कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक महिनादेखि ताला

एलपी देवकोटा

जुम्ला — कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नयाँ डीन नियुक्त गरिएपछि कर्मचारी कल्याणकारी समाजले लगाएको ताला अझै खुलेको छैन ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक महिनादेखि ताला

असोज २६ गते प्रतिष्ठानको सम्पर्क कार्यालय, ललितपुरबाट उपकलुपति प्रा.डा.राजेन्द्रराज वाग्लेले जनस्वास्थ्य संकायको डीनमा प्रा.डा.मुनिराज क्षेत्रीलाई नियुक्त गरेपछि समाजले ताला लगाएको थियो ।

क्षेत्री प्रतिष्ठानको तेस्रो डीन हुन् । निर्णय सच्याउन उपकुलपतिलाई अल्टिमेटम दिए पनि नसच्याएपछि तालाबन्दी गरिएको समाजकाका अध्यक्ष रमाकान्त उपाध्यायले बताए । उनका अनुसार यसअघि नै प्रतिष्ठानमा दुई डीन छन् । ‘दुई डीनले भूमिका नपाइरहेको बेला प्रतिष्ठानलाई आर्थिक भार पार्न तेस्रो डीन नियुक्त गरियो,’ उनले भने, ‘ताला लगाएको एक महिना हुँदासमेत निर्णय सच्याउन पहल भएको छैन ।’ उनले आफूहरुको माग पूरा नभएसम्म तालाबन्दी जारी राखिने बताए ।

कर्मचारीले प्रतिष्ठानको उपकुलपति कार्यालय, शिक्षाध्यक्षको कार्यालय र रजिष्ट्रारको कार्यालयमा ताला लगाएका छन् । ताला खोल्नेको लागि दसैंअघि आन्दोलित कर्मचारी र केही पदाधिकारीबीच छलफल भए पनि वार्ता सफल भएन । उपकुलपतिसँग मात्र थप छलफल गर्ने आन्दोलित कर्मचारीको अडान छ ।

डीन नियुक्तिको विषयमा कार्यकारी परिषद्को वैठकबाट टुंगो लगाउने तयारी भइरहेको प्रतिष्ठानका रजिष्ट्रार विश्वराज काफ्लेले बताए । उनी जुम्ला पुगे पनि रजिष्ट्रार र शिक्षाध्यक्ष डा.निरेश थापालाई कोरोना संक्रमण भएपछि दुई सातादेखि आइसोलेसनमा छन् । आफ्नो पीसीआर रिपोर्ट नेगेटिभ आएपछि बैठक बोलाउने तयारी गरिएको डा. थापाले बताए । उनका अनुसार कार्यालयहरुमा ताला लगाइएपनि अस्पताल भने सञ्चालनमै छ ।

प्रकाशित : कार्तिक २४, २०७७ १६:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?