४३ दिनपछि खुल्यो प्रतिष्ठानको ताला- कर्णाली - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

४३ दिनपछि खुल्यो प्रतिष्ठानको ताला

एलपी देवकोटा

जुम्ला — कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कर्मचारीले लगाएको ताला ४३ दिनपछि खुलेको छ । असोज २६ गते प्रतिष्ठानको सम्पर्क कार्यालय, ललितपुरबाट उपकुलपति प्रा. डा. राजेन्द्रराज वाग्लेले जनस्वास्थ्य संकायको डीनमा प्रा.डा. मुनिराज क्षेत्रीलाई नियुक्त गरेपछि कर्मचारी कल्याणकारी समाजले ताला लगाएको थियो ।

सातादेखिको वार्ता निष्कर्षमा पुगेपछि ताला खुलाउन कर्मचारी सहमत भएका हुन् । क्षेत्री प्रतिष्ठानको तेस्रो डीन हुन् ।

निर्णय सच्याउन उपकुलपतिलाई अल्टिमेटम दिए पनि नसच्याएपछि समाजले ताला लगाएको थियो । दुई डीनले भूमिका नपाइरहेको बेला प्रतिष्ठानलाई आर्थिक भार पार्न तेस्रो डीन नियुक्त गरिएको समाजले आरोप लगाएको थियो । सहमतिअनुसार नियुक्त भएका डीन र अन्य डीनहरुको सम्बन्धमा तीन सदस्य कार्यदल गठन गर्ने निर्णय भएको छ । उक्त कार्यदलले पेस गरेको प्रतिवेदन कार्यकारी परिषद्‌मा पेस गर्नेछ ।

परिषद्ले आगामी सिनेट बैठकमा निर्णय गराई १ जना डीन प्रमुख राख्ने र अन्य संकायका डीन सहायक डीन रहने व्यवस्था गर्ने सहमति पनि भएको समाजले जनाएको छ । ललितपुरको महालक्ष्मीस्थानमा रहेको प्रतिष्ठानको सम्पर्क कार्यालय यथाशीघ्र हटाउने सहमति गरिएको कर्मचारी कल्याणकारी समाजका अध्यक्ष रमाकान्त उपाध्यायले बताए । उनका अनुसार सम्पर्क कार्यालयमा कार्यरत कर्मचारीलाई एक साताभित्र प्रतिष्ठानको केन्द्रीय कार्यालय, जुम्लामा बोलाउने निर्णयसमेत गरिएको छ । ‘प्रतिष्ठानका सम्पूर्ण पदाधिकारी विशेष कामबाहेक पूरै समय प्रतिष्ठानको केन्द्रीय कार्यालयमा बस्ने सहमति गरेका छौं,’ उनले भने, ‘अन्य मागका सम्बन्धमा कार्यकारी परिषद्‌बाट हुबहु पारित गर्ने निर्णय पनि गरेका छौं ।’

ताला खुलेसँगै आगामी शैक्षिक सत्रदेखि एमबीबीएस, एमडी, एमसलगायतका कार्यक्रम सञ्चालनको तयारी तीव्र पारिएको प्रतिष्ठानका रजिष्ट्रार विश्वराज काफ्लेले बताए । उनका अनुसार तालाबन्दी भए पनि अस्पतालमा गर्नुपर्ने तयारी यसअघि पनि रोकिएका थिएनन् । ‘कोभिडका कारण अनुमति पाइसकेको एमडीजीपीलगायतको स्नातक कार्यक्रममा पनि विद्यार्थी भर्ना हुन सकेको थिएन,’ उनले भने, ‘चिकित्सा शिक्षा आयोगले सिट निर्धारण गरेअनुसार विद्यार्थी भर्नाको प्रक्रिया पनि थालेका छौं ।’

कर्णालीमा एमबीबीएसको पढाइ सञ्चालनका लागि सरकारले डा.गोविन्द केसीसँग गरेको सम्झौताअनुसार नयाँ शैक्षिक सत्र सुरु गर्ने तयारी गरिएको हो । नयाँ शैक्षिक शत्र चैत वा वैशाखदेखि सुरु गर्ने प्रतिष्ठानको तयारी छ । जसका लागि भौतिक संरचना, आधारभूत विज्ञान प्रयोगशाला, कर्मचारी भर्ना र विद्यार्थी आवासको लागि घर भाडामा लिने काम सकिएको वाग्लेले बताए । उनका अनुसार विभागीय शिक्षकसमेत व्यवस्था भइरहेको छ ।

प्रकाशित : मंसिर १०, २०७७ १८:१७
प्रतिक्रिया
पठाउनुहोस्

भीसी लिम्बु : गोर्खा सैनिकका जीवित इतिहास

विराट अनुपम

सन् १९१४ देखि १९१८ सम्म भएको पहिलो विश्वयुद्धमा नेपालका गोर्खाली सैनिकहरुले देखाएको वीरताको विश्वभर प्रसंशा भयो । तत्कालीन गोर्खा अफिसर सर राल्प टर्नरले गरेको प्रसंशा भने अहिलेसम्म चर्चित छ । उनले गोर्खाहरुको प्रसंशा गर्दै भनेका थिए, ‘वीरहरुका पनि वीर, उदारहरुका पनि उदार, तपाईंहरु भन्दा विश्वसनीय मित्रहरु भएको कुनै देश देखेको छैन ।’

टर्नरले दिएको वीरहरुका पनि वीर भन्ने प्रसंशा जोगाउन हजारौं नेपाली गोर्खाहरुले बेलायती सेना भएर आफ्नो ज्यानको आहुति दिएका छन् । सन् २०१० मा लेखिएको एक बीबीसी फिचरका अनुसार पहिलो र दोश्रो विश्वयुद्धमा २ लाखभन्दा बढी गोर्खाहरु सहभागी थिए । सहभागीमध्ये ४३ हजारले ज्यान गुमाएका थिए । गोर्खा अधिकारको क्षेत्रमा काम गर्नेहरु भने योभन्दा ठूलो संख्यामा गोर्खाहरुको विश्वयुद्धमा ज्यान गएको दावी गर्छन् । पहिलो र दोस्रो विश्वयुद्धबाहेक पनि बेलायतले लडेका हङकङ, मलेसिया, साइप्रस, बोर्नेओ, फोकल्यान्ड, कोसोबो हुँदै इराक तथा अफगानिस्तानमा समेत गोर्खाहरुले लडेका छन्, ज्यान गुमाएका छन् ।

टर्नरले भनेको ‘वीरहरुका वीर’ गोर्खाहरुका पनि वीर ‘भिक्टोरिया क्रस’ नामक पदक पाउनेलाई मानिन्छ । २ सय वर्ष बढीको गोर्खा भर्तीको इतिहासमा अहिलेसम्म १३ जना गोर्खा सैनिकहरुले यो पदक पाएका छन् । जसमध्ये एकमात्र जीवित व्यक्ति हुन्, रामबहादुर बेघा लिम्बु ।

उनै लिम्बुसँग भेट जुर्‍यो गत वर्षको एक बिहानी । असी वर्ष उमेर कटेका र कान कम सुन्ने फुर्सदिला लिम्बुको समयसीमा भने अहिले पनि सैन्य जीवन जत्तिकै कडा छ । बिहान ९ बजे झापाको दमक ६ स्थित घरमा अन्तरवार्ता दिन बोलाएका लिम्बुसँग पाँच मिनेटमात्रै ढिलो पुग्दा उनी एकदम आक्रोशित देखिए । रिसाउँदै भने, ‘अब पत्रकारलाई नै समयको महत्व छैन भने अरुलाई के हुन्छ ?’ उनी यत्तिमै रोकिएनन्, ‘पाँच मिनेट भनेको सानो ढिलाइ हो ?’

प्रधानमन्त्री केपी शर्मा ओलीको चुनाव क्षेत्रसमेत रहेको दमकमा प्रधानमन्त्रीकै कार्यक्रमको समयमा पनि उनले आक्रोश पोखे । ‘अस्ति प्रधानमन्त्री आउने भनेर भनेको समयमा म पुग्दा आयोजक पनि आएको थिएन,’ उनले भने, ‘किन ढिलो गरेको भन्दा तिम्रो पो काम छैन चाडै आयौ, हाम्रो त काम छ भने । प्रधानमन्त्री पनि कार्यक्रममा भनेको भन्दा ढिलो आयो । प्रधानमन्त्रीकै समय ठिक नभएको देश कसरी विकास हुन्छ ?’

समय बारेमा सचेत लिम्बु युद्धमा एक–एक सेकेन्डको महत्व हुने सुनाउँछन् । हाल मलेसियाका पर्ने सवारक भन्ने स्थानको जंगली क्षेत्रमा युद्ध गरेर देखाएको वीरताको कदरस्वरुप लिम्बुले भिक्टोरिया क्रस पाएका थिए । सन् १९६३ देखि ६६ सम्म भएको युद्धमा लिम्बुको घमसान भिडन्त भने सन् १९६५ को नोभेम्बर २१ मा भएको थियो । सवारक क्षेत्रमा गस्ती गर्दैगर्दा दोहोरो भिडन्त भयो । भिडन्तमा लिम्बुका दुईजना साथीलाई गोली लाग्यो । एकजनाको टाउकोमा गोली लागेको थियो भने अर्काको हातमा । आफ्नो समूहलाई आक्रामण गर्ने दुस्मनलाई लक्षित गरेर ग्रिनेड हाने लिम्बुले । उनको निशाना सही ठाँउमा लाग्यो । दुस्मनको बंकरमा मान्छे छिर्ने दुलोबाट ग्रिनेट भित्र छिरेर पड्क्यो । धेरैको ज्यान गयो ।

ती दिन सम्झिँदै लिम्बु भन्छन्, ‘मैले ग्रिनेड हानेपछि दुस्मनको गोली आउनै छाड्यो । त्यसपछि म घाइते भएको र मरेको दुवै साथीहरु बोकेर सुरक्षित स्थानमा पुगे ।’ लिम्बुलाई पछि थाहा भयो उनको ग्रिनेडले तीसजनाको ज्यान गएछ ।

साथीको मृत्यु र घाइते भएकाबेला एक्लै भिडेर दुस्मनको विशाल समूहलाई ध्वस्त पारेका लिम्बुलाई बेलायत सरकारले अन्ततः उच्च सम्मान दियो ।

उनलाई सन् १९६६ को जुलाइ २२ मा बेलायती महारानी एलिजाबेथ दित्तियाले बकिङ्घम दरबार परिसरको एक बिशिष्ट समारोहमा ‘भिक्टोरिया क्रस’ पदक प्रदान गरेकी थिइन् । सन् १९६० देखि १९८५ सम्मको आफ्नो सैन्य करियरमा मात्रै हैन बाँचुन्जेल र मरेपछि पनि लिम्बुलाई बचाँउने छ भिक्टोरिया क्रस पदकले । सबैभन्दा कम उमेर अर्थात् २६ बर्षकै उमेरमा भिक्टोरिया क्रस पाएका लिम्बुको रेकर्ड गिनिज बुक अफ वर्ल्ड रेकर्डमा समेत सुरक्षित छ ।

जब भिक्टोरिया क्रस चोरी भयो...

रोचक कुरा के रहेछ भने, उनले पाएको भिक्टोरिया क्रस पदक भारतबाट रेलमा नेपालतर्फ आउँदा चोरी भयो । पदक पाएको दोस्रो वर्ष भारतीय रेलको यात्रामा आँखा झुपुक्क हुँदा सामान चोरिएको लिम्बु बताउँछन् । पछि उनले हराएको सट्टामा अर्को पदक पाए ।

दोस्रो विश्वयुद्धपछि भिक्टोरिया क्रस पदक पाउने एक्ला नेपाली गोर्खा सैनिक पनि लिम्बु नै हुन् । टेन्थ प्रिन्सेस मेरिन फर गोर्खाज राइफल्सको सेकेन्ड बटालियनका सदस्य हुँदा उनले यो पदक पाएका थिए ।

पाँचथरको याङ्वकर गाँउपालिकाको च्याङ्थापुमा ८५ वर्षअघि जन्मिएका लिम्बु आफू समयका कारण सफल भएको ठान्छन् । भन्छन्, ‘समयमा सही काम सही तरिकाले गरेर यत्तिको भैयो ।’

सक्रिय सैन्य पेशाबाट अलग भएको साढे तीन दशक बढी भयो लिम्बुको । अहिले उनी आफ्नी दोस्री श्रीमती पुनीमाया र चार छोरासँग बस्छन् । पहिली श्रीमती टीकामायाको २०२२ सालमा अकालमै ज्यान गएको एक वर्षपछि उनले पुनीमायासँग बिहे गरे । दुई श्रीमतीतर्फका दुई/दुई छोराका धनी लिम्बु भिक्टोरिया क्रस पाउनेहरुमा मात्रै होइन आफ्ना दाजुभाइ दिदीबहिनीहरुमा पनि एक्ला जीवित हुन् । बुबा टेकवीर र आमा तुनीमाया बितेको धेरै भयो । उनले चार दाजुभाइ र दुई दिदीबहिनीसमेत गुमाएका छन् ।

आमाबाबु, पहिली श्रीमती तथा दाजुभाइ–दिदीबहिनी गुमाएका लिम्बु आफू जीवनमा पाएको चिज नै समाजको मायालाई मान्दछन् । तर, यो माया उनले भिक्टोरिया क्रसका कारणमात्रै पाएका भने होइनन् । उनले समाजलाई धेरै सहयोग गरेका छन् । उनले दमकमा २ कट्ठा बढी क्षेत्रफलमा धर्मशाला र सचिवालयसहितको ‘किराँत युमा माङ्हिम’ बनाएका छन् । २०५९ मा बनाएको यो माङ्हिम (मन्दिर) जस्तै अन्य माङ्हिमहरु बनाउन उत्तिकै सहयोग गरेका छन् । आफ्नो जन्मगाँउ पाँचथरको च्याङ्थापुमा बनाइएको सडकमा उनले धेरै अगाडि ११ लाख सहयोग गरेका थिए । अन्य बेलायती सैनिकसरहको सेवासुविधा नेपाली गोर्खाहरुले पाउनुपर्छ भन्ने आन्दोलनमा सक्रिय सहभागी भएका उनले गोर्खा सैनिक संघका विभिन्न परियोजनाहरुमा समेत सहयोग गरेका छन् । आगामि दिनमा सकेसम्म यस्तै समाजसेवाहरुमा बाचुन्जेल सक्रिय हुने इच्छा भएको उनी बताउँछन् ।

बेलाबेला बेलायतमा हुने भिक्टोरिया क्रस पाउनेहरुको सम्मानमा हुने समारोहमा पुगिरहन्छन् लिम्बु । बेलायतमा र नेपालमा के फरक छ भन्ने प्रश्न झर्नै नपाइ लिम्बुसँग रेडिमेड उत्तर छ– ‘समय फरक छ । त्यहाँ एक वर्षपछि हुने कार्यक्रमको सबै कुरा अहिले नै थाहा हुन्छ । नेपालमा आजै हुने कार्यक्रमको पनि कतिखेर हुन्छ आजै पनि थाहा हुँदैन ।’

प्रकाशित : मंसिर १०, २०७७ १८:०६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×