कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बिनाप्रगति म्याद थपिएको थपियै

मनोज बडु

दार्चुला — दार्चुलाको त्रिदेशीय सीमा क्षेत्रमा बन्दै गरेको दार्चुला-तिंकर सडकअन्तर्गतका दुईवटा पुलको प्रगति सुस्त भए पनि ठेक्काको म्याद भने बारम्बार थपिदै गएको छ । 

बिनाप्रगति म्याद थपिएको थपियै

उक्त सडकका निजङ्गाड र लास्कु खोलामा निर्माणाधीन पुलहरूको निर्माण कार्य १ वर्षदेखि ठप्प छ । पुलहरू निर्माण गर्ने एक वर्षको म्याद सकेर दुई पटक थपिँदासमेत आधा जति काम हुन सकेको छैन । दुवै पुलको ठेक्काको म्याद तेस्रोपटक थप्न ठेक्काको १० प्रतिशत हर्जाना तिराउने तयारी छ । हर्जाना तिराएर म्याद थप्ने प्रक्रियामा रहेको दार्चुला-तिंकर सडक योजनाको दाबी छ ।


यो खण्डको निजाङगाड पुल २०७२ फागुन २५ गते सम्झौता भई निर्माण सुरु गरिएको र सोही वर्ष चैत्र १५ गते सम्झौता गरिएको लास्कु खोला पुलको निर्माण हालसम्म आधा मात्रै सम्पन्न भएको छ । २ करोड ४६ लाखमा सम्झौता भएको निजाङगाड पुल गत वर्ष जेठ ४ गते बनिसक्नुपर्ने थियो । ४ करोड ५ लाखमा निर्माण गर्ने सम्झौता गरिएको लास्कुखोला पुल गत वर्षको असार १४ गते निर्माण सम्पन्न गरिनुपथ्र्यो । तर, निर्माण सम्पन्न गरिनुपर्ने समय ८ महिना बित्दा पनि यी दुई पुल बन्न त परै जाओस्, आधा काम अलपत्र छाडिएको छ ।


गत वर्ष जेठ/असारमै निर्माण सम्पन्न हुनुपर्ने यी पुलहरूमध्ये निजाङगाड पुल २०७५ असार २५ गते र लास्कुखोलामा रहेको पुल २०७५ असार १४ गते निर्माण सम्पन्न गर्ने गरी म्याद थपिएको थियो । दोस्रो पटक थपिएको म्याद सकिएको पनि ८ महिना बित्दा पनि पुल बन्न नसकेको दार्चुला-तिंकर सडक योजनाका प्रमुख अच्युत विलाश पन्तले बताए । 'चालु आवको सुरुमै यी पुलका ठेक्काको म्याद थपका लागि विभागमा फाईल अगाडी बढाएपनि अझै म्याद थपिएको छैन' उनले भने, 'ठेकेदारबाट ठेक्काको १० प्रतिशत हर्जाना कटाएर म्याद थपको प्रक्रियामा रहेका छौ ।' म्याद थप गरेर चालु आवको अन्तिममा पुल निर्माण गरी सक्न ठेकेदारलाई ताकेता गर्दै आएको उनको भनाई छ ।


निर्माण व्यवसायी र नियमनकारी निकायको गैरजिम्मेवारीका कारण पुल निर्माणमा ढिलाई भएको स्थानीयको बुझाई छ । कार्यालय र निर्माण व्यवसायीले ढिलाईका कारणका बारेमा स्थानीय विश्वत हुन नसकिएको दुहु गाउँपालिका ३ का स्थानीय हरिदत्त जोशीको भनाई छ । ५० प्रतिशत मात्रै निर्माण कार्य भएका यी पुलहरू निर्माणको ढिलाईका कारण प्रष्ट हुन सकेको छैन । निर्माण व्यवसायी महेशसिह धामीका अनुसार पुलको मोडेल नयाँ भएको तथा साँचो भारतबाट मगाउनु पर्ने भएकाले ढिलाई भएको हो ।


निर्माण सामग्री तथा दक्ष कामदारको व्यवस्थापनमा समय लाग्नु र २०७० सालमा महाकाली नदीमा आएको बाढीलाई कारण बनाई यी पुलहरूको म्याद विभागबाट थप्दै आएको सडक योजना कार्यालयले जनाएको छ । चालु आवमा ३ देखि ११ प्रतिशत मात्रै भौतिक प्रगति भएका यी पुलमध्ये निजाङगाडको हालै ढलान राख्ने काम सकिएको छ । लास्कु खोला पुलको भने खोला वारीपारीका पिल्लर राख्नेबाहेक केही काम भएको छैन ।


सदरमुकामदेखि उत्तरमा पर्ने यी पुलहरू निर्माण सम्पन्न हुन नसक्दा वर्षायाममा दुहु र ब्यास गाउँपालिकाका स्थानीयको जनजीवन प्रभावित हुने गरेको छ । महाकाली नगरपालिका १ र दुहु गाउँपालिकाका सबै वडा र व्यास गाउँपालिकाका केहि क्षेत्रका बासिन्दालाई यी पुल बन्न नसक्दा प्रत्यक्ष प्रभाव पर्ने दुहु गाउँपालिका १ का ईश्वरसिंह महराबताउँछन् । पुल नबन्दा स्थानीय मात्रै प्रभावित हुने नभई दार्चुला -तिंकर सडकको ट्रयाक खोल्ने काम समेत प्रभावित हुने देखिन्छ । निर्माण स्थलसम्म सामग्री ढुवानी नसक्दा निर्माण कार्यमा प्रभाव पर्ने सडक योजनाले जनाएको छ ।

प्रकाशित : वैशाख २७, २०७६ १०:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?