षमताको तल्लो चमेलिया निर्माणबारे समेत अध्ययन भइरहेको छ ।

यसअघि ३० मेगावाट क्षमताको चमेलिया जलविद्युत् आयोजना निर्माण सम्पन्न भइसकेको छ । चमेलियासम्म १३२ केभीको राष्ट्रिय प्रसारण लाइन निर्माण भएपछि नौगाड हाइड्रोपावर कम्पनी लिमिटेडले साढे ८ मेगावाटको विद्युत् उत्पादन गरिसकेको छ । ८ मेगावाट विद्युत् उत्पादनको अन्तिम तयारीमा रहेको कम्पनीले जनाएको छ । अपी हिमाल गाउँपालिका भएर बग्ने चमेलिया नदीसँगै छत्तीगाड, छुमछुमगाड, मज्जेगाडलगायत खोलाबाट विद्युत्् उत्पादन गर्न सकिने अत्यधिक सम्भावना छ ।

प्रकाशित : असार १०, २०७६ १०:३१
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

तरकारी आयातमा कडाइ

वाणिज्य विभागले विषादीको परीक्षण प्रमाणपत्रमा खानयोग्य भएपछि मात्रै भित्रिन दिन भन्सार कार्यालयमा पत्राचार गरेको छ ।
भवानी भट्ट

कञ्चनपुर — भारतबाट हुने तरकारी तथा फलफूल आयातमा कडाइ गरिएको छ । अत्यधिक मात्रामा हुने विषादीको प्रयोगका कारण सीमा नाकामा तरकारी र फलफूल आयातमा कडाइ गरिएको हो । 

वाणिज्य विभागले विषादीको परीक्षण प्रमाणपत्रमा खानयोग्य भएपछि मात्रै भित्रिन दिने भन्सार कार्यालयमा पत्राचार गरेको छ । यही कारण ३ दिनदेखि भारतबाट आयात भइरहेको तरकारी र फलफूल रोकिएको हो । विगतमा आँखाले हेरेर मात्रै रोग कीरा नभएको भन्ने प्लान्ट क्वारेन्टाइन कार्यालयको लिखितपत्रकै आधारमा भन्सार शुल्क लिइने गरिन्थ्यो ।

तर अब विषादी परीक्षणपछि मात्रै भित्रिन पाउने भएको छ । ‘सबै नाकाबाट तरकारी आयात बन्द भएको छ,’ कञ्चनपुर भन्सार कार्यालयका भन्सार अधिकृत रामप्रसाद पोखरेलले भने, ‘वाणिज्य विभागको निर्देशनअनुसार शुक्रबारदेखि बन्द भएको हो ।’ उनले विषादी परीक्षण कहाँ गरिएको हुनुपर्ने भन्ने विषयमा भने पत्रमा कुनै कुरा उल्लेख नभएको बताए ।

गतवर्ष कैलालीको अत्तरियास्थित ल्याबमा गरिएको परीक्षणअनुसार भारतबाट आयात हुने तरकारीमा विषादीको मात्रा अत्यधिक भएको पाइएको थियो । क्षेत्रीय प्लान्ट क्वारेन्टाइन कार्यालय गड्डाचौकीका प्रमुख गजाधर जोशीका अनुसार तरकारी र फलफूलमा ३५ प्रतिशतभन्दा कम विषादी भएमात्रै खानयोग्य मानिन्छ । त्यसभन्दा माथि विषादी भए ५ वा ७ दिनपछि मात्रै खानयोग्य हुने उनले बताए ।

‘हामीले रोग कीरामात्रै हेर्ने हो, विषादी परीक्षण गर्ने यहाँ कुनै उपकरण छैन,’ जोशीले भने, ‘यहाँ तरकारी रोकिएको छ, तर के कति कारणले रोकिएको हो भन्ने जानकारी छैन ।’ प्लान्ट क्वारेन्टाइन कार्यालयको तथ्यांकअनुसार कैलालीको गौरीफन्टा र कञ्चनपुरको गड्डाचौकी नाकाबाट मात्रै एक वर्षमा ५० करोड बढीको तरकारी तथा फलफूल आयात हुने गरेको छ । आलुमात्रै २५ करोडको आयात हुने गरेको छ ।

विषादी ल्याब अत्तरियामा छ । ३५ प्रतिशत कम देखिए खानयोग्य मानिन्छ । त्यसभन्दा माथि भए ५ वा ७ दिनसम्म पर्खनुपर्ने हुन्छ । गतवर्ष गरिएको परीक्षणमा भारतबाट आयात भएको तरकारीमा ५० प्रतिशत बढी विषादी भेटिएको थियो । कञ्चनपुर भन्सार कार्यालयका अनुसार असारयता मात्रै भारतबाट ५५ ट्रक तरकारी र फलफूल आयात भएको छ । प्रतिट्रक ६ देखि ८ टनसम्म ढुवानी हुने गरेको छ । अझ साइकल र मोटरसाइकलमा पनि ठूलो मात्रामा आयात हुने गरेको छ ।

यसअघि फागुनदेखि माछा तथा माछाजन्य पदार्थ आयातमा पनि कडाइ गरिएको छ । भारतकै क्वारेन्टाइन कार्यालयको स्वच्छता र स्वस्थताको प्रमाणपत्र बिना आयात हुन नदिने संसदीय समितिको निर्देशनपछि माछा आयातमा कडाइ गरिएको हो । पछिल्लो पटक केही व्यवसायीले दिल्लीबाट उक्त प्रमाणपत्र बनाएर आयात भइरहे पनि विगतको तुलनामा निकै कम भएको छ ।

आवश्यक प्रक्रिया पुर्‍याएर मात्रै पनि आयात हुन दिने हो भने विभिन्न किसिमका रोग कीरा र विषादीयुक्त तरकारीको प्रयोगबाट जोगिने स्थानीय बताउँछन् । यसले स्थानीय उत्पादनले पनि बजार पाउने र कृषकलाई उत्साहित बनाउने प्राविधिकहरू बताउँछन् ।

प्रकाशित : असार १०, २०७६ १०:३०
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT