कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५४

यार्सा टिप्न पाटन उक्लिए विद्यार्थी, सुनसान विद्यालय

डीबी बुढा

जुम्ला — यार्सागुम्बा टिप्न विद्यार्थीहरु पाटन उक्लिएपछि पातारासी गाउँपालिकाका विद्यालय सुनसान बनेका छन् । कक्षा-६ देखि माथिका सबैजसो विद्यार्थी यार्सा खोज्न पाटन हिँडेका हुन् । पढाइ र घरखर्च चलाउने रकमको जोहो गर्न पनि विद्यार्थीहरु हरेक वर्ष पाटनतिर उक्लिने गरेका छन् ।

यार्सा टिप्न पाटन उक्लिए विद्यार्थी, सुनसान विद्यालय

कर्णालीको डोल्पा, जुम्ला, कालीकोट, जाजरकोट, सल्यान, रुकुम, हुम्ला र मुगुलगायतका विद्यार्थी यार्सागुम्बा संकलनका लागि पाटनतिर जाँदा पठनपाठन प्रभावित हुने गरेको विद्यालयहरुले बताएका छन् । उनीहरू अभिभावकसँगै पाटन गएपछि अधिकांश विद्यालयको नियमित पढाइ प्रभावित भएको पातारासी–२ की रिमा बुढाले बताइन् ।

उनका अनुसार गाउँमा साना बालबालिका, बुढाबुढी र महिलाहरु मात्र छन् । गाउँपालिकाका अनुसार पातारासीका ५ सय ८२ विद्यार्थी यार्सा टिप्नका लागि पाटनतिर हिँडेका छन् ।

ऋणमोक्ष माध्यमिक विद्यालय डिल्लीचौरका १ सय २१, गंगा मावि पेरेका २ सय ६०, गंगादेवी आधारभूत विद्यालय स्यालागडीका १५, आधारभूत विद्यालय हुरीमहरीका ६, आधारभूत विद्यालय लुमका ३०, मालिका मावि लोठचौरका ७० र सरस्वती मावि तल्फिका ८० जना गरी ५ सय ८२ जना छात्राछात्र पढ्ने जोहो गर्न पाटन पुगेका छन् ।

गंगा मावि पेरेका प्रधानाध्यापक गोर्खबहादुर बुढाले पाटन जानु विद्यार्थीको बाध्यता भएको बताए । ‘गरीबिका कारण बालबालिका अभिभावकसँगै यार्सा खोज्न पाटन जाने गरेका छन्,’ उनले भने,‘ यो सिजनमा उनीहरूको वर्षेनि पठनपाठन प्रभावित हुने गरेको छ ।’

उनका अनुसार बालबालिकाको आँखा तिक्ष्ण हुने भन्दै बढी यार्सा टिप्ने लोभले पनि अभिभावकले पठनपाठन रोकाएर पाटनतिर लैजाने गरेका हुन् । उनीहरु घटीमा डेढ महिना पाटन क्षेत्रमै बस्छन् । जुम्लाका पाटनमा यार्सा धेरै नपाइने भएकोले उनीहरु डोल्पा र मुगुका पाटनमा संकलन गर्न जाने गर्छन् ।

क्रृणमोक्ष माविका प्रधानाध्यापक हरिबहादुर बुढा आधारभूत तहका विद्यार्थीलाई मात्रै पढाउने काम भइरहेको बताए । ‘माथिल्लो कक्षका सबै विद्यार्थी पाटनतिर गइसकेका छन्,’ प्रधानाध्यापक बुढाले भने,‘उनीहरु अब दुई महिनापछि घर फर्किन्छन् । एक विद्यार्थीले न्यूनतम एक लाखदेखि २ लाख रुपैयाँसम्मको यार्सा टिप्ने गरेका छन् ।’

यार्सा टिपेर कमाएको रकमले घर खर्च चलाउन सहज हुने गरेको छ । ‘छोराछोरीलाई पढाउने, लुगाफाटो फेर्ने र कापीकलम किनेर नियतिम स्कुल पठाउनको लागि भए पनि पाटन जानुको विकल्प हुँदैन्,’ स्थानीय रिमा बुढाले भनिन्,‘अधिकांश घरमा त ताला लगाएर सबै परिवार पाटनमै जाने गरेका छन् । यार्सा संकलन गर्न नपठाउँदा चरम खाद्य संकट व्यहोर्नु परिरहेको हुन्छ ।’

कतिपय विद्यालयमा शिक्षकहरु हाजिर गरेर फर्किने गरेका छन् । यार्साको सिजनमा बर्षेनी डेढ महिना पढाइ प्रभावित हुने गरेकोले पाठ्यक्रम नसकिदै विद्यार्थी परीक्षामा सामेल हुनु परेको दुःख शिक्षकहरुले सुनाउने गरेका छन् ।

‘पढाइ अघि बढाउने हो भने अधिकांश विद्यार्थीको छुट्ने सम्भावना हुन्छ । नपढाउने हो भने पाठ्यक्रम पूरा गर्न सकिदैन्,’ प्रधानाध्यापक बुढाले भने, ‘यार्सा पाइने मौसममा विद्यार्थीको पढाइ प्रभावित हुन नदिन नयाँ विकल्प खोजी गर्नुपर्ने हुन्छ ।’ गाउँलेहरू यार्सा टिप्न डोल्पाका पाटनतिर गएपछि गाउॅहरू सुनसान छन् ।

गाउँमा दुःख पर्दा साथ दिने मान्छेहरु भेटाउन मुस्किल छ । पातारासी गाउँपालिका शिक्षा शाखा प्रमुख अभिराज उपाध्याय विद्यार्थीहरु पाटनतिर गएकाले पढाइ प्रभावित भइरहेको बताए । कक्षा छाडेर विद्यार्थीलाई पाटन जानबाट रोक्न गाउँपालिकाले प्रधानाध्यापकहरुको भेलाबाट निर्णय गरेर विद्यालय संचालन भएको दिनको ७५ प्रतिशत हाजिर नभए माथिल्लो कक्षामा जानका लागि योग्य नहुने निर्णय गरेको छ ।

हरेक विद्यालयमा सूचना पठाएर विद्यार्थी, अभिभावक र शिक्षकलाई सचेत समेत गरिएको थियो । पातारासीमा १६ वटा सामुदायिक विद्यालय छन् । जसमा माध्यमिक ६ र आधारभूत १० वटा छन् । यतिबेला कम्तीमा ६० प्रतिशत विद्यार्थी पाटन गरेको तथ्यांक पातारासी गाउँपालिकाको भनाइ छ । यार्सा संकलकहरुले वैशाखदेखि साउनसम्म सबै युवा, विद्यार्थी पाटनतिर जाने भएकोले दुर्घटना विमाको व्यवस्था गर्न स्थानीय सरकारसँग माग गरेका छन् ।

प्रकाशित : जेष्ठ ९, २०८१ १९:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

१० प्रतिशत अग्रिम आयकरको व्यवस्थाले खाद्यान्न आयात बन्द भइ कालोबजारी सुरु भएकोमा के भन्नुहुन्छ ?