प्राथमिकतामा परेन औद्योगिक क्षेत्र

मोहन बुढाऐर

धनगढी — एउटा पनि औद्योगिक क्षेत्र नभएको सुदूरपश्चिममा प्रदेश सरकारले पनि बजेटमा औद्योगिक विकासका लागि ठोस कार्यक्रम ल्याउन नसकेको उद्योग व्यवसायीको प्रतिक्रिया छ । 

बजेट प्रस्तुत गर्नुअघि सुदूरपश्चिमका आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहरा । तस्बिर : कान्तिपुर

उद्योग वाणिज्य महासंघका प्रदेश अध्यक्ष शंकर बोगटीले आयात घटाउने र रोजगारी सिर्जना गर्ने ठूला उद्योग स्थापनाका कार्यक्रम बजेटमा नआएको बताए । ‘उद्योगको विकास नगरी प्रदेशको विकास सम्भव छैन,’ उनले भने, ‘तर प्रदेश सरकारले यो कुरालाई मनन् गर्न सकेको जस्तो लागेन ।’ उनले यो क्षेत्रका उद्योग व्यवासायी लामो समयदेखि औद्योगिक क्षेत्रको माग राख्दै आएको बताए ।

उनले कृषि, वन, जडीबुटी, पर्यटन उद्योगको सम्भावना बोकेको सुदूरपश्चिममा प्रदेश सरकारको औद्योगिक विकासका लागि बजेटमा ठोस निती र कार्यक्रम आउन जरुरी रहेको बताए । उनले बजेटमा एक स्थानिय तह एक उद्योग उत्पादन नारामा आएको बताए । कुन स्थानीय तहमा कुन उत्पादनमुखी कार्यक्रम गर्न सकिन्छ त्यसको सम्भावना अध्ययन नगरी लोकप्रियका लागि मात्रै नारामा ल्याइएको बताए ।

‘एक स्थानीय तह एक औद्योगिक उत्पादन र एक निर्वाचन क्षेत्रमा २ नवीनतम उद्योग स्थापना’का लागि ३ करोड २० लाख रुपैयाँ विनियोजन गरेको छ । कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्प कुँवरले उद्योग क्षेत्रलाई भन्दा कृषि , सडक , खानेपानी , सिँचाइ ऊर्जा र तटबन्धमा बढी प्राथमिकता दिएको बताए ।

‘बजेटमा ठूलो उद्योगलाई प्रोत्साहनमुखी छैन,’ उनले भने, ‘साना घरेलु र लघुउद्यम विकासका कार्यक्रम समेटिएको देखिन्छ ।’ बजेटमा बेतबास, दुना टोपरीलगायत उद्योग व्यवसायका लागि ७ करोड ९२ लाख रुपैयाँ विनियोजन गरेको छ । घरेलु उद्योग सवलीकरणका लागि २ करोड ३६ लाख रुपैयाँ छ ।

नेपाल उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष दिनेश भण्डारीले रोजगारी सिर्जना गर्ने ठूला उद्योग स्थापनाका लागि बजेटले वातावरण तयार नगरेको बताए । उनका अनुसार अहिले यस क्षेत्रमा ठूलो उद्योगका लागि जग्गाको उपलब्धतामा समस्या छ । ‘उद्योग स्थापना गर्न खोज्नेले जग्गा पाउन सकेका छैन,’ उनले भने, ‘प्रदेश सरकार बजेट तथा नीति कार्यक्रममा ठूला उद्योगका लागि जग्गा, बिजुली, करलगायतमा सुविधा उपलब्ध गराउने गरी कार्यक्रम आउनुपर्थ्यो ।’

उनले यस क्षेत्रले सम्भावना बोकेका पर्यटन उद्योग विकासका कार्यक्रमलाई समेत सम्बोधन गर्न नसकेको बताए । पर्यटनका क्षेत्रमा खप्तड र रामारोसन पर्यटकीय होमस्टे र पूर्वाधार निर्माण योजना बजेटमा समेटिएको छ । अन्य पर्यटकीय गन्तव्यको विकासका लागि कुनै कार्यक्रम नआएको भण्डारीले बताए । बजेटमा धार्मिक करिडोर विकासका लागि १३ करोड ५२ लाख ५० हजार विनियोजन गरिएको छ ।

त्यसैगरी जडीबुटी उद्योगमा अपार सम्भावना रहेको क्षेत्रमा प्रदेश सरकारले १० करोड मात्रै विनियोजन गरेको छ । डोटी, बाजुरा र कञ्चनपुरमा हाइटेक सञ्चालनका लागि १ करोड २० लाख विनियोजन गरेको छ ।

प्रकाशित : असार २, २०७६ १०:०९
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

गाउँमा 'स्वस्थ शिशु प्रतिस्पर्धा’

‘पहिले स्वास्थ्य चौकीमा बच्चा जन्माउन आए लाज हुन्छ भन्ने थियो, त्यो बेला अहिले जस्तो सुविधा पनि थिएन’
मेनुका ढुंगाना

अछाम — पञ्चदेवल विनायक नगरपालिका ४, कालिकास्थानकी बिसु विक शनिबार र आइतबार स्वास्थ्य चौकी पुगिन् । विगतमा बिरामी हुँदा मात्रै स्वास्थ्यकर्मी कहाँ पुग्ने उनी पछिल्लो समय निरन्तर स्वास्थ्य चौकी धाइरन्छिन् ।

बच्चाको स्वास्थ्य अवस्था बुझ्न स्वास्थ्य चौकी पुगेका कालिकास्थानका महिला । तस्बिर : मेनुका/कान्तिपुर

प्रत्येक ६ महिना यहाँ स्वस्थ शिशु प्रतिस्पर्धा हुन्छ । उक्त प्रतिस्पर्धामा १ छोरी र १ छोरालाई ‘स्वस्थ बच्चा’ घोषित गरिन्छ । बच्चालाई प्रतिस्पर्धामा सहभागी गराउन नियमित स्वास्थ्य चौकी आउने गरेको बिसुले बताइन् । ‘आफ्नो बच्चालाई प्रथम स्थानमा पुर्‍याउन अहिले यहाँका सबै आमा नियमित स्वास्थ्य चौकी पुग्ने गरेका छन्,’ उनले भनिन्, ‘पहिले बच्चा रोए मात्रै दूध दिने गर्थें, अहिले बच्चाको स्वास्थ्यमा विशेष ख्याल गरिन्छ ।’

कालिकास्थानकै हीरा भुलका २ छोरा २ छोरी छन् । सुरुका २ छोराछोरी उनले घरमै जन्माइन् । पछि जन्मेका २ छोराछोरी कुच्ची स्वास्थ्य चौकीमा जन्मिए । ३ र ५ वर्षको छोरालाई उनी अहिले धेरै ख्याल गर्छिन् । ‘पहिले स्वास्थ्य चौकीमा बच्चा जन्माउन आए लाज हुन्छ भन्ने थियो । त्यो बेला अहिले जस्तो सुविधा पनि थिएन । अहिले जस्तो घर–आँगनमै गएर सिकाउने बुझाउने मान्छे पनि थिएनन्,’ उनले भनिन्, ‘अब त खेतबारीको कामभन्दा धेरै समय बच्चालाई दिन्छु । आफ्नो स्वास्थ्यको पनि ख्याल गर्छु । छोराछोरीलाई गाउँभरका बच्चाभन्दा स्वस्थ बनाउनुपर्छ भन्ने सबैमा प्रतिस्पर्धा छ ।’

सालरुखकी ४५ वर्षीया लालमती विकको अनुभव फरक छ । १५ वर्षमै उनको बिहे भयो । १८ वर्षमा पहिलो सन्तान छोरा पाइन् । ४ महिनामै छोराको मृत्यु भयो । अर्को बच्चा जन्मियो । उसको पनि मृत्यु भयो । बर्सेनि बच्चा जन्मने तर नबाँच्ने भएपछि उनी हैरान भइन् । ‘मैलै एकै खाडलमा ४ छोराछोरीको अन्त्येष्टि गर्नुपर्दा मन कति कुँडिएको थियो भन्ने यतिबेला भनिसाध्यै छैन । कसैलाई दादुरा, कसैलाई वान्ता र कसैलाई पखाला लागेरै बिते,’ उनले भावुक हुँदै भनिन् । उनका अनुसार पहिले एक आमाबाट जन्मिएका ४/५ सन्तान मरेकै हुन्थे । बच्चा जन्मिसकेपछि बाँच्छ कि मर्छ भन्ने कुराको एकिन १ वर्ष पुगेपछि मात्रै हुन्थ्यो ।

उमेर ढल्किँदै गयो । गाउँमा स्वास्थ्य चौकी स्थापना भए । सामान्य बिरामी हुँदा पनि उपचार हुन लाग्यो । ‘पहिलो सन्तान बचेको भए अहिले म हजुरआमा भइसक्थे । अहिले ४ वर्षको छोरीलाई स्वस्थ बच्चा प्रतिस्पर्धामा भाग लिन आएँ,’ उनी भन्छिन्, ‘बच्चालाई बर्सेनि खाडलमा गाडेर काख रित्तो भएकी आमा पनि मै हुँ । अहिले यसरी बच्चाकै लागि स्वास्थ्य चौकी आउने आमा पनि मै हुँ । मैले त दुई जुग देखें ।’

कुच्ची स्वास्थ्य चौकी इन्चार्ज नरेशकुमार बडुवालका अनुसार नियमित गर्भ जाँच गराए/नगराएको, गर्भ रहेको अवस्थामा पूरा गर्नुपर्ने खोपको मात्रा पूरा गरे/नगरेको, जन्मिएपछि दिनुपर्ने खोपको मात्रा पूरा गरे/नगरेको, उमेरअनुसार तौल र उचाइ भए/नभएको, आमाको दूध चुसाइरहेको/नरहेको र सरसफाइको अवस्थाबारे थुप्रै प्रश्न प्रतिस्पर्धाका लागि तयार पारिन्छन् ।

प्रकाशित : असार २, २०७६ १०:०५
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT