अवैध संरचनामा लाग्यो डोजर- सुदूरपश्चिम - कान्तिपुर समाचार

अवैध संरचनामा लाग्यो डोजर

भवानी भट्ट

कञ्चनपुर — महेन्द्रनगर नगर विकास समितिको जमिनमा अवैध रूपमा निर्माण गरिएका भौतिक संरचना भत्काउन थालिएको छ । सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय धनगढीले मंगलबार साँझदेखि डोजर लगाएर अवैध संरचना भत्काउन सुरु गरेको हो ।

डिभिजन कार्यालयले स्थानीय प्रशासन र जनप्रतिनिधिसँग छलफल गरेर संरचना भत्काउन सुरु गरेको जनाएको छ । सोमबार भएको छलफलमा सब्जीमण्डी क्षेत्रमा निर्माणाधीन संरचना भत्काउने मोटामोटी सहमति भएको छलफलमा सहभागी वडा ४ का अध्यक्ष लक्ष्मीदत्त बोहराले बताए ।


डिभिजन कार्यालयले आन्दोलनरत पक्षसँग कुनै छलफल नगरे पनि अवैध संरचना भत्काउने कामलाई सकारात्मक रूपमा लिएको अनेरास्ववियु क्रान्तिकारीका जिल्ला अध्यक्ष वीरेन्द्रराज विष्टले बताए । ‘हाम्रो आन्दोलन रोकिएको छैन, डिभिजन कार्यालयको सुरुवातलाई सकारात्मक रूपमा लिएका छौं,’ उनले भने ।


अवैध संरचना भत्काउन भीमदत्त नगरपालिका–४ को सब्जीमण्डी क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो । उक्त क्षेत्रमा संरचना निर्माण गर्नेहरू विरोधमा उत्रेका थिए । आन्दोलनरत पक्षले भत्काउन सुरु गरे पनि अहिले नै आन्दोलन नरोकिने जनाएको छ ।


कञ्चनपुर बन्द

बजार क्षेत्रको जमिनमा अवैध निर्माण भएका भौतिक संरचना भत्काउनुपर्ने माग गर्दै मंगलबार नै युवा–विद्यार्थी संगठनले अनिश्चितकालीन बन्द घोषणा गरेका थिए । मंगलबार बन्दका कारण यहाँको यातायात सेवा पूर्ण रूपमा ठप्प भयो । बिहानैदेखि विद्यार्थी सडकमा आएर यातायात र बजार बन्द गराउँदै हिंडेका थिए ।


महेन्द्रनगर तथा आसपासका बजार सँगै जिल्लाका शैक्षिक संस्थाहरू पनि ठप्प भए । विभिन्न राजनीतिक दलका युवा र विद्यार्थी संघ संगठनले संयुक्त रूपमा अवैध संरचना भत्काउन माग गर्दै एक महिनादेखि चरणबद्ध रूपमा आन्दोलन गर्दै आएका छन् । एक महिनासम्म पनि अवैध संरचना भत्काउन आलटाल भइरहेकाले कञ्चनपुर बन्द गर्नुपरेको युवा संघ कञ्चनपुरका अध्यक्ष रामचन्द्र रेग्मीले बताए । आन्दोलनरत युवा विद्यार्थी संगठनले अवैध रूपमा निर्माण गरिएका संरचना भत्काउनुका साथै, अवैध लिज खारेज र प्रक्रिया बिना नै लिजमा जमिन वितरण गर्नेलाई कारबाही हुनुपर्ने माग गरेका छन् । ‘नगरको स्वरूप नै बिग्रिने गरेर सरकारी जमिनमा धमाधम भौतिक संरचना निर्माण भइरहेका छन्,’ रेग्मीले भने, ‘तत्काल अवैध संरचना भत्काउनुपर्ने हाम्रो माग हो ।’


अवैध संरचना हटाउन जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले एक महिनाअघि सूचना जारी गरेको थियो । गत साता मात्रै सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय धनगढीले पनि अवैध संरचना र निर्माण सामग्री हटाउन सूचना जारी गरेको छ । जिल्ला प्रशासन कार्यालयले एक महिने अल्टिमेटम दिंदा पनि अवैध संरचना नभत्काइएको भन्दै विद्यार्थीहरू आन्दोलनमा उत्रेका हुन् । उनीहरूले भौतिक संरचना भत्काउन सुरु नगरेसम्म आन्दोलन जारी रहने जनाएका छन् । युवा–विद्यार्थीको आन्दोलनले दिनभर कञ्चनपुर बन्द भएपछि सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय धनगढीले मंगलबार साँझदेखि डोजर

लगाएर अवैध संरचना भत्काउन सुरु गरेको छ ।


प्रकाशित : माघ १६, २०७५ ११:२२
प्रतिक्रिया
पठाउनुहोस्

छोटी भन्सारलाई पूर्वाधार अभाव

भरत जर्घामगर

सिरहा — प्रमुख व्यापारिक केन्द्र लहानसँग जोडिएको पूर्वी सिरहाको ठाडीस्थित छोटी भन्सारलाई मूल भन्सार कार्यालयमा रूपान्तरण गरिए पनि पूर्वाधार अभावमा कामकाजमा समस्या भएको छ ।

ठाडी भन्सार भवन । व्यवस्थित भौतिक संरचना नहुँदा ठाडी भन्सारका दरबन्दीका कर्मचारीले कार्यकक्ष समेत पाएका छैनन् । तस्बिर : भरत/कान्तिपुर

कात्तिक ७ गतेदेखि सञ्चालनमा आएको ठाडी भन्सार कार्यालय सगरमाथा अञ्चलकै प्रमुख व्यापारिक केन्द्र लहानदेखि १८ किलोमिटर दक्षिणमा पर्छ । प्रमुख व्यापारिक केन्द्र लहानसँग जोडिएकाले आव २०७५/७६ को बजेट वक्तव्यमै यसलाई महत्वाकांक्षी भन्सार नाकाको रूपमा उल्लेख गरिएको छ । मूल भन्सारमा परिणत भएसँगै शाखा अधिकृतको नेतृत्वमा नासुसहित १७ दरबन्दी छ । मूल भन्सार भए पनि ठाडी भन्सारको दैनिक कार्य अहिले पनि २०२३ सालमा निर्मित पहिलाको छोटी भन्सार रहेको कार्यालय भवनबाटै सञ्चालन भइरहेको छ । भन्सार प्रमुख उमेश भट्टराईले कार्यालय भवन बन्न नसक्दा कर्मचारीले कार्यकक्ष पनि पाउन नसकेको बताए ।

महत्त्वाकांक्षी नाकाका रूपमा लिइएकाले सञ्चालनको पहिलो वर्षमै मासिक एक करोड रुपैयाँ राजस्व असुलीको लक्ष्य ठाडी भन्सारलाई निर्धारण गरिएको छ । तर अहिले ३८ लाख रुपैयाँभन्दा बढी राजस्व भन्सारले असुली गर्न सकेको छैन । सडक र भौतिक संरचना निर्माण हुन सके निर्धारित लक्ष्य प्राप्त गर्न गार्‍हो नभएको भन्सार प्रमुख भट्टराईले बताए ।

भन्सार कार्यालयलाई बिस्तार गर्न तीन वर्षअघि ठाडीको दशगजा छेउमै २२ कठा १० धुर जग्गा खरिद गरिसकेको छ । अझ यसको बिस्तारका लागि थप ४५ कठा जग्गा खरिद गर्न आवश्यक तयारी भइरहेको उनले जानकारी दिए । ‘जग्गा खरिद गर्ने र कार्यालय भवन बनाउने काम एकै साथ हुन सके यहाँको कारोबारमा पनि गतिशीलता आउन सक्थ्यो,’ उनले भने, ‘जुन गतिमा बजेट विनियोजन र भौतिक संरचना निर्माणमा सुस्तता देखिएको छ त्यो गतिमा भन्सारको विकास हुन निकै गार्‍हो पर्छ ।’

माथिल्लो र तल्लो सगरमाथाका ६ वटै जिल्लामा दैनिक उपभोग्य सामग्रीको आपूर्ति गर्ने व्यापारिक बजारका रूपमा रहेको लहानसँग प्रत्यक्ष व्यापारिक सम्बन्ध स्थापित गर्न भारत सरकारले ठाडी नजिकको भारतीय बजार लौकहामा स्थल सीमा शुल्क कार्यालयका लागि अढाई एकड जग्गा खरिद गरिसकेको छ । त्यसलगत्तै नेपाल पक्षले तीन वर्ष अगाडि ठाडीको दशगजा छेउमै २२ कठा १० धुर जग्गा खरिद गरेको थियो ।

सडक सुविधा र छोटो दूरीका कारण भारतको मुजफरपुर र मोतिहारीबाट लहानसम्म मालसमान ढुवानी गर्दा सहज र सरल हुने भएकाले लौकहामा जोगवनी र रक्सौल सरहकै स्थल सीमा शुल्क कार्यालयको स्थापना गरिएको हो । कार्यालय भवनको भौतिक संरचना र लहान–ठाडी सडक खण्डको निर्माण हुन बाँकी ११ किलोमिटरको कालोपत्रे सडक निर्माण भइदिए यो नाकाबाट लहानसम्म मालसमान ढुवानी गर्दा नेपाली उपभोक्ताहरूले ढुवानीवापत लाग्ने चर्को महँगीको सामना गर्नुपर्ने छैन । भन्सार कार्यालयको पूर्वाधार निर्माण भएपछि ठाडी–लौकहा नाकाको भूमिका पूर्वको विराटनगर–जोगवनी र मध्य तराईको विरगञ्ज–रक्सौलभन्दा कम नहुने व्यापारीहरूको ठम्याइ छ ।

लहानका थोक व्यापारीहरूले सगरमाथ क्षेत्रका सबै जिल्लाहरूमा विभिन्न सामग्री आपूर्ति गर्न अहिले जोगवनी र रक्सौलको नाका प्रयोग गरिरहेका छन् । व्यापारीका अनुसार जोगवनीबाट नेपालका लागि आयात हुने उपभोग्य सामग्रीको मुख्य बजार भारतको मुजफरपुर हो । अहिले मुजफरपुरबाट लहानसम्म मालसमान आइपुग्न ३७६ किलोमिटरको दूरी पार गर्नुपर्ने हुन्छ । मुजफरपुरदेखि भारतको उत्तरी राजमार्गको फुलप्रास खण्ड १३० किलोमिटर, फुलप्रासदेखि जोगवनी १२० किमि र जोगवनीदेखि लहान १२६ किलोमिटर दूरी पर्छ । ठाडी भन्सार नाका व्यवस्थित हुन सके मुजफरपुरबाट फुलप्रास हुँदै लौकहादेखि लहानसम्म मालसमान ल्याइपुर्‍याउन भने १८० किलोमिटरको दूरी मात्रै पार गर्नुपर्ने हुन्छ ।

यसैगरी, नेपालतर्फ मालसमान निर्यात गर्ने भारतको अर्को उत्तरी बजार पिपरा कोठी, मोतिहारीदेखि रक्सौल हुँदै लहानसम्म मालसामान ल्याउँदा २९४ किमिको दूरी पार गर्नुपर्छ । मोतिहारीदेखि रक्सौल ७० किमि र रक्सौलदेखि लहान २२४ किमी दूरी पर्छ । मोतिहारीदेखि लहानसम्म मालसमान ल्याउन फुलप्रासको दुई सय किमि, फुलप्रासदेखि लोकहा ३० किमि र लोकहादेखि लहान १८ किमि गरी २४८ किमी दूरी मात्र पार गर्नुपर्छ ।

प्रकाशित : माघ १६, २०७५ ११:१६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×