सिंगै क्याबिनेट अञ्चल अस्पताल सरससफाईमा पुगेपछि...


काठमाडौँ — एकाबिहानै मुख्यमन्त्री त्रिलोचन भट्टसहित सुदूरपश्चिम प्रदेशको सिंगै क्याबिनेट हातहातमा झाडु लिएर धनगढीस्थित सेती अञ्चल अस्पतालमा पुगेपछि हल्लीखल्ली भयो । एक जना राज्यमन्त्रीसहित ८ जना मन्त्री र मन्त्रालयका सचिवहरु अस्पतालको सरसफाई गर्न भन्दै सेतीमा पुगेका थिए ।


गणतन्त्र दिवसको अवसर पारेर सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयको अगुवाईमा मुख्यमन्त्री भट्टसहित सामाजिक बिकासमन्त्री कृष्णराज सुवेदी, आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाश शाह, आर्थिक मामिलामन्त्री झपटबहादुर बोहरा, भौतिक पूर्वाधार मन्त्री पठानसिंह बोहरा, उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री माया भट्ट, कृषि तथा सहकारी मन्त्री विनिता चौधरी र पर्यटन राज्यमन्त्री प्रकाश रावल तथा मन्त्रालयका सचिवहरु अञ्चल अस्पताल सफाईमा जुटेका थिए ।
कतिपयले भने मन्त्रीहरुको झाडु लगाउने कार्य सस्तो लोकप्रियता भन्दै सामाजिक सञ्जालमा आलोचना गरेका छन् । हाल सेती अञ्चल अस्पताल आन्तरिक र बाह्रय कारणले लथालिंग अवस्थामा छ । त्यसक्रममा मन्त्रीहरुले असपतालले प्रदान गरिरहेको स्वास्थ्य सेवा र समस्याका बारेमा पनि विरामीहरुसँग सोधपुछ गरेका थिए । मन्त्रीहरुले सुदूरपश्चिमकै रेफरल सेन्टरका रुपमा रहेको सेती अस्पतालको स्तरोन्नती गर्न प्रदेश सरकार लागि परेको बताएका छन् । सामाजिक विकास मन्त्री सुवेदीले सेतीलाई प्रदेशकै नमुना अस्पताल बनाउन प्रयासरत रहेको बताए ।
