कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विद्युतसेवा नभएर सास्ती

धनगढी — धनगढी आसपाससहित जिल्लाका अधिकांश गाउँमा अवरुद्ध भएको विद्युत सेवा अझै सुचारु हुन सकेको छैन । बिहीबारको हावाहुरीले विद्युत संरचना तहसनहस बनाएको छ । ५ सय पोल ढलेका छन् । 

मुख्य बजार क्षेत्रमा सोमबारदेखि केही स्थानमा सेवा सुचारु भए पनि धेरै ठाउँमा ६ दिनदेखि बिजुली आएको छैन । विद्युत प्राधिकरण धनगढीका सवइन्जिनियर गोपालबहादुर चन्दका अनुसार मंगलबारसम्म ३ सय ९० पोल कार्यालयबाट जडानका लागि

पठाइएको बताए । ‘लाइन मर्मतको काम भइरहेको छ । मंगलबार १ सय पोल निर्माणका लागि लगिएका छन्,’ सवइन्जिजियर चन्दले भने, ‘क्षति अझै यकिन हुन नसकेकाले पूर्णरूपमा विद्युत् सेवा सञ्चालनमा समय लाग्ने देखिएको छ ।’


अहिले पनि घरमाथि लडेका विद्युतका पोल उठाइएका छैनन् । तारहरू यत्रतत्र छरिएका छन् । प्राधिकरणले भने सेवा सुचारु गर्न युद्धस्तरमा काम भइरहेको जनाएको छ । ‘मंगलबार मात्रै १ सय पोल जडानका विभिन्न ठाउँ पठाएका छौं । पहिले बजार क्षेत्रमा मर्मत गर्ने हाम्रो उद्देश्य हो ।’


उनले अझै धेरै ठाउँमा पोल जडान हुन बाँकी रहेकोले धनगढीमै पनि पूर्ण रुपमा बिद्युत सुचारु हुन कम्तीमा १२ दिन लाग्ने बताए । बुधबार बिहान आएको हावाहुरीले फेरी समस्या भएको उनले बताए । ‘पोल त ढलाएन, तर विद्युत अवरुद्ध भयो,’ उनले भने । बुधबार आएको हावाहुरीले फेडर नचलेर अत्तरियाबाट धनगढी विद्युत आउने लाइनमा समस्या देखिएको उनले बताए ।


कञ्चनपुरमा पनि सुचारु भएन

गत साता आएको हुरीले कञ्चनपुरमा १ हजार ५ सय ६१ घरमा क्षति पुगेको थियो । सबैभन्दा बढी बेदकोट, भीमदत्त र कृष्णपुर नगरपालिकामा क्षति पुगेको थियो । कतिपय परिवार अहिले पनि खुला आकाशमै सुत्न बाध्य छन् । घर भत्केका वा क्षति पुगेका परिवारलाई विभिन्न स्थानीय तहसंगै प्रदेश सरकारले पनि राहत घोषणा गरेको छ ।


बेदकोट नगरपालिकाले पीडित परिलारलाई १० हजार दिने घाषणा गरेको छ । हुरीले विद्युत पोल ढलाएको हप्ता दिनसम्म पनि जिल्लाका धेरै ठाउँमा अझै पनि विद्युत सेवा सुचारु हुन सकेको छैन । अहिले पनि टुटेका र ढलेका पोलहरू फेर्ने काम नसकिएकाले सबै ठाउँमा विद्युत सुचारु हुन नसकेको हो । गत साताको हावा हुरीले ५ सय २५ पोलहरू ढलेका थिए । जसमध्ये ३ वटा मात्रै फर्न सकिएको छ ।


अहिले विद्युत पोल फेर्नका लागि नेपाल विद्युत प्राधिकरण महेन्द्रनगर वितरण केन्द्रको टोलीसंगै सेना र प्रहरीको टोली समेत खटाइएको प्रमुख जिल्ला अधिकारी सुशिल बैद्यले बताए । उनले ग्रामीण भेगमा थुप्रै रुखहरू ढलेका कारण बढी क्षति भएको बताए । ‘अबको ४/५ दिनमो सबै पोलहरू फेरेर जिल्लाभरि विद्युत सेवा पुर्ण रुपमा सुचारु हुन्छ’ उनले भने, ‘फेरी आज (बुधबार) आएको हुरीले कति क्षति गरेको छ, त्यसको विवरण आउने क्रममा छ ।’


बुधबारको हुरीले दोधारा चाँदनीमा १ सय ६२ घरमा क्षति

कञ्चनपुरमा हावाहुरीले ठुलो क्षति गरेको हप्ता दिनमै पुनः वितण्डा मचाएको छ । बुधबार बिहान आएको हावाहुरीले महाकाली पारीको माहाकाली नगरपालिकामा ठुलो क्षति पुर्‍याएको हो ।


हावाहुरीले महाकाली नगरपालिकामा २ जना सामान्य घाइते हुनुका साथै १ सय ६१ घरमा पुर्ण र आंशिक रुपमा क्षति पुर्‍याएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । यसैगरि विद्युत लाइनका ३० वटा पोलहरू पनि टुटेल ढलेका छन् । यसैगरि बेल्डाडी गाउँपालिका १ जना घाइते हुनुका साथै २ घरमा क्षति पुगेको छ । पुनर्वास नगरपालिकामा पनि २ घरमा क्षति पुगेको प्रहरीले जनाएको छ ।


‘यस पटकको हावाहुरीले दोधारा चाँदनी क्षेत्रमा ठुलो क्षति पुगेको छ’ जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी ज्ञान बहादुर विष्टले भने, ‘धेरै घरका छाना उडाएको छ, कतिपय घरमा पुर्ण रुपमा नोक्सान भएको छ ।’ माहाकाली नगरपालिकामा अधिकांस घरमा जस्ता पाता लगाउने चलन भएकाले पनि अझ बढी क्षति भएको हुन सक्ने प्रहरीको अनुमान छ ।


बिहानै घरका छाना उडाएपछि सर्वसाधारण चर्को घाममा बस्न बाध्य भएका छन् । सुरक्षाकर्मीसंगै जनप्रतिनिधिहरू पनि विभिन्न वडामा पुगेर तथ्यांक संकलनमा जुटेका छन् ।

प्रकाशित : जेष्ठ ३०, २०७६ ०९:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?