कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

५ लाख केराका बिरुवा उत्पादन

भवानी भट्ट

कञ्चनपुर — कञ्चनपुरमा यस वर्ष ५ लाख बढी केराका बिरुवा उत्पादन भइरहेका छन्  । विभिन्न ठाउँका कृषकहरूले व्यक्तिगत र सरकारी सहकार्यमा ‘टिस्यु कल्चर’ प्रविधिबाट नर्सरीमा ठूलो परिमाणमा केराका बिरुवा उत्पादन गरिरहेका हुन्  ।

केरा खेतीमै लागेका कृषकहरूले स्थानीय तह र प्रदेश सरकारको आिर्थक सहयोगमा केराका बिरुवा उत्पादन गरेका हुन् । पोली हाउस निर्माण गरेर एकै ठाउँमा १ लाख बढी बिरुवा उत्पादन भइरहेका छन् । ‘यहाँ आवश्यक पर्ने बिरुवा अब हामीले नै उत्पादन गरिरहेका छौं,’ केरा उत्पादन तथा प्रवर्द्धन कृषि सहकारी संस्थाका अध्यक्ष पूर्णसिंह साउदले भने, ‘यहाँको माग धान्ने गरी नै उत्पादन भइरहेको छ ।’

जिल्लाको भीमदत्त नगरपालिका, कृष्णपुर र बेलौरीमा टिस्यु कल्चर प्रविधिबाट ५ ठाउँमा केराका बिरुवा उत्पादन भइरहेको हो । विगतमा कञ्चनपुरमा केरा खेती गर्ने कृषकले कैलालीको टीकापुर र बांकेको कोहलपुरबाट बिरुवा ल्याउनुपर्ने बाध्यता थियो । जिल्लामै आधुनिक प्रविधिबाट बिरुवा उत्पादन हुन थालेपछि अब केरा खेती गर्ने कृषकलाई सहज भएको छ ।

कञ्चनपुरमा ५/६ वर्ष यता मात्रै टिस्यु कल्चर प्रविधिबाट केराको बिरुवा उत्पादन हुन थालेका हो । विगतमा सनोतिनो मात्रामा उत्पादन हुने भएपनि गत वर्षदेखि कृषकहरूले ठुलो परिमाणमा उत्पादन गर्न थालेका हुन् । केरा खेतीतर्फ कृषकहरूको आकर्षण बढै गएपछि बिरुवा उत्पादनमा पनि लगानी बढेको हो । १ लाख केराका बिरुवा उत्पादनका लागि ३० देखि ३५ लाखसम्म खर्च हुने गरेको कृषकहरू बताउँछन् ।

यहांँ खासगरी ‘जी नाइन’ जातको केरा खेती भइरहेको छ । यस वर्षदेखि रातो केराको पनि खेती सुरु गरिएको छ । यसैगरी मालभोग केराका बिरुवा पनि उत्पादन भइरहेको अध्यक्ष साउदले बताए । कृषकहरूले बढीजसो जी नाइन नै रुचाउने गरेका छन् । यस वर्ष रातो केराका बिरुवा पनि उत्पादन गरिने उनले जानकारी दिए । कञ्चनपुरमा परीक्षणका रुपमा रातो केराको पनि खेती सुरु भएको छ ।

कृषि ल्याबमा स्वच्छ केराको जराबाट उत्पादन भएका सूक्ष्म बिरुवा पोली हाउसभित्रको नर्सरीमा पोलिब्यागमा रोपिन्छ । निश्चित तापक्रम, पानी र मलको व्यवस्थापनबाट मात्रै बिरुवा उत्पादन हुन्छ । ‘६ देखि ८ इन्चको बिरुवा हुन एक/डेढ महिना लाग्छ,’ ४ वर्षदेखि केराका बिरुवा उत्पादनमा लागेका बेलौरीका कृषक करमसिंह रानाले भने, ‘जेठ अन्तिमदेखि असार पहिलो हप्ताभित्र रोपिसकिने गरी हामीले बिरुवा उत्पादन गरिरहेका छौं ।’

यस वर्ष उत्पादन हुने बिरुवाले २ सय हेक्टरमा केरा खेती विस्तार हुनेछ । सुदूरपश्चिम प्रदेशको कृषि मन्त्रालयले पनि यस वर्ष २ सय हेक्टर केरा खेती बढाउने योजना ल्याएको छ । जसमध्ये कञ्चनपुरका लागि ४० हेक्टर छुट्याएको छ । कञ्चनपुरमा ५ सय हेक्टरमा केरा खेती गरिँदै आएको छ ।

पुरानो बोटहरू विस्थापित गरेर नयाँ लगाउने तथा नयाँ खेती विस्तार गर्नेहरूका लागि अहिले उत्पादन भइरहेका बिरुवा पर्याप्त हुने कृषि ज्ञान केन्द्र कैलाली कञ्चनपुरका वरिष्ठ कृषि विकास अधिकृत गोकुल बोहराले बताए । उनले मूल बीउ ल्याएर नर्सरीबाटै उत्पादन हुने भएकाले रोग तथा संक्रमणको खतरा पनि कम हुने बताए ।

कृषि ज्ञान केन्द्रले केरा खेती गर्ने कृषकका लागि अनुदान पनि आह्वान गरेको छ । केन्द्रले प्रति बिरुवा ५० प्रतिशत अनुदान दिने बताएको छ । वैशाख तेस्रो सातासम्म निवेदन आएपछि बिरुवा अनुदानमा उपलब्ध गराइने वरिष्ठ कृषि विकास अधिकृत बोहराले बताए ।

प्रकाशित : वैशाख १७, २०७६ १०:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?