कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

डेढ वर्षदेखि चौरमै पढाइ

हुम्ला — भत्किएको विद्यालय भवन नबन्दा ताजाकोट गाउँपालिकास्थित धर्मोदय माध्यमिक विद्यालयका विद्यार्थी डेढ वर्षदेखि चौरमा पढ्न बाध्य छन् ।   झन्डै ५ सय विद्यार्थी खुला आकाशमुनि पढ्न बाध्य भएका हुन् । 

डेढ वर्षदेखि चौरमै पढाइ

विद्यालय भवन निर्माणका लागि कर्णाली प्रदेश र संघीय सरकारले ९० लाख रुपैयाँ पठाए पनि उक्त बजेट गाउँपालिकाको खातामा थन्किएको छ । रकम आए पनि भवन नबन्दा विद्यार्थीले सास्ती भोग्नुपरेको स्थानीय कृष्ण मल्लले बताए । २०७६ साउन ३१ गते आएको बाढीले विद्यालय भवन भत्किएको हो ।

‘भवन अभावमा खाली चौरमा ढुंगाको बेन्च बनाएर विद्यार्थीहरू पढ्न बाध्य छन्,’ उनले भने, ‘अझै कहिलेसम्म विद्यार्थीले सास्ती भोग्नुपर्ने हो ?’ बाढीले विद्यालय भवन भत्काएपछि कर्णालीका मुख्यमन्त्रीसहितको टोली राहत लिएर पुगे पनि फेरी फर्केर नआएको उनले गुनासो गरे ।

खाली चौरमा विद्यार्थी पढाउँदा बेलाबेलामा विभिन्न स्वास्थ्य समस्या देखिने गरेको प्रधानाध्यापक गंगादत्त जैसीले बताए । कक्षा ६ देखि १२ सम्म अध्यापन हुने विद्यालयमा टाढाका विद्यार्थीले समेत डेरा लिएर अध्ययन गरिरहेका छन् । ‘पानी परे विद्यालय बन्द गर्नुपर्ने बाध्यता छ,’ उनले भने, ‘कहिलेकाहीँ पालोपालो गरे विद्यार्थीलाई चौरमा पढाउने गरेका छौं ।’ उनले कक्षा ८ देखि १० सम्मका विद्यार्थीले कक्षाकोठामा बसेर अध्ययन गरे पनि ६, ७, ११ र १२ का विद्यार्थीलाई चौरमा पढाउनुपर्ने बाध्यता छ ।

भवन कहाँ बनाउने भन्ने टुंगो नहुँदा बजेट खातामा रोकिएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत लालप्रसाद ढकालले बताए । उनका अनुसार भवन निर्माणका लागि प्रदेश सरकारबाट ५० लाख र संघीय सरकारबाट ४० लाख रुपैयाँ आएको छ ।

प्रकाशित : चैत्र १५, २०७७ ०६:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?