कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चामल कालोबजारी गर्ने व्यापारीलाई कारबाही गर्न माग

चाँदनी कठायत

वीरेन्द्रनगर — साझा पार्टीले मुगुको लागि आएको चामल भक्तपुर पठाउने व्यापारीलाई कारबाहीको माग गर्दै प्रदेश सरकारको ध्यानाकर्षण गराएको छ ।

चामल कालोबजारी गर्ने व्यापारीलाई कारबाही गर्न माग

बिहीबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अगाडि विरोध प्रदर्शन गर्दै साझा पार्टीले सरकारको ध्यानाकर्षण गराएको हो ।

पार्टीका कर्णाली प्रदेश संयोजक गेहेन्द्रप्रसाद दाहाल नेतृत्वको टोलीले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पाँच बुँदे ध्यानाकर्षण पत्र पनि बुझाएको छ । ध्यानाकर्षण पत्रमार्फत खाद्यान्नमा अनियमितता गर्नेलाई तत्काल कारवाही गर्न माग गर्दै नागरिकको खाद्य अधिकार र सुरक्षाको सुनिश्चितता गर्न प्रदेश सरकारसँग माग गरिएको छ ।

‘कर्णालीको पेटमा भोकमरीको लात, दलालको मुखमा मार्सीको भात’ भन्ने नारासहित प्रदर्शन गरिएको थियो । सार्वजनिक निकाय मौन हुँदा कर्णालीका लागि छुट्याइएको खाद्यान्न अन्तै पुगेको भन्दै संयोजक दाहालले सरकारलाई दबाब दिइएको बताए । ‘जता पैसाको बिटा छन् कर्णालीका चामल उतै जान्छन्,’ उनले भने, ‘कर्णालीका जनताको गास लुटेको सरकार टुलटुलु हेरेर बसेको भएर हामीले दबाब दिएका हौँ ।’

खाद्य व्यवस्था तथा व्यापार कम्पनीका ढुवानीकर्ता बासुदेव शर्माले कात्तिक १३ गते २ सय ५० क्विन्टल चामल भक्तपुर पठाउँदै गर्दा सुर्खेत प्रहरीले सुब्बाकुनाबाट नियन्त्रणमा लिएको थियो । उक्त चामल उनले मुगुको कालै बिक्री केन्द्रमा पठाउनको लागि असोज अन्तिम साता कम्पनीको डिपोबाट उठाएका थिए ।

प्रहरीले शर्मालाई कात्तिक १७ गते अनुसन्धानको लागि नियन्त्रणमा लिए पनि एक सातामै छोडिसकेको छ । प्रहरी–प्रशासनले दवाव र प्रभावमा परेर शर्मालाई जमानीमा छाड्नुका साथै मुद्दा फितलो बनाउने प्रयास गरिरहेको साझा पार्टीका संयोजक दाहालले बताए । ‘कर्णालीका जनताको लागि आएको चामल भक्तपुर पठाएर ठगी र कालोबजारी गर्ने व्यापारीलाई कुनै पनि बहानामा बचाउन खोजियो भने त्यसको मूल्य महँगो पर्न सक्छ,’ उनले भने, ‘घटनाको निश्पक्ष छानबिन गरियोस्, एकजना व्यापारीलाई कारबाही गरेर हजारौं जनतालाई न्याय दिइयोस् ।’

साझा पार्टीले यातायातको भाडामा मनपरि भइरहेको भन्दै सर्वसुलभ र स्तरीय यातायातको व्यवस्था गर्न पनि प्रदेश सरकारलाई दबाब दिएको छ । कर्णालीमा भइरहेका सबैखाले विकृति र विसंगति अन्त्य गर्न पनि माग गरिएको छ । उनले कोरोना महामारीको समयमा कर्णालीका जनताबाट यातायात व्यवसायीले पनि मनपरी भाडा लिएकोप्रति पनि सरकारको ध्यानाकर्षण गराएको बताए ।

प्रकाशित : मंसिर ४, २०७७ १८:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?