जनप्रतिनिधिका सन्तानकै बालविवाह

संगीता तिमिल्सेना 

बाजुरा — बुढीनन्दा नगरपालिका ३ सिराडीकी रिउली ल्वार वडा सदस्य हुन् । उनकी छोरी रुपसरा ल्वार १७ वर्षकी भइन् । ९ मा अध्ययनरत रूपसराले हालै वडाकै ८ कक्षा पढ्दै गरेका १८ वर्षीय पूर्ण कामीसँग विवाह गरिन् । पूर्ण पनि स्थानीय निर्वाचनमा पराजित दलित महिला वडा सदस्य हिरू कामीका छोरा हुन् । 

सामाजिक परम्पराअनुसार नै उनीहरूको विवाह भएको हो । विवाह गरेपछि नवदम्पतीको पढाइ छुटेको छ । घरायसी काममा खटिनु परेपछि रूपसरालाई विद्यालय जाने फुर्सद छैन । उनका श्रीमान पूर्ण पनि घरपरिवारलाई काम सघाउँदै आफ्नो पढाइलाई ओझेलमा पारिरहेका छन् । आफ्ना छोराछोरीले बालविवाह गरेकोमा अभिभावक मौन छन् ।


सिराडीका धनबहादुर बोहराले भने, ‘गाउँकै अगुवा भएर आफ्नै छोराछोरीलाई बालविवाह गराउने भएपछि समाजमा बालविवाह अन्त्यको कुरा भाषण मात्रै हुने भयो ।’ आफूले बालविवाह गराउनु हुन्नभन्दा पनि दुबैका अभिभावकले खासै चासो नदिएको अर्का स्थानिय वीरे ल्वारले बताए ।


दलित महिला वडा सदस्य बालिका हिरू ल्वारकी आमा रिउली ल्वार भन्छिन्, ‘हामीले विवाह नगर भन्दा मानेनन्, भागेर विवाह गरिहाले । अर्काको घरमा गएकी छोरी फर्काएर ल्याउन नसक्ने अवस्था आएको हो ।’ वडा प्रतिनिधि हुनुका साथै महिलाको क्षेत्रमा काम गर्ने भए पनि उनकै अभिव्यक्ति बालविवाहलाई प्रश्रय दिने खालेको रहेको रिउलीले बताइन् ।


सिराडीमा हिरू र पूर्ण त उदाहरण मात्रै हुन् । बाजुराका अधिकांश गाउँमा बालबिवाह गर्नेक्रम घट्नुको साटो बढ्दै गएको देखिएको छ । कानुनले २० वर्ष उमेर नपुगी विवाह गरेमा स्वतः विवाह बदर गरिने व्यवस्था गरेको छ । साथै बालविवाह गर्ने केटा वा केटी दुबैलाई ३ वर्षसम्म कैद र ३० हजार रुपैयाँ जरिवाना गरिने व्यवस्था समेत पछिल्लो कानुनमा छ ।


केही गाउँपालिकाका जनप्रतिनिधिहरू भने भएका बालविवाह पनि रोक्न सफल भएको दाबी गर्छन् । गौमुल गाउँपालिका जनप्रतिनिधि गाँउघरमा पुगेर बाललविवाह रोक्ने गरेको बताउँछन् । वालविवाह हुन लागेको जानकारी पाउनेबित्तिकै गाँउपालिकाका प्रतिनिधि र प्रहरी टोली गएर रोक्ने गरेको गाँउपालिका अध्यक्ष हरिबहादुर रोकायाले बताए ।


हालै गौमुल ६ का १५ वर्षीया ललिता रोकाया र सोही गाँउपालिका ५ का १७ वर्षीय कृष्ण रोकायाले यही महिना भागी विवाह गर्न खोजे । तर गाउँपालिका र प्रहरीले थाहा पाउने बित्तिकै दुबैलाई प्रक्राउ गरेर वालबिवाह रोकेको अध्यक्ष रोकायाले बताएका छन् ।


गौमुलमा ६ महिनायता ४ वटा बालविवाह रोएिका छन् । दुर्गाली र दहकोटमा पनि गत वैशाखमा एउटा बालविवाह रोकेको उनले बताए । बालविवाह न्यूनीकरणका लागि ‘बिहेवारी २० वर्ष पारी’ भन्ने नाराका साथ अभियान सञ्चालन गरिरहेको गाउँपालिकाले बताएको छ ।

प्रकाशित : जेष्ठ १४, २०७६ ०९:४९
प्रतिक्रिया
पठाउनुहोस्

एकै ठाउँमा ३ सडक

कान्तिपुर संवाददाता

दार्चुला — महाकाली नगरपालिका ३ जाईझुल र बाज गाउँलाई जोड्न ३ वटा सडक निर्माण हुँदैछन् । ३ वर्ष अघिदेखि निर्माण सुरु भएका दल्लेक–जाईझुल–ऐरान, झुस्कु–जाईझुल र मालबेला–जाईझुल–बाज सडक हाल निर्माणाधीन अवस्थामा छन् । 

पछिल्लो समयमा निर्माणाधीन सडक कहाँबाट लैजाने भन्नेमा गाउँलेबीच विवाद भएपछि काम रोकिएको छ । नगरपालिकाले निर्माण गर्ने झुस्कु–जाईझुल हुँदै अगाडि बढ्ने सडक बाजमा रोकिएको छ ।

प्रदेश सरकारको सहयोगमा निर्माण भइरहेको मालबेला–जाईझुल–बाज सडकले खलंगा–काटै–दल्लेक सडक र बांगागड खानेपानी लाइन प्रभावित गरेको बासिन्दा बताउँछन् । सडक निर्माणले अन्य क्षेत्रमा पर्ने प्रभावको अध्ययननै नगरी सडक निर्माण गर्दा नौगाड र महाकाली नगरपालिका क्षेत्रलाई सदरमुकामसँग जोड्ने सडकले महाकाली नगरपालिका ४ बांगाबगडको खानेपानी पनि अवरुद्ध भएको छ । बांगाबगड खानेपानी ट्याङ्की छेउको बस्ती पनि जोखिममा परेको छ ।

पूर्वाधार विकास कार्यालय बैतडीबाट निर्माण भइरहेको उक्त सडकका कारण सदरमुकामसँग जोड्ने सडकखण्ड अवरुद्ध भएको छ । सडक अवरुद्ध भएपछि नौगाड गाउँपालिकाका ६ वटै वडा र महाकाली नगरपालिकाका २ वडाका स्थानीयलाई आवतजावतमा समस्या हुनुका साथै दुर्घटनाको जोखिम रहेको महाकाली नगरपालिका ३ झुस्कुका स्थानीय नरेन्द्र बडूले बताए ।

नियमित रुपमा जिप चल्दै आएको सडकको माथिबाट अर्को सडक निर्माण हुन थालेपछि तल्लो सडकमा क्षति पुगेको उनको भनाई छ । ‘चालु सडकमाथि अर्को सडक निर्माण हुन थालेपछि सेवा सुचारु रहेको तल्लो सडक पनि अवरुद्ध भएको हो’ उनले भने ‘माथिल्लो सडक खन्ने क्रममा खसेको ढुंगा माटोले चालु सडक पुरिने अवस्था आएको छ ।’ साँघुरो सडकमा माथिबाट आएको ढुंगामाटो पञ्छाएर जिप चलाउनु परेको उनले बताए ।

खलंगा–काटै–दल्लेक सडक सञ्चालन गर्न मेसिन नै सडकमा राखेर काम भइरहेको पूर्वाधार विकास कार्यालय बैतडीले जनाएको छ । ५ सय मिटरसम्म अहिले सडकको ट्रयाक खोलिएको छ । उक्त सडकले ३ किलोमिटर दूरीसम्म निर्माण सम्पन्न नभएसम्म तल्लो सडक र बांगाबगडको खानेपानी प्रभावित हुने स्थानीयको भनाइ छ ।

प्रकाशित : जेष्ठ १४, २०७६ ०९:४९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×