कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पीसीआर ल्याबमा परीक्षण ठप्प

हरि गौतम

रुकुम पश्चिम — बजेट अभावका कारण चौरजहारी नगरपालिका–२ स्थित जिल्ला आयुर्वेद अस्पतालमा स्थापना गरिएको पीसीआर ल्याबमा लामो समयदेखि पीसीआर परीक्षणको काम रोकिएको छ । चौरजहारी नगरपालिकाले १ करोड २३ लाख रुपैयाँमा असार दोस्रो साता ल्याब स्थापना गरेको हो । जसमा कर्णाली प्रदेश सरकारले ८६ लाख रुपैयाँ बजेट दिएको थियो । 

पीसीआर ल्याबमा परीक्षण ठप्प

पछिल्लो पटक नगरपालिकामा बजेट नहुँदा ल्याब सञ्चालनमा चुनौती थपिएको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबहादुर केसीले बताए । पछिल्लो विवरणअनुसार पीसीआर ल्याबमा कार्यरत कर्मचारीको तलब तथा खाना, बस्नबाहेक २ करोड १० लाख बढी रकम खर्च भइसकेको छ । ‘ल्याबका लागि आवश्यक किट तथा रिएजेण्ट छैनन्,’ उनले भने, ‘प्रदेश सरकारले थप नदिँदा संकट चुलिएको छ ।’ जिल्लाका अरु स्थानीय तहले पनि सहयोग नगर्दा ल्याब सञ्चालन गर्न नसक्ने निष्कर्षमा चौरजहारी नगरपालिका पुगेको छ ।

असार १९ गतेयता ल्याबमा चौरजहारी नगरपालिकासहित १४ स्थानीय तहले स्वाब परीक्षण गराएका छन् । रुकुम पश्चिमका अरु ५ स्थानीय तहसहित जाजरकोटका भेरी, नलगाड, छेडागाड, जुनिचाँदे र शिवालयका धेरै स्वाब परीक्षण भएको प्रयोगशालाले जनाएको छ । सल्यानको दार्मा, कुमाख र सिद्धकुमाख गाउँपालिकाका पनि केही स्वाब परीक्षण गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत केसीले बताए । उनका अनुसार अहिलेसम्म १० हजार ४७ जनाको स्वाब परीक्षण भएको छ । जसमध्ये २ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको उनले जानकारी दिए ।

सञ्चालनमा समस्या भएपछि स्वाब परीक्षण गरेका सबै स्थानीय तहमा परीक्षण गरे अनुसारको रकम माग गरिएको नगरपालिकाले जनाएको छ । सरकारले तोकेबमोजिम प्रतिस्वाब २ हजार रुपैयाँका दरले शूल्क माग गरिएको नगरप्रमुख विशाल शर्माले बताए । उनका अनुसार माग गरिएको रकम स्थानीय तहबाट भुक्तानी भए ल्याब सञ्चालनमा सहज हुनेछ । उनले जिल्ला विपद् व्यवस्थापन समिति बैठकबाटै निर्णय गरी ल्याब सञ्चालनमा ल्याइएको बताए । ‘समस्या परेका बेला ल्याब स्थापना भयो, समस्या सहजीकरण पनि राम्ररी भएको हो,’ उनले भने, ‘अहिले भने कतैबाट पनि सहयोग भएन ।’

प्रकाशित : मंसिर १६, २०७७ १६:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?