कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पर्यटन विकासमा छैन योजना

डोटी — पर्यटन विकास जिल्लाको मुख्य आयस्रोत हुन सक्ने भए पनि स्थानीय तहबीच एकीकृत योजना अभाव देखिएको छ जसकारण समयमै बनिसक्नुपर्ने पर्यटन क्षेत्रका सम्भावना प्रवर्द्धन गर्ने कार्यले गति लिन सकेको छैन ।

९ स्थानीय तह रहेको जिल्लामा एउटै क्षेत्रविशेषमा मात्रै पर्यटनका सम्भावनाहरू छैनन् । ९ वटै स्थानीय तह आआफ्नो क्षेत्रभित्र रहेका पर्यटकीय सम्भावनाको प्रवर्द्धनका लागि पहिलो गाउँसभाबाटै बजेट विनियोजन गरी लगानी गर्दै आएका छन् । तर, पनि समग्र जिल्लाको एकीकृत योजना बनाउन स्थानीय तहहरूले आपसमा छलफल गरि साझा एजेन्डा बनाएर हिड्न सकेका छैनन् । स्थानीय तहका प्रमुखहरूले साझा एजेन्डा तथा एकीकृत योजना बनाएर जाने विषयमा छलफलको अभाव खडकिए पनि अहिलेसम्मसंँगै बसेर गृहकार्य गर्न नसकेको स्विकारे ।


‘आ–आफ्नो खुसीले साना योजनामा मात्र ब्यस्त हुँदा उहाँहरू बिचको प्रतिस्पर्धा मात्र झल्किन्छ,’ जिल्ल्ला समन्वय समिति संयोजक रामबहादुर ऐरले भने, ‘जिल्लाका सबै क्षेत्रको पर्यटन प्रवर्द्धनका लागि एकीकृत योजना बनाएर आ(आफ्नो क्षेत्रमा काम गर्दा ठुलो उपलब्धि मिल्छ, दुर्भाग्य त्यसो हुन सकेको छैन ।’ उनले जिल्ला समन्वय समितिसंँग खासै त्यसबारे बजेट नभएकाले स्थानीय तहहरूबिच छलफल गराउन नसकेको बताए ।


सबै स्थानीय तहहरूमा कुनै न कुनै सम्भावना छन् । दिपायल सिलगढी नगरपालिकाले सेती नदी, डोटेली राजाको दरबार, दुधेश्वर, बासुधारा र शैलेश्वरीलाई लक्षित गरी विभिन्न लोकप्रिय योजना ल्याइरहेको छ । शिखर नगरपालिकाले नगरको सिरानीमा वर्षौंदेखि ओझेलमा रहेको तेले लेकलाई पर्यटनको नयाँ गन्तव्य बनाउन लगानी गरिरहेको छ ।


त्यस्तै बडीकेदार गाउँपालिकाले बडीकेदार मन्दिरलाई धार्मिक पर्यटन क्षेत्रका रुपमा अघि बढाइरहेका बेला बोगटान गाउँपालिकाले उज्यालो गाउँपालिकाको अभियानमार्फत पर्यटन प्रवर्द्धन गर्न थालेको छ । पूर्वीचौकी, आदर्श र सायल गाउँपालिका भने खप्तडको मध्यवर्ती क्षेत्रमा पर्ने भएकाले खप्तडको विकाससंँगै मध्यावर्ती क्षेत्रको जनजीवन र सांस्कृतिक विरासतलाई प्रवर्द्धन गरिरहेका छन् ।


‘जिल्लाका विभिन्न ठाउँमा पर्यटनका लागि रमणीय गन्तव्य छन्,’ शिखर नगरपालिका प्रमुख सीताराम जोशीले भने, ‘ती सबैको एकीकृत योजना बनाएर अगाडि बढ्न सक्यौं भने मात्र आन्तरिक पर्यटक भित्र्याउन सकिन्छ ।’ जिल्लामा पर्यटकका लागि मुख्य आकर्षक मानिएको क्षेत्र खप्तड सायल र पूर्वीचौकी गाउँपालिकाको सिमानामा पर्छ । यी २ गाउँपालिकाको सीमामा परे पनि पर्यटकले पाइला टेक्ने मुख्य ठाउँ हो दिपायलको सिलगढी नगरपालिका ।


पर्यटकहरूका लागि उचित आवास, सूचना केन्द्र र दिपायल सिलगढीमा मन बुझाउने पर्यटनका अन्य सहायक गन्तव्यहरू तयार गर्न दिपायल सिलगढी नगरपालिकै मुख्य भूमिका खेल्नुपर्ने नगर प्रमुख मञ्जु मलासी बताउँछिन् । जिल्लामा सबैभन्दा ठूलो आयस्रोतका रूपमा पहिचान भइसके पनि पर्यटन क्षेत्रलाई सरकारी पक्षबाट पर्यटकीय सम्भावना भएका सम्पदाहरूको एकीकृत प्रचारप्रसार र पूर्वाधार तयार गर्न नसक्दा यहाँको पर्यटन क्षेत्र ओझेलमा पर्दै आएको छ ।


डोटीको सबैभन्दा बढी पर्यटकीय सम्भावना बोकेको खप्तड र तेलेलेक वरपर रहेका प्राकृतिक, धार्मिक तथा सांस्कृतिक सम्भावनाबारे अहिलेसम्म सरकारीपक्षबाट अध्ययन भएको छैन ।


‘डोटीका लागि पर्यटन सबैभन्दा बढी आयस्रोत बन्न सक्छ,’ उद्योग वाणिज्य संघका महासचिव दीपक खडकाले भने, ‘तर हामीकहाँ गफ बढी काम कम गर्ने प्रवृत्तिले समस्या पारेको छ ।’ जिल्लामा पछिल्लो समय आन्तरिक र बाह्य पर्यटक भिक्रिने त्रम बढ्दै गएको छ ।

प्रकाशित : चैत्र २९, २०७५ १०:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?