श्रमिकले पाएनन् औजार
डोटी — प्रधानमन्त्री स्वरोजगार कार्यक्रमको छनोटमा परेका श्रमिकहरूले निर्माणमा आवश्यक औजार नपाइएको गुनासो गरिरहेका छन् । कामका क्रममा चोटपटक लाग्दा पनि उपचार नपाएको उनीहरूले दुखेसो पोखे ।
निर्माण कार्यमा आवश्यक फरुवा, घन, गैंटी, बेल्चा, साबल, बाटा जस्ता सामग्री स्थानिय सरकारले उपलब्ध गराउन नसकेको उनीहरूको दुखेसो छ । आफूहरूले घरबाट सामग्री ल्याएर काम गरिरहेको उनीहरूले बताए ।
‘काममा खटिएको ४ दिन भइसक्यो अझै हातमा निर्माण सामग्री दिइएको छैन,’ केआईसिंह गाउँपालिका ५ रानागाउँस्थित सरस्वती माविमा पर्खाल निर्माणमा जुटेकी गंगादेवी मल्लले भनिन्, ‘घरबाटै आफ्ना औजार ल्याएर काम गरिरहेका छौं ।’ उनी वडा ५ मा रहेका श्रमिक समिति संयोजकसमेत हुन् । उनले सामग्री नभएर काम गर्न समस्या भइरहेको बताइन् । अर्की श्रमिक विष्नादेवी राणाले कामका क्रममा चोटपटक लाग्दा उपचारका लागि समस्या भएको गुनासो गरिन् ।
केआईसिंह गाउँपालिकामा ३ सय ७० श्रमिक छन् । गाउँपालिकाले उनीहरूलाई सडकका नाली मर्मत तथा विद्यालयका पर्खाल निर्माणमा खटाएको छ । तर रोजगार संयोजक सुरेन्द साउँदले भने सामग्री खरिदमा केही ढिला भएकाले मात्र औजारहरू नपाएको बताए । जिल्लामा १ महिनाका लागि १ हजार ७ सय ४२ श्रमिक छन् ।
प्रकाशित : असार १०, २०७६ ०९:५९