कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गाइड छैनन्, जलयात्राको होडबाजी

स्थानीय तहले पूर्वाधार निर्माणभन्दा पनि जलयात्रा सञ्चालनमा बढी जोड दिएका छन्
भवानी भट्ट

कञ्चनपुर — पुस अन्तिम साता भीमदत्त नगरपालिकाले महाकाली नदीमा जलयात्रा सञ्चालनका लागि परीक्षण गर्‍यो  । चुरे फेदीमा रहेको नगरपालिका ९ मसेट्टीदेखि सुरु गरिएको जलयात्रामा प्रदेश सरकारका मन्त्रीदेखि स्थानीय तहका जनप्रतिनिधिलगायत सहभागी भए  ।

गाइड छैनन्, जलयात्राको होडबाजी

परीक्षण सफलभएपछि छिट्टै महाकालीमा नियमित रुपमा साहसिक जलयात्रा गरेर पर्यटकहरूलाई तान्ने नगरपालिकाले योजना बनायो ।

चैत अन्तिम साता जिल्ला समन्वय समिति कैलाली र मोहन्याल गाउँपालिकाले पनि चिसापानी क्षेत्रमा जलयात्रा महोत्सव आयोजना गरे । उक्त महोत्सवमा पनि प्रदेशका मुख्यमन्त्रीदेखि मन्त्री र विभिन्न तहका जनप्रतिनिधिहरू सहभागि भए ।

चिसापानी क्षेत्रमा पहिल्यैदेखि नियमित रुपमा जलयात्रा चलिरहेको छ । डोटीमा पनि विभिन्न स्थानीय तहहरूले जलयात्रा गराउने जमर्को गरेका छन् । डेढ साता सम्म सेती नदीमा जनप्रतिनिधिदेखि थुप्रैले साहसिक जलयात्राको आनन्द लिए । तर पछिल्लो पटक स्थानीय तहहरू प्राविधिक योजना विना आफै यसका लागि हौसिएका देखिन्छन् ।

पछिल्लो पटक ठूला नदी किनारका स्थानीय तहहरूले साहसिक जलयात्रामा विशेष जोड दिएका छन् । यसलाई पर्यटक आकर्षण गर्न सकिने प्रमुख स्रोतको रुपमा हेरेका छन् । तर यसका लागि आवश्यक पूर्वाधारसँगै जलयात्राका दक्ष गाइडहरूको अभाव छ । यसतर्फ भने उनीहरूले चासो दिएको देखिदैन ।

‘अहिले जलयात्राका लागि नेपालमा दक्ष गाइडको ठुलो खाँचो छ,’ कर्णालीको चिसापानी क्षेत्रमा लामो समयदेखि जलयात्रा गराइरहेका कर्णाली र्‍याफ्टिङ एण्ड एडभेन्चर प्रालिका सञ्चालक देवराज जोशीले भने, ‘अहिले धेरै स्थानीय तहले र्‍याफ्टिङ चलाउने भनेका छन्, तर अन्य पूर्वाधारमा भने ख्याल गरेका छैनन् ।’

उनले जलयात्राको प्रमुख पूर्वाधार नै दक्ष गाइड भएकाले स्थानीय तहहरूले यसतर्फ जोड दिए दोहोरो फाइदा हुने बताए ।

कर्णाली एडभेन्चर प्रालिले अहिले युगाण्डाबाटसमेत गाइडहरू झिकाए जलयात्रा गराइरहेको छ । उक्त कम्पनीलाई पनि गाइडको ठुलो खाँचो छ । जलयात्रा गाइडको तालिम दिएर दक्ष बनाउन सके जल पर्यटनको विकाससँगै रोजगारी सृजना हुन्छ । महाकालीमा मात्रै जलयात्रा सुरु भए तत्काल १५/२० जना दक्ष गाइड चाहिने जोशी बताउँछन् । यसैगरि अन्य नदीहरूमा पनि थुप्रै गाइडको आवश्यकता रहेको उनले बताए ।

नेपालमा जलयात्राका गाइडहरूले मासिक २० देखि २५ हजारसम्म आनन्दले कमाउन सक्छन् । दक्ष भए विदेशमासमेत राम्रो माग छ । नेपालमा वर्षायाम सुरु भए जलयात्रा रोकिन्छ । कतिपय देशमा त्यहि बेला जलयात्रा सुरु हुन्छ । यसकारण बाह्रै महिना काम पाउन सकिन्छ । विदेशमा आम्दानी पनि राम्रो हुने गरेको जोशी बताउँछन् । अहिले नेपाली गाइडको विदेशमा पनि ठुलो माग भएको उनले बताए ।


‘हामीसँग पनि गाइडको अभाव नै छ,’ ५ वर्षदेखि महाकाली जलयात्रा गरिरहेका भारतीय नागरिक राजु गडकोटीले भने, ‘यदि नेपालमा दक्ष गाइड भए हामी रोजगारी दिन तयार छौं ।’ भारत उत्तराखण्डको टनकपुर नजिकै महाकाली किनारमा दुई कम्पनीले क्याम्प राखेर ५ वर्षदेखि नियमित रुपमा जलयात्रा गराइरहेका छन् । उक्त जलयात्राका लागि नेपालका उच्च घरानाका व्यक्तिहरूसमेत आउने गरेका छन् ।


भीमदत्त नगरपालिकाले कर्णाली र्‍याफ्टिङ एडभेन्चर प्रालिसँग सहकार्य गरेर महाकालीमा मुसेट्टीदेखि खल्लासम्म १२ किलोमिटर जलयात्रा सञ्चालनको तयारी गरेको छ । सीमा नदी भएकाले यसका लागि आवश्यक प्रक्रिया पनि भइरहेको छ ।

यसका साथै गाइडको तालिम सञ्चालन गरेर उक्त क्षेत्रका युवाहरूलाई स्वरोजगार बनाउन पनि पहल गरिने नगर प्रमुख सुरेन्द्र विष्टले बताए । ‘तत्कालि भारतिय व्यवसायीहरूबाट पनि खल्ला क्षेत्रका युवालाई तालिम दिन सकिन्छ’ उनले भने ।

प्रकाशित : जेष्ठ २, २०७६ ११:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?