कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८७

कर्मचारीको कुटपिटबाट विद्यार्थी नेता घाइते

कालिकोट — शुभकालिका गाउँपालिकाका दुई कर्मचारीको कुटपिटबाट अखिल (क्रान्तिकारी)का केन्द्रीय सचिव भीमप्रसाद आचार्य सक्त घाइते भएका छन् । आपसी विवादका कारण बिहीबार राति गाउँपालिकाका लेखा प्रमुख कृष्ण रोकाया र पशु सेवा शाखाका कर्मचारी नवीन शाहीले कुटपिट गरी घाइते बनाएको आरोप लागेको छ ।

घाइतेको आँखाको डिलमा गहिरो चोट छ । उनलाई शुक्रबार बिहान कर्णाली प्रदेश अस्पताल सुर्खेत लगिएको छ ।

बिहीबार राति १० बजे शुभकालिका ५ सुकाटियास्थित दीर्घ शाहीको होटलमा खाना खाइरहेको अवस्थामा फेसबुकमा जथाभावी लेखेको आरोप लगाउँदै रोकाया र शाहीले आचार्यलाई सिसाको गिलासले प्रहार गरेर घाइते बनाएको कालीकोटका प्रहरी प्रमुख अर्जुन केसीले बताए । दुई पक्षको बीचमा पहिलेदेखि नै फेसबुकमा स्टाटस लेखेको विषयमा रिसईबी रहेछ । उनले भने, 'निहुँ खोजेर भनाभनपछि सिसाको गिलासले हानेर घाइते बनाएको देखियो ।' उनले झगडाको थप कारणबारे अनुसन्धान भइरहेको बताए । कुटपिट गर्नेविरुद्ध आचार्यका भतिजा जगतप्रसाद चौलागाईंको जाहेरीअनुसार मुद्दा दर्ता भएर आरोपितलाई पक्राउ गरिएको डीएसपी केसीले बताए ।

घाइते आचार्य कालीकोटको तिला कर्णाली बहुमुखी क्याम्पस ताडीका पूर्वस्ववियू सभापति र गाउँपालिका अध्यक्ष गोविन्दप्रसाद आचार्यका भाइ हुन् । भिमले शुभकालिकाको होटलमा खाना खाइरहेको बेला एक्कासी दुई जना आएर हानेको पालिका अध्यक्ष आचार्यले बताए । अवस्था गम्भीर छ । उनले भने, 'आँखा सुनिएको छ, टाउकोमा पनि चोट छ ।' रोकाया र शाही कांग्रेस समर्थक हुन् भने आचार्य माओवादी नेता हुन् ।

पालिका उपाध्यक्ष धर्मकला शाहीले भिमले लेखापाल र नवीनका विरुद्ध फेसबुकमा जथाभावी लेखेको विषयमा विवाद हुँदा कुटाकुट भएको बताइन् । गल्ती कसको हो भन्ने त प्रहरीले पत्ता लगाउला । उनले भनिन्, 'विवाद दुवै पक्षको बीचमा भएको हो, लेखापालले हानेको होइन ।'

यसैबीच, शुभकालिकाका कर्मचारीले ज्यान मार्ने नियतले कुटपिट गरेर युवा नेता घाइते बनाएको भन्दै माओवादी केन्द्र शुभकालिका, अखिल क्रान्तिकारी जिल्ला समितिलगायतले विज्ञप्तिमार्फत दोषीलाई कारबाहीको माग गरेको छ ।

प्रकाशित : असार ७, २०८१ २१:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

नवगठित केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्ममा चयन भएका मन्त्रीहरु कस्तो लाग्यो ?

×