सांसद असन्तुष्ट 

अर्जुन शाह

धनगढी — झन्डै ७ महिनापछि बसेको नेकपा सुदूरपश्चिम संसदीय दलको बैठकमा प्रदेशसभा सदस्यहरूले गति सुस्त भएको भन्दै सरकारको आलोचना भएको बैठकका एक सांसदले बताएका छन् । बिहीबार दिनभर चलेको बैठकमा अधिकांश सांसदहरूले बजेट खर्च हुनेमा आशंका गर्दै गम्भीर हुन मन्त्रीहरूलाई सचेत गराएका हुन् । 

मन्त्रीहरू स्वयं सुस्त भएकाले बजेट कार्यान्वयनमा चुनौती रहेको औंल्याइएको सांसद दुर्गा कामीले बताइन् । ‘सबै सांसदहरूले सरकारलाई गतिशील हुन आग्रह गरे,’ सांसद कामीले भनिन्, ‘कतिपय सांसदहरूले सरकारको कार्यशैली अपारदर्शी रहेको भन्दै आलोचनासमेत गरे । प्रदेशको स्थायी राजधानी तय गर्ने बेला गत असोजपछि संसदीय दलको बैठक बसेको थिएन ।

सरकारको सुस्तताले जनतामा निराशा बढ्दै गएको औंल्याउँदै विकासका कामलाई तीव्रता दिनुपर्नेमा सांसदहरूले जोड दिएका थिए । पार्टीकै सांसदहरूसँग समेत समन्वय नगरी काम गरिरहेको भन्दै सांसद पूर्णा जोशीले बैठकमा मन्त्रीहरूप्रति गुनासो गरेकी थिइन् । ‘जनअपेक्षाहरूको न्यूनतम सम्बोधन गर्न सकिएन भने पार्टी, सरकार र हामी सांसद सबैलाई अप्ठेरो पर्छ’उनले भनिन् ।

केही सांसदहरूले योजना छनोट प्रकृयादेखि नै त्रुटि हुँदै आएको जनाउँदै आलोचना गरेका थिए । सांसद कामीले सरकारले योजना छनोटमा सांसदलाई वास्ता नगरी मन्त्रीसँगको चिनजान र पहुँचका आधारमा योजना छनोटभएकामा आपत्ति जनाएकी थिइन् । प्रदेश सरकारले २५ अर्बको बजेट कार्यान्वयन गर्नु छ । साढे ३ हजार योजनाहरू असार मसान्तभित्र कार्यान्वयन गरिसक्नुपर्ने अवस्था रहेको छ । हालसम्मकोखर्च अवस्था न्यून रहेको सांसदहरूले बताएका छन् ।

प्रदेश सरकारले पार्टीको घोषणापत्रलाई पूर्णरूपमा बेवास्ता गर्दै बजेट विनियोजन गरिरहेकामा पनि सांसदहरूले असन्तुष्टि जनाएका थिए । ‘भन्ने एक गर्ने अर्कै ? गलत अभ्यास स्थापित हुन दिनुहुन्न’ उनले भने । सांसदहरूको आलोचनापछि पूरै मन्त्रिपरिषद्का सदस्यहरू उपस्थित रहेको बैठकमा मन्त्रीहरू रक्षात्मक अवस्थामा देखिएका एक सांसदले बताए । ‘बैठकमा उठेका कुनै पनि सवालको कुनै पनि मन्त्रीहरूले प्रतिवाद गरेनन्,’ सांसद मीना साउदले भनिन्, ‘मन्त्रीहरूले आफूहरूका कठिनाइ सुनाउनुभयो ।’

मन्त्रीहरूले कर्मचारीको अभावका कारण सोचेजस्तो काम गर्न नसकिएको भन्दै सरकारको बचाउ गरेका थिए । ‘कर्मचारी र कार्यान्वय संरचनाको अभावले जनअपेक्षाअनुरुप काम अघि बढाउन नसकिएकै हो’ सरकारका प्रवक्ता प्रकाशबहादुर शाहले भने, ‘अबको २ महिना विनियोजित बजेटको कार्यान्वयनमा सरकारले सम्पूर्ण ध्यान दिनेछ ।’ मुख्यमन्त्री त्रिलोचन भट्टले बैठकको सांसदहरूका जिज्ञासाको अन्त्यमा जवाफ दिएका थिए । उनको सम्बोधनपछि सुरुमा सांसदहरू मत्थर भएको सांसद मीना साउदले बताइन् ।

संसदीय दलका नेतासमेत रहेका मुख्यमन्त्री त्रिलोचन भट्टको अध्यक्षतामा बसेको बैठकमा कुनै लिखित निर्णय भने नभएको एक सांसदले बताए । मुख्यमन्त्रीले अबको २ महिना कुनै पनि मन्त्रीहरूलाई मन्त्रालय नछाड्ननिर्देशन दिएको बैठकमा सहभागी सांसदले बताए ।

प्रकाशित : वैशाख ७, २०७६ १०:०५
प्रतिक्रिया
पठाउनुहोस्

डुंगा विस्थापित गर्न झोलुंगे पुल

गणेश चौधरी

टीकापुर — कैलालीको भजनी नगरपालिकाले डुंगा विस्थापित गर्न झोलुंगे पुल बनाउन थालेको छ । कान्द्रा र काढा नदीमा पुल नहुँदा नगरपालिकाभित्रै डुंगाका भरमा ओहोरदोहोर गर्नुपर्ने बाध्यता छ ।

तत्काल ठूला सवारीसाधन ओहोरदोहोरका लागि पक्की पुल बनाउन बजेट अभावका कारण झोलुंगे पुल बनाएर डुंगा विस्थापित गर्न लागिएको भजनी नगरपालिकाका प्रमुख शेरबहादुर चौधरीले बताए । उनले भने, ‘नगरपालिकामा ओहोरदोहोरका लागि विभिन्न नदीमा ५ वटा झोलुंगे पुल बनाउँदैछौं ।’

२ वटा पुल यो वर्ष सम्पन्न गर्ने र ३ पुल अर्को वर्ष बनाउने लक्ष्य रहेको नगर प्रमुख चौधरीले बताए । उनले भने, ‘३ वटा नगरपालिकाको आफ्नै बजेटमा र एउटा प्रदेश र एउटा संघको बजेटमा निर्माण हुन्छ ।’ झोलुंगे पुल बनेपछि नगरवासीको डुंगाको असुरक्षित यात्रा टुंगिने चौधरीले बताए । उनकाअनुसार भजनी नगरपालिकाका वडा नम्बर ५, ७ र ९
का बासिन्दा वर्षामा डुंगाकै भरमा ओहोरदोहोर गर्छन् ।

कान्द्रा नदीले यी ३ वडालाई छुट्याएको छ टापुका रूपमा । यहाँका बासिन्दा शिक्षा स्वास्थसहित नगरपालिकाको सेवा लिन पनि डुगाबाट नदी तरेर आउनुपर्ने बाध्यता छ । यो नदीमा ९ ठाउँमा डुंगा सञ्चालन हुने गरेको छ । अहिले हिउँदमा भने नदीमा पनी कम भएपछि साँघुरा काठका पुल बनाइएका छन् । त्यही पुलबाट वारपार गर्दा पैसा तिर्नुपर्ने बाध्यता छ । पुलमा ओहोरदोहोर गरेबापत मोटरसाइकलको २० रुपैयाँ र साइकलको १० रुपैयाँ तोकिएको छ । कान्द्रा नदीको भजनी–कर्मदेव घाटको ठेक्का लिएका भीम विकले हिउँदमा नदीमा पानी कम भएपछि पुल बनाएर सेवा दिइरहेको बताए ।

नगरपालिकाको कार्यालय नदीपारि भएकोले सेवाग्राहीले डुंगाबाट नदी तरेर सेवा लिन जानुपर्ने बाध्यता रहेको स्थानीय भीम राजीले बताए । उनले भने, ‘वर्षामा निकै जोखिम छ । अस्पताल पनि भजनी बजारमा छ । स्कुल पनि उतै छ । डुंगा तरेर जान्छौं ।’ राती कोही दुखी बिरामी हुँदा निकै अप्ठ्यारो हुने गरेको स्थानीय जय बुढाले बताए । ‘अरू ठाउँका मान्छे बिरामी हुँदा चाँडो अस्पताल पुर्‍याउन एम्बुलेन्स खोज्छन् । यहाँ नदी तार्न डुंगा चलाउने मान्छे घरमा गएर ल्याउनुपर्छ,’ उनले भने ।

भजनी नगरपालिकाको भजनी बजारमा अस्पताल, सामान किनबेचका लागि बजार, विद्यालय, क्याम्पस लगायतका सबै सेवा सुविधा छ । ३ वडाका बासिन्दा आफूलाई नगरवासी हुनमा गर्व गर्दैनन् । स्थानीय लोकबहादुर साउदले भने, ‘नगरपालिकाको न्यूनतम मापदण्ड पनि छैन ।’ कान्द्रा नदीको ठेकीमा हुलाक सडक अन्तर्गत पुल निर्माणको योजना भए पनि ५ वर्ष बित्दा पनि निर्माण सम्पन्न गरिएको छैन । गत असार मसान्तमा पुल निर्माणको म्याद सकिएको छ । ०६८ मा लामा शेर्पा जेभी प्रालिले पुलको ठेक्का २ वर्षमा पूरा गर्ने गरी लिएको हो ।

प्रकाशित : वैशाख ७, २०७६ १०:०४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्