कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५१

साहारे खानेपानी आयोजनाका २ सय मजदुरले ज्याला पाएनन्

ठेकेदार कम्पनीले मजदुर र अन्यलाई गरेर २ करोड तिर्न बाँकी
ज्योति कटुवाल

दैलेख — साहारे खानेपानी आयोजनामा काम गरेका मजदुरले ४ वर्षदेखि ज्याला पाएका छैनन् । उनीहरुले ठेकेदारविरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दिए पनि माग सुनुवाइ नभएको गुनासो गरेका छन् ।

साहारे खानेपानी आयोजनाका २ सय मजदुरले ज्याला पाएनन्

नरायण नगरपालिका–४ मा अवस्थित खानेपानी आयोजनामा करिब २ सय मजदुरले काम गरेका थिए । निर्माण कम्पनी सुमेकचन्द्र एण्ड वसन्त जेभीले मजुरको ज्यालाका साथै अन्य विभिन्न व्यक्तिलाई करिब २ करोड रुपैयाँ तिर्न बाँकी रहेको पीडितको भनाइ छ । बर्दियाबाट मजदुर ल्याएर काममा लगाएका राजधानी चौधरीले आफूले करिब २२ लाख रुपैयाँ लिन बाँकी रहेको बताए । मजदुरको ज्याला नपाउँदा चौधरी घर फर्किन सकेका छैनन् । ‘ठेकेदारले पैसा दिएको छैन, पैसा नभएपछि कसरी घर जानु ?’ उनले भने, ‘घर जाने बित्तिकै ज्यामीले घेर्छन्, त्यही भएर यतै बसेको छु ।’

आयोजनामा ७ वर्षदेखि पलम्बरको काम गरिरहेका कमल कोइरालाले ६ लाख रुपैयाँ पाएका छैनन् । उनले विभिन्न ठाउँबाट मजदुर जुटाएका थिए । ‘ठेकेदारले जति गर्दा पनि पैसा नदिएपछि प्रहरी कार्यालयमा उजुरी गरेका छौं, तैपनि ज्याला पाइएको छैन,’ उनले भने, ‘उतिबेला ठेकेदारले भनेपछि आफ्नो जिम्मामा कामदारलाई काममा लगाएँ, अहिले आएर फसाद भयो ।’ ठेकेदारले नसकेपछि आफूले विभिन्न ठाउँमा सम्पर्क गर्दै मजदुर जुटाउने काम गरेको उनले बताए ।

कोइरालाका अनुसार निर्माण कम्पनीले मजदुरलाई जनही सरदर २–३ लाखको दरले रकम दिन बाँकी रहेको छ । मजदुर र अन्य कर्मचारीको समेत गरेर करिब २ करोड रुपैयाँ तिर्न बाँकी रहेको उनले बताए । २४ करोड रुपैयाँमा २०६९ सालमा आयोजनाको सम्झौता भएको हो । आयोजनाको लागि स्थानीय उपभोक्ताले समेत प्रतिघर ५ देखि १५ हजारसम्म रकम तिरेका छन् ।

२०७५ काम सम्पन्न भए पनि धारामा पानी भने अझै आएको छैन । आयोजना सञ्चालक साहारे खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष बलाराम श्रेष्ठले आयोजनाको झण्डै आधा काम भने बाँकी रहेको बताए । ‘मजदुरले ज्याला पाएका छैनन्, उपभोक्ताले पानी पिउन पाएका छैनन्,’ उनले भने, ‘ठेकेदार भागेर गइसक्यो, काम अझै अलपत्र छ ।’

निर्माण कम्पनीका सहायक प्रवन्धक प्रविण खत्रीले खानेपानी विभागबाट भुक्तानी नहुँदा मजदुरको ज्याला र अन्य अन्य भुक्तानी गर्न बाँकी रहेको बताए । ‘हामीले जिम्मा लिएको काम सम्पन्न गरिसक्यौं, भुक्तानी भने पाएका छैनौं,’ उनले भने, ‘त्यो रकम नपाउँदा तिर्नुपर्ने रकम पनि तिर्न सकिएको छैन ।’

प्रकाशित : मंसिर १३, २०७७ १७:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?